धर्म–संस्कृति/रीतिथिति

शुक्लागण्डकीमा ‘श्री शिव महिमा बोलवम धार्मिक महोत्सव-२०८३’ हुने,

Share to:


शुक्लागण्डकीमा ‘श्री शिव महिमा बोलवम धार्मिक महोत्सव-२०८३’ हुने, भदौ १ देखि ८ गतेसम्म
राष्ट्र संरक्षण डट कम
तनहुँ ।

: तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानी साँखर स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा भदौ १ गतेदेखि ८ गतेसम्म ‘श्री शिव महिमा बोलवम धार्मिक महोत्सव-२०८३’ हुने भएको छ।

मूल समारोह समितिले आज पत्रकार महासंघ तनहुँ र सम्पूर्ण पत्रकारहरूलाई जानकारी गराउँदै देवाधिदेव साम्बसदा शिव श्री शुक्लेश्वर महादेवको मन्दिर परिसरमा ७ दिनसम्म संगीतमय शिव महिमा कथा प्रवचन हुने जनाएको छ।

महोत्सवको औपचारिक उद्घाटन भदौ १ गते बिहान ११:०० बजे धामको प्राङ्गणमा हुने छ। कार्यक्रमको प्रमुख आतिथ्य १००८ स्वामी केशवानन्द गिरी महाराजज्यूले गर्नेछन्।

समितिका अनुसार कथा वाचन पूजनीय भागवत वाचिका आँचल बरेलज्यूद्वारा गरिनेछ। यससँगै झाँकी र भजनसहितको संगीतमय प्रस्तुति हुनेछ।

मूल समारोह समितिका संयोजक शास्त्री ठाकुर प्रसाद वाग्लेले धार्मिक प्रवचन श्रवणका साथै सातै दिन सञ्चालन हुने अनुष्ठानमा सहभागी भई फल प्रसाद ग्रहण गरी श्री शुक्लेश्वर महादेवको आशिर्वाद ग्रहण गर्न सबैलाई सादर आमन्त्रण गरेका छन्।

समितिले मानव जीवनलाई आध्यात्मिकता तर्फ लगाउँदै सत्कर्म गर्नु नै परम कर्तव्य भएको भन्दै महोत्सवले धार्मिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

७ दिनसम्म चल्ने महोत्सवमा भागवत वाचिका आँचल बरेलले संगीतमय शिव महिमा कथा वाचन गर्ने समितिका संयोजक शास्त्री वाग्लेले जानकारी दिए।

समितिले सम्पूर्ण धर्मप्रेमीहरूलाई महोत्सवमा सहभागी भई पुण्य आर्जन गर्न आग्रह गरेको छ।

Like