काङ्ग्रेस कता जाँदैछ—महाधिवेशन कि गुटको महासंग्राम?

राजेन्द्र बाबु रेग्मी पूर्व प्रहरी उपरीक्षक/ वर्तमान राजनैतिक विश्लेषक हुनुहुन्छ ।
बुङ्ग उडेका धुवाँका रातहरू, whisky र brandy का साथमा रमाउनेहरू र जुवातासमा लिप्त हुनेहरू नै जब नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बन्ने दौडमा देखिन थाल्छन्, तब प्रश्न उठ्छ—काङ्ग्रेस अब कता जाने हो?
यो प्रश्न कसैको व्यक्तिगत जीवनशैलीमाथिको नैतिक फैसला होइन। प्रश्न यति मात्र हो—काङ्ग्रेसको प्रतिनिधि बन्ने योग्यता आखिर के हो? पार्टीको विचार, इतिहास, लोकतान्त्रिक संस्कार र संगठनप्रतिको प्रतिबद्धता कि पैसा, पहुँच, गुट र भोजभतेर?
काङ्ग्रेसको महाधिवेशन नजिकिँदै गर्दा देशभरि यस्तै प्रश्न उठिरहेका छन्।
वडा अधिवेशनमा पहिलेजस्तो राजनीतिक रौनक छैन। कतै कार्यकर्ता खोज्नुपरेको छ, कतै सहमति गराउनुपरेको छ, कतै प्रतिनिधि मिलाउनुपरेको छ। तर सामाजिक सञ्जाल भने काङ्ग्रेसको महाधिवेशनले भन्दा गुटको महाभारतले रंगिएका छन्। फेसबुकमा काङ्ग्रेसका नेता असाध्यै सक्रिय छन्, तर गाउँको चोकमा काङ्ग्रेसको संगठन कति सक्रिय छ भन्ने प्रश्न सोध्ने हो भने उत्तर त्यति उत्साहजनक सुनिँदैन।
यही हो आजको काङ्ग्रेसको विरोधाभास।
सामाजिक सञ्जालमा काङ्ग्रेस ठूलो, संगठनमा काङ्ग्रेस सानो।
महाधिवेशनको तयारी चलिरहेको बेला काङ्ग्रेसभित्र एउटा अर्को राजनीतिक खेल पनि देखिन्छ—गगन थापाको नेतृत्वलाई चुनौती दिने शक्ति निर्माण गर्ने प्रयास। इन्द्रबहादुर बानियाँलाई त्यसका लागि अगाडि सार्ने चर्चा यही सन्दर्भमा बुझ्नुपर्छ।
तर यहाँ पनि प्रश्न व्यक्ति गगन थापा वा व्यक्ति इन्द्र बानियाँको मात्र होइन। प्रश्न हो—काङ्ग्रेसले नयाँ नेतृत्वको प्रतिस्पर्धालाई विचार र कार्यक्रमको प्रतिस्पर्धा बनाउने हो कि पुरानो गुटीय समीकरणको नयाँ संस्करण?
गगन थापा अहिले काङ्ग्रेसका सभापति हुन्। विशेष महाधिवेशनबाट उनी सभापतिमा निर्वाचित भएका हुन् र १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पनि उनी सहभागी हुँदैछन्। नयाँ व्यवस्थाअनुसार सभापतिदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षीले समेत महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुनुपर्ने अवस्था आएको छ।
अर्थात् अब केन्द्रीय कुर्सीमा बसेर मात्र राजनीति चल्ने पुरानो सुविधा घटेको छ। नेता पनि भूगोलमा जानुपर्नेछ। कार्यकर्तासँग मत माग्नुपर्नेछ। आफ्नै संगठनको ऐनामा अनुहार हेर्नुपर्नेछ।
यहीँबाट काङ्ग्रेसको वास्तविक परीक्षा सुरु हुन्छ।
इन्द्र बानियाँ : मकवानपुरको किल्ला भत्काउनेदेखि बागमतीको शक्ति केन्द्रसम्म
इन्द्रबहादुर बानियाँलाई केवल “गगनको विपक्षमा उभ्याइएको व्यक्ति” भनेर बुझ्नु उनको राजनीतिक यात्रालाई छोट्याउनु हो।
बानियाँको आफ्नै राजनीतिक इतिहास छ।
उनी २०४४ सालदेखि राजनीतिमा सक्रिय भएको विवरण सार्वजनिक स्रोतमा उल्लेख छ। नेपाल विद्यार्थी सङ्घदेखि तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै २०७३ सालमा नेपाली काङ्ग्रेस मकवानपुरको सभापति बनेका बानियाँले संगठनभित्र लामो यात्रा गरेका छन्।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचन उनको राजनीतिक जीवनको महत्वपूर्ण मोड बन्यो। लामो समयदेखि वामपन्थी प्रभावको क्षेत्र मानिएको मकवानपुरमा काङ्ग्रेसको झण्डा फहराउन उनी सफल भए। २०७४ सालमा पनि प्रदेशसभामा निर्वाचित भए। राज्यमन्त्रीको जिम्मेवारी सम्हाले। पछि बागमती प्रदेश काङ्ग्रेसको नेतृत्वमा पुगे।
त्यसैले बानियाँलाई कमजोर राजनीतिक पात्रका रूपमा चित्रण गरेर गगन थापाको विकल्प खोज्ने समीकरणको अर्थ बुझिँदैन।
तर इतिहास हुनु र भविष्यको राष्ट्रिय नेतृत्वका लागि निर्विवाद विकल्प हुनु एउटै कुरा होइन।
राजनीतिमा सबैभन्दा कठिन प्रश्न यही हो—तपाईंले हिजो के जित्नुभयो भन्दा पनि आज तपाईं कसलाई साथमा लिएर हिँड्न सक्नुहुन्छ?
बानियाँको राजनीतिक यात्रामा पनि प्रश्न उठेका छन्। उनको आलोचना गर्नेहरूले उनीमाथि लोकतान्त्रिक संस्कारका मानिस चिन्न नसकेको, राजनीतिक फाइदा–बेफाइदाको हिसाबलाई प्राथमिकता दिएको तथा पार्टीको वैचारिक चरित्रभन्दा व्यावहारिक शक्ति-समीकरणलाई बढी महत्व दिएको आरोप लगाउने गरेका छन्।
यी आरोपहरू राजनीतिक बहसका विषय हुन्, स्थापित तथ्य होइनन्। तर नेतृत्वको दौडमा लागेका व्यक्तिले यस्ता प्रश्नबाट भागेर पनि हुँदैन।
किनकि सभापति बन्ने आकांक्षा राख्नु भनेको पद माग्नु मात्र होइन, आफ्नो राजनीतिक चरित्रको सार्वजनिक परीक्षण स्वीकार गर्नु पनि हो।
गगनविरुद्ध बानियाँ—प्रतिस्पर्धा कि पुरानो गुटको पुनरागमन?
काङ्ग्रेसमा गगन थापाको उदयसँगै एउटा पुस्तान्तरणको बहस तीव्र भएको छ। तर गगनको नेतृत्वसँग असहमत हुनेहरूका लागि चुनौती के हो भने असहमतिको राजनीतिक आधार स्पष्ट बनाउनुपर्छ।
गगन ठीक छैनन् भने किन ठीक छैनन्?
उनको नीति के गलत छ?
उनको संगठनात्मक दृष्टिकोण के गलत छ?
उनको नेतृत्वमा काङ्ग्रेस कहाँ कमजोर हुन्छ?
र इन्द्र बानियाँ किन विकल्प हुन्?
यी प्रश्नको उत्तर दिनुको सट्टा केवल “गगनलाई रोक्न बानियाँ” भन्ने रणनीति बनाइयो भने त्यो नयाँ राजनीति होइन। त्यो पुरानै गुटीय गणितको नयाँ प्याकेज मात्र हुनेछ।
राजनीतिमा कसैलाई रोक्न उम्मेदवार खडा गर्नु र कसैलाई नेतृत्वका लागि अघि सार्नुमा ठूलो अन्तर हुन्छ।
रोक्नका लागि उम्मेदवार चाहिन्छ। नेतृत्व गर्नका लागि दृष्टि चाहिन्छ।
काङ्ग्रेसले अब यही फरक छुट्याउन सक्नुपर्छ।
बानियाँको अर्को परीक्षा : आफ्नै घरको राजनीति
इन्द्र बानियाँको राजनीतिक शक्ति मकवानपुर र बागमती प्रदेशमा बनेको हो। त्यसैले उनको राष्ट्रिय नेतृत्वको दाबीको पहिलो परीक्षा पनि त्यही भूगोलमा हुन्छ।
२०७० सालमा उनले मकवानपुरको कथित वाम किल्ला तोडेका थिए। त्यो उनको उपलब्धि हो। तर कुनै समयको चुनाव जित्नु सधैंका लागि राजनीतिक प्रमाणपत्र होइन।
राजनीति नदी हो—एकै ठाउँमा उभिएर नदीको दिशा बदलिँदैन।
आज मकवानपुरमा बानियाँको पक्ष र विपक्षमा देखिएका राजनीतिक धारहरू, युवाहरूको असन्तुष्टि, स्थानीय संगठनभित्रको शक्ति-सन्तुलन र आगामी निर्वाचनका सम्भावित चुनौतीलाई उनले गम्भीर रूपमा लिनुपर्छ।
