बारबारालाई नागरिकता दिलाउन सिफारिस गरिदिने बामदेव गौतम रहेछन
रासंसा/काठमाण्डौं,आषाढ २८,
बारबारालाइ नेपाली नागरिकता दिलाउन सिफारिस गरेको वामदेव गौतमले खुलासागरेका छन् । ‘राजाहरूले नागरिकता दिन मानेनन्, मैले प्रचण्डलाई भनेर बारबरालाई नागरिकता दिलाएँ, यसमा मेरो के अपराध ?’भनेका छन् ।
पत्रकार विनोद ढुंगेलसँगको कुराकानीमा गौतमले तत्कालीन राजा महेन्द्र र राजा वीरेन्द्रको शासनकालमा बारबराले नेपाली नागरिकताका लागि पटक–पटक अनुरोध गरे पनि राजाहरूले नागरिकता दिन नमानेको बताए। पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बारबरा फाउण्डेसनकी संस्थापक बारबरालाई नेपाली नागरिकता दिलाउन आफूले पहल गरेको खुलासा गरेका छन्। उनले राजतन्त्रकालमा पटक–पटक आग्रह गर्दा पनि बारबराले नागरिकता नपाएको दाबी गरेका छन्।
गौतमका अनुसार, जन्मले विदेशी भए पनि नेपालको कानुनी प्रक्रिया पूरा गरेपछि अंगीकृत नागरिकता प्राप्त गर्न सकिने व्यवस्था छ। उनले नेपालमै बसेर सामाजिक सेवा गर्न, संस्था सञ्चालन गर्न र सबै कानुनी प्रक्रिया पूरा गर्न तयार रहेका व्यक्तिलाई नागरिकता दिनु राज्यका लागि सम्मानको विषय हुने धारणा राखे।
उनले भने, “नेपालमा आएर बस्न चाहने, कानुनी प्रक्रिया पूरा गर्ने र देशका लागि योगदान गर्न चाहने विदेशीलाई आवश्यकताअनुसार अंगीकृत वा नेपाली नागरिकता दिन सकिन्छ भन्ने मेरो सिद्धान्त हो। यही आधारमा मैले तत्कालीन प्रधानमन्त्री प्रचण्ड लाई बारबरालाई नागरिकता दिन आग्रह गरेँ र नागरिकता दिलाएँ।”
उनले प्रश्न गरे, “बारबराको फाउण्डेसनबाट नेपालमा राम्रो काम मात्रै भएको छ। मैले नागरिकता दिनुपर्छ भनेर भनेँ र नागरिकता दिलाएँ। यसमा मैले के अपराध गरेँ त?”
गौतमले बारबरा फाउण्डेसनले नेपालमा सामाजिक क्षेत्रमा राम्रो काम गर्दै आएको उल्लेख गर्दै आफूले गरेको पहललाई अपराधका रूपमा चित्रण गर्न नमिल्ने बताए।
गौतमले बारबराले त्यसअघि नागरिकता नपाउनुको कारण तत्कालीन राजतन्त्रको नीति रहेको दाबीसमेत गरेका छन्।
