आज गणतन्त्र दिवस, अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १५,

गणतन्त्र दिवस
गणतन्त्रको अर्थबाट र यहाँ विश्व प्रसिद्ध अङ्ग्रेजी विश्वविद्यालय क्यामब्रिजको परिभाषा सापट लिंदैछौ जसका अनुसार गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधि हरूले शासन गर्ने गर्दछन् । जनआन्दोलन २०६२, ०६३ पछि प्रत्येक जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ । नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्र प्रमुख हुनकालागि राजपरिवारमै जन्मिएका व्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाटमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो । समयको परिवर्तन हेरौँ, आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्र प्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । आज नेपालमा विभिन्न ७ वटा प्रदेशहरू अनि प्रादेशिक शासन स्वरूपमा गणतन्त्रको नयाँ खाका कोरिई पनि सकिएको छ । सङ्घीय स्वरूपमा । विक्रम संवत् २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष ज्येष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइदैछ । ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको ज्येष्ठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउँद छ । ज्येष्ठ १५ गतेको यसै ऐतिहासिक दिनको सम्मान स्वरूप सरकारले आज सार्वजनिक बिदा दिएर यसलाई सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा सारा नेपालीले मनाउने गर्दछन् । आजको दिन एउटा गर्व अनि उत्साहको दिवस हो तसर्थ आज नेपाली सेनाले बिहानै बिगुल फुकेर जनाउ दिने गर्दछ । टुँडिखेल काठमाडौँ लगायत देशैभरका थुप्रै ठाँउहरुमा आज भेला, कार्यक्रम अनि अन्तरक्रिया गर्ने गरिन्छ । साँझमा गणतन्त्रका अथक योद्धा सहिदहरूको सम्झनास्वरुप मैनबत्ती बाल्ने कार्यक्रम पनि गरिन्छ । गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभात फेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदै छ । त्यसै गरी विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दीपावलीको उल्लासमय कार्यक्रमहरू समेत राखिएको छ । यसैबिच गणतन्त्र दिवसको उपलक्ष्यमा छिमेकी मुलुकहरू चीन र भारत सहित अन्य मुलुकका प्रमुखहरूले शुभकामना दिँदै नेपालमा शान्ति र समृद्धिको नयाँ ढोका खोलिने विश्वास गरेका छन् । गणतन्त्र दिवसलाई जनता सार्वभौम भएको सुखद र उल्लासमय दिनका रूपमा मनाइन्छ । नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, युगौँ यूगान्तरसम्म सिम्रिक रङ्गले नेपाली पहिचानको बयान गरोस्, अमर ख्याति प्राप्त गर्न सकोस् । मन अनि वन दुवै तर्फ डाँफे उडोस्, नेपाली टोपी र सगरमाथा उच्च रहुन् अनि विधिको शासन कायम रहोस्, देशले राजनीतिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस् । १० वर्षे सशस्त्र द्वन्द्व मा वीरगति पाएका ती तमाम नेपाली अमर आत्माहरूलाई चीर शान्ति प्राप्त होस् । वहाँहरूको त्यो बलिदानको वास्तविक कदर कतै कुनै कार्यक्रममा केही लाख रुपैयाँ खर्च गरेर र वहाँहरूको नाममा चोक र चौतारा बनाएर मात्र कदापि हुनै सक्दैन, त्यो केवल गणतन्त्रको संस्थागत अभ्यासले मात्र हुन सक्छ । गणतन्त्र दिवसको सार्थक शुभकामना, हिमाल, पहाड, तराई सबैतिर गणतन्त्र दिवस र राष्ट्रिय एकताका लहर एकै स्वर भई फैलिउन् । हो म नेपाली हो, नेपाली हुनुमा गर्व छ र यो गर्व शक्ति बनी रहोस् । नेपालीको जय होस्, मेरो नेपालको जय होस् ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवस
सगरमाथाले नेपाललाई संसारको नक्सामा एउटा विशिष्ट पहिचान दिएको छ। हिमालको काखमा बस्ने नेपालीहरूको अदम्य साहस, अनुपम संस्कृति, रैथाने आतिथ्यता र प्रकृतिप्रतिको अगाध सम्मानलाई यसले विश्वसामु झन् प्रगाढ रूपमा उजागर गरेको छ। “सगरमाथाको देश” भन्नुमा जुन गौरव र अपनत्व लुकेको छ, त्यसले प्रत्येक नेपालीको छाती गर्वले फुल्छ। प्रत्येक वर्षको मे २९ मा संसारभरि ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइन्छ। विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) केवल नेपालको शिरमा सजिएको भूगोल मात्र होइन; यो सम्पूर्ण मानव सभ्यताको साहस, अदम्य इच्छाशक्ति, सपना र अनन्त सम्भावनाको जीवन्त प्रतीक पनि हो। सन् १९५३ मे २९ का दिन नेपाली पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरी इतिहास रचेका थिए। त्यही ऐतिहासिक विजयको सम्झनामा यो विशेष दिवस मनाउने गरिन्छ। यो दिवसले केवल पर्वतारोहणको रोमाञ्चक इतिहास मात्र सम्झाउँदैन, यसले वर्तमान समयमा हाम्रा हिमालहरूले भोगिरहेको गम्भीर सङ्कटप्रति पनि हाम्रो ध्यान आकर्षण गराउँछ। जलवायु परिवर्तन (Global Warming) का कारण आज सगरमाथा लगायतका हिमशृङ्खलाहरू पग्लिँदै गइरहेका छन् र काला पत्थरमा परिणत हुँदैछन्। हिमालको यो क्रन्दनलाई बुझेर यसको पर्यावरणीय सन्तुलन कायम राख्नु, पर्वतारोहणलाई दिगो र फोहोरमुक्त बनाउनु तथा पर्यावरण-मैत्री पर्यटनको प्रवर्द्धन गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो। “सगरमाथा हाम्रो पहिचान हो, हाम्रो सर्वोच्च गौरव हो र भावी पुस्ताका लागि हामीले जीवन्त र सुरक्षित राख्नुपर्ने अमूल्य प्राकृतिक सम्पदा हो। यस अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पावन अवसरमा प्रकृतिको यो अनुपम उपहारको संरक्षण गर्ने र नेपालको गौरवलाई विश्वभर चम्काउने प्रण गरौँ।”

Like