प्रधानमन्त्रीलाई प्रतिनिधि सभा सदस्य ई. न्यौपानेको खुल्ला पत्र मदिरा जन्य पदार्थमा कडा नीति लिन आग्रह

अन्जनराज न्यौपाने
काठमाडौँ
काठमाडौं – प्रतिनिधिसभा सदस्य एवं इन्जिनियर श्रीराम न्यौपानेले प्रधानमन्त्रीलाई खुल्ला पत्र लेख्दै मुलुकको सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सुधारका लागि मदिरा जन्य पदार्थमा कडा नीति लिन आग्रह गरेका छन्।
तनहुँ-२ बाट निर्वाचित सांसद न्यौपानेले देशमा बढ्दो भ्रष्टाचार, कमिसनतन्त्र, दलाली र सेटिङ संस्कृतिको मुख्य जरो ‘मदिराजन्य सत्कार’ रहेको दाबी गरेका छन्। उनले मदिरा आज भ्रष्ट लेनदेनको सबैभन्दा सहज, सुरक्षित र सामाजिक रूपमा स्वीकार्य माध्यम बनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
मदिरा नै भ्रष्टाचारको माध्यम
सांसद न्यौपानेले पत्रमा भनेका छन्, ‘दिनभर नियम, कानुन र नैतिकताको भाषण गर्नेहरू साँझ परेपछि साना-ठुला होटल, रेस्टुरेन्ट र बन्द कोठा भित्र मदिरा सत्कारको आवरणमा नियुक्ति, सरुवा, बढुवा, ठेक्का र कमिसनको खेल खेलिरहेका हुन्छन्।’
उनका अनुसार, प्रशासनिक र राजनीतिक वृत्तमा ‘मदिरा संस्कृति’ केवल व्यक्तिगत उपभोगको विषय नभई राज्य संयन्त्रलाई विकृत बनाउने माध्यम बनेको छ। घुसको रकम सिधै हातमा नदिए पनि ‘सेटिङ डिनर’ र ‘मदिरा भेटघाट’ का नाममा हुने अदृश्य लेनदेनले इमानदार कर्मचारी र राजनीतिज्ञलाई निरुत्साहित गरेको उनको भनाइ छ।
न्यौपानेका तीन प्रस्ताव:
सांसद न्यौपानेले सुशासन कायम राख्न र देशको अवस्था सुधार गर्न मदिरा तथा सुर्तीजन्य पदार्थमा सरकारले कठोर नीति लिनुपर्नेमा जोड दिएका छन्। उनले मदिराजन्य पदार्थको मूल्य वर्तमानको तुलनामा कम्तीमा तीन गुणा हुने गरी शतप्रतिशतभन्दा बढी कर लगाउन प्रस्ताव गरेका छन्। उनका अनुसार यसबाट निम्न उपलब्धि हासिल हुनेछन्:
१. मदिरा र सुर्तीको अनावश्यक उपभोगमा कमी आउनेछ।
२. भ्रष्टाचार र सेटिङ संस्कृतिमा नियन्त्रण आउनेछ।
३. राज्यको राजस्वमा उल्लेख्य वृद्धि हुनेछ।
नैतिक साहसको अपेक्षा
पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा कर बढाउने सरकारले देशको संस्कृति बिगार्ने मदिरामा किन कठोर हुन नसकेको? भन्दै न्यौपानेले प्रश्न गरेका छन्। ‘यदि राज्यलाई साँच्चिकै सुशासन चाहिएको हो भने मदिरा–दलाली गठबन्धन तोड्नैपर्छ,’ उनले भनेका छन्।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सांसद न्यौपानेले भनेका छन्, ‘बजेटमा केवल अंकगणित मात्र होइन, अब देश बचाउने नैतिक साहस पनि देखिनुपर्छ। मदिरा महँगो हुने देशमा सुशासन सस्तो बन्छ।’
देशको प्रशासनिक र सामाजिक विकृतिविरुद्ध इन्जिनियर सांसद न्यौपानेको यो पत्रले अहिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।