आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २५,

मुलुकमा हेर्दा सुन्दर देखिने मात्र होइन, सूर्यको उदाउँदो वा अस्ताउँदो प्रकाश पर्दा मनमोहक देखिने मात्र होइन, पर्वतहरूले हाम्रो जीवनसँग अन्योन्याश्रित सम्बन्ध राख्छन् । हिमालहरूबाट नै आउने कलकल बग्ने खोलाहरू हुन् या समुद्रबाट उडेको बादल गएर हिमालहरूमा ठोक्किएर पर्ने पानी किन नहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अति आवश्यक छ । हामी नेपालीको पहाड, हिमाल तथा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि गहिरो सम्बन्ध, विश्वास र सम्मान रहँदै आएको छ। नेपाल ‘पर्वतहरूको राजधानी’ भनेर पनि चिनिन्छ। त्यसैले विश्वले मनाउने ११ डिसेम्बरको विश्व पर्वत दिवस हाम्रा लागि विशेष रूपमा महत्त्वपूर्ण छ। नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ । हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडीबुटीमा हामी विश्वमै धनी छौँ, विशेष छौँ । तर, यही समयमा हामीसँग चिन्ता र चुनौतीहरू पनि बढेका छन् । विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएका छन् । अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरूको पनि लोप हुँदै गएको छ । पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्यूनीकरण गर्न अब सोच्ने समय आएको छ ।
“Glaciers matter for water, food and livelihoods in mountains and beyond” भन्ने २०२५ को अन्तर्राष्ट्रिय पर्वत दिवसको नाराले हिमनदीहरूको महत्वलाई विशेष रूपमा उजागर गर्छ। हिमनदी पग्लँदा पहाडदेखि तराईसम्म पानीको आपूर्ति प्रभावित हुन्छ, कृषि उत्पादनमा गिरावट आउन सक्छ, र पहाडी समुदायको दैनिकी जोखिममा पर्न सक्छन्। त्यसैले हिमनदी संरक्षण केवल पहाडका लागि मात्र होइन, समग्र जीवन, प्रकृति र भविष्यका पुस्ताका लागि अत्यावश्यक छ।

Like