तनहुँको मादी नदीमा बाढीले बगाएका ३ वटा भैंसी उद्धार

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ।
राष्ट्र संरक्षण डट कम
तनहुँको मादी नदीमा बाढीले बगाएका ३ वटा भैंसी उद्धारगरिएको छ भने २ वटा अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।
तनहुँको व्यास नगरपालिका-५ साँगेमा मादी नदीको बाढीले बगाएका ५ वटा भैंसीमध्ये ३ वटाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेले जानकारी दिए। प्रहरी नायब उपरीक्ष घिमिरेका अनुसार २ वटा साना पाडा भने अझै बेपत्ता छन्।
शुक्रबार साँझ अन्दाजी ४:३० बजे साँगे र मादी नदीको दोभानमा चराउन लगिएका व्यास-५ चापाघाट निवासी ३३ वर्षीय पदम कुमार श्रेष्ठका ५ वटा भैंसी २ वटा ठुलो र ३ वटा सानो बाढीले बगाएको थियोे ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक अमृत लामिछानेको कमाण्डमा ७ जनाको र प्रहरी नायब निरीक्षक उमेश बस्नेतको कमाण्डमा ५ जनाको उद्धार टोली खटिएको थियो।
खटिएको टोलीले बगेका भैंसीमध्ये २ वटा ठुलो भैंसी घटनास्थलबाट करिब ३ किलोमिटर तल मादी पुलबाट र १ वटा सानो पाडो करिब ५ किलोमिटर तल बिसघरे घाटबाट सकुशल उद्धार गरेको छ।
प्रहरीका अनुसार बाँकी २ वटा साना पाडाको खोजी कार्य जारी छ।
मनसुनका कारण नदीमा पानीको बहाव बढेको हुँदा पशुचौपाया चराउन लैजाँदा उच्च सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले सबैमा अनुरोध गरेको छ।
