१५ देशका राजदूत एकै दिन इलाममा

Share to:

रासंसा/इलाम, बैशाख ०२,

मुलुकमा नयाँ वर्ष २०८२ सालसँगै नेपालका लागि विभिन्न १५ देशका राजदूत इलाममा आएका छन् । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजनामा उनीहरू इलामको सूर्योदय नगरपालिकामा आएका हुन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिवसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदूतसहित ४५ जनाभन्दा बढी उच्च तहका पदाधिकारी इलाम आइपुगेको सूर्योदय नगरपालिकाले जनाएको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा इलाम आइपुगेका १५ देशका राजदूतलाई श्रीअन्तुमा सूर्योदयको दृश्यावलोकन गराइएको छ । दृश्यावलोकनसँगै राई, लाप्चा र नेवारी नृत्यसहित साकेला नाच, झाक्री नाचले स्वागत गर्दै अन्तुमा चिया टिपाइको अनुभव, अन्तु पोखरीमा फिसिङ (माछा मार्ने) चिज टेस्टिङ, अलैंची टेस्टिङ गराउने र इलाममा उत्पादन भएका चियाका विभिन्न टेस्टसमेत लिएका छन् । इजिप्ट, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रान्स रिपब्लिक, इजरायल, जापान, मलेसिया, श्रीलंका, बंगलादेश र इसिमोडलगायतका राजदूत आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले कन्याममा स्वागत गरेर अन्तुमा बास बसाउँदै आएको छ । कन्याममा परराष्ट्रमन्त्री राणासहित विभिन्न मुलुकका राजदूतलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । उनीहरूलाई विभिन्न जातजातिको वेशभूषामा कन्यामको लभडाँडासम्म घोडामा यात्रा गराइएको थियो । जातीय पोसाकमा सजिएर राजदूतले कन्यामको परिक्रमा गरे । मन्त्रालयले नेपालमा रहेका विभिन्न देशका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराउने कार्यक्रमअनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले जानकारी दिए । सूर्योदय नगरपालिकाको अन्तुमा आएका राजदूतले अन्तुमा रहेको चिया बगानमा चिया टिपेर अनुभव लिएका छन् । राजदूतहरूले चिया बोक्ने डालो भिरेर चिया टिपेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सबै राजदूतका लागि यो फरक अनुभव भएको बताए । राजदूतहरूले टिपेको चिया जोखेर नामसहित राखिएको छ र उनीहरूले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरूलाई नै पठाइने नगरप्रमुख राईले बताए ।नेपाली चिया विश्व बजारमा प्रवर्धन गर्नका लागि चिया टेस्टिङको कार्यक्रम राखिएको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले बताए । ब्ल्याक टी, अर्थोडक्स ग्रीन टी, उलङ टी, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिए । अन्तुमै दूधको परिकार चिज र अलैंची टेस्टिङसमेत गराइएको थियो । ‘इलामको चिया चिनाउनका लागि हामीले यो प्रयास गरेका हौं,’ राईले भने । अस्ट्रेलियाका राजदूत लेनान जोनस्टनले नेपाली चिया पिउन पाए पनि बोटमै आएर चिया टिप्ने अनुभव भने लिन नपाएकामा त्यो समेत आज पूरा भएको बताए । अस्ट्रेलियन राजदूत जोनस्टनको भनाइ उद्धृत गर्दै नगरप्रमुख राईले भने, ‘यति सुन्दर ठाउँको चिया विश्व बजारमा लैजानका लागि हाम्रो पनि कोसिस हुनेछ ।’ सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजना फिक्कलले विभिन्न १६ जातका चिया टेस्टिङ गराएको हो । राजदूत भ्रमणअन्तर्गत सोमबार अन्तु पोखरीमा राजदूतलाई डुंगा सयर गाउनुका साथै माछा समात्ने (फिसिङ) पनि गराइएको छ । परराष्ट्र मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार अनौपचारिक भ्रमणअन्तर्गत इलामको अन्तु आइपुगेका राजदूतहरूले अन्तुमा डुंगा सयर र माछा मारेर मनोरञ्जन गरेका हुन्, जसमा इजिप्ट, दक्षिण कोरिया, यूके, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रान्स रिपब्लिक, इजरायल, जापान, मलेसिया, श्रीलंका, बंगलादेश र इसिमोडका राजदूत सहभागी भएका थिए । राजदूतहरूको भ्रमण आजसम्मको रहेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको विकास र समृद्धिको आधार पर्यटन रहेको बताइन् । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार रहेको भन्दै मन्त्री राणाले नयाँ वर्षले नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने बताइन् । मन्त्री राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृंखलाको पनि प्रशंसा गर्दै इलामका चियाफाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिकाको चर्चा गरिन् । उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह गरिन् ।

Like