भारतसँग गरेको सहमति स्वीकृत नहुँदा लोडसेडिङको खतरा !
रासंसा/काठमाण्डौ, चैत्र २,
मुलुकमा नेपाललाई भारतले आइतबारदेखि ६५४ मेगावाट बिजुली सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्रै दिने भएको छ । नेपालमा भारतबाट १२ घण्टा मात्रै बिजुली आयात गर्ने पाउने भएपछि रातको समयमा लोडसेडिङ हुने अवस्था देखिएको हो । भारतसँग भएको सम्झौता अनुसार मार्च १६ तारिखदेखि १२ घण्टाभन्दा बढी समयमा बिजुली दिन नसक्ने जानकारी गराएको विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म मात्रै बिजुली खरिद गर्न पाउने भएपछि आइतबारदेखि औद्योगिक क्षेत्रमा रातभर लोडसेडिङ हुने अवस्था देखिएको छ । स्रोतले भन्यो, ‘भारतले नेपाललाई विद्युत् खरिद गर्न दिएको स्वीकृत अनुसार आइतबार देखि १२ घण्टा मात्रै हुन्छ । अहिलेसम्म नेपालले भारतबाट २० घण्टासम्म बिजुली खरिद गर्दै आएको थियो । आइतबारदेखि १२ घण्टा मात्रै आयात गर्न पाउँछौँ । त्यसले रातको पिक आवरमा नेपाललाई समस्या हुन्छ । औद्योगिक क्षेत्रमा समस्या पर्ने देखिएको छ ।’ विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले भने भारतबाट दिउँसो मात्रै विद्युत् आयात हुँदा पनि आपूर्तिमा खासै असर नपर्ने दाबी गरे । उनले भने, ‘६ बजेपछि विद्युत् आयात गर्न नपाउँदा पनि अप्ठ्यारो हुँदैन । अहिले हामीलाई दिउँसाको समयमा १४ सय मेगावाट आवश्यकता पर्ने हो । १४ सय मेगावाट नै विद्युत् आउने भएकोले समस्या हुँदैन । साँझको समयमा आन्तरिक उत्पादनले धान्छ । पीआरोआर हजार मेगावाट र अन्य ७ सय मेगावाट आन्तरिक गरी १६ सय उत्पादन हुन्छ । रातको समयमा कुनै समस्या हुँदैन ।’ नेपालको विद्युत् उत्पादन ड्राइ सिजनका कारण निरन्तर रूपमा घट्दै आएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार भारतले पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म बिजुली नदिँदा रातको समयमा ४ घण्टा मात्रै लोडसेडिङ गरेर व्यवस्थापन गर्दै आएको थियो । अब सोलार आवरमा मात्रै भारतले विद्युत् दिने भएपछि उद्योगहरूमा थप लोडसेडिङ हुने अवस्था देखिएको छ । सरकारको अनुमति विना प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग विद्युत् खरिद सम्झौता गरेको विषयमा स्पष्टीकरणले थप अन्योल सिर्जना भएको छ । उनले रातको समयमा भारतबाट ४ सय मेगावाट आयात गर्ने बताए । उनका अनुसार नेपालमा विद्युत् खपतको माग घटेको छ । प्रवक्ता घोषका अनुसार कुनै कुनै–कुनै दिन लोडसेडिङ गर्नुपरेको हुन सक्ने र उद्योगहरूमा ५० प्रतिशतसम्म मात्रै उत्पादन गर्नु पर्ने छ । उनले सबै उद्योगहरूले रातको समयमा विद्युत् प्रयोग नगर्ने भएकाले खासै समस्या नपर्ने र लोडसेडिङ पनि नहुने दाबी गरे । भारतबाट राति विद्युत् नआउँदा पनि घरायसी ग्राहकमा चाहिँ लोडसेडिङ नहुने उनको भनाइ छ । भारतसँग विद्युत् खरिद सम्झौताका विषयमा सरकारले प्रश्न गर्दा उद्योग मात्रै नभएर समग्र क्षेत्रमा असर पर्ने देखिएको छ । नेपाल–भारतबिच विद्युत् आदान–प्रदान समितिको गत २०८१ माघ ३० गते भारतको नयाँ दिल्लीमा कार्यकारी घिसिङले विद्युत्को मूल्य १.५ प्रतिशतले वृद्धि गर्ने गरी सम्झौता गरेका थिए । उक्त सम्झौताको विषयलाई लिएर सरकारले मन्त्रीपरिषद्बाट समेत स्पष्टीकरण सोधेको छ । उक्त सहमति भएको दर नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिबाट अनुमोदन र विद्युत् नियमन आयोगबाट स्वीकृति हुनु पर्छ । सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत भए पश्चात् अप्रिल २०२५ देखि मात्र तय गरिएको नयाँ दर लागू हुनेछ । तर उक्त सम्झौतालाई लिएर सरकारले कुलमानलाई स्पष्टीकरण सोध्दा भारतबाट बिजुली आउने सम्भावना कम भएको छ । नेपाल–भारतबिच विद्युत् खरिद सम्झौता सरकारबाट स्वीकृत नहुँदा नेपालमा लोडसेडिङ बढ्ने खतरा बढेको छ । भारतसँग कुलमानले सन् २०२५ को अप्रिलबाट २०२६ को मार्च सम्मका लागि १३२, ३३ र ११ के.भी. प्रसारण लाइनमार्फत आदान– प्रदान गरिने विद्युत्को प्रतियुनिट दर क्रमशः ८.१०, ८.७८ र ९.४१ भारतीय रुपैयाँमा सम्झौता गरेका थिए । उनले सन् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्मका लागि तय गरिएको दरमा १.५ प्रतिशत वृद्धि हुने गरी सहमति जनाएका थिए । सम्झौतामा नेपाललाई आवश्यक परेमा मात्र सुख्खायामका महिनाहरूमा मुख्यरुपमा साँझ ४ बजेदेखि राति ९ बजेसम्म र भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धा गरी विद्युत् आयात स्वीकृति नभएको अवधिमा मात्र आयात गरिने गरी भएको थियो । उक्त सम्झौता अनुसार १५ मार्चदेखि सन आवर अर्थात् बिहान ६ देखि बेलुका ६ बजेसम्म १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात हुने भएको छ । भारतले सम्झौता नवीकरण गर्दा १५ मार्चसम्म दैनिक २० घण्टा नेपालमा विद्युत् निर्यात गर्न दिने तथा त्यसपछि ३० जुनसम्म सन आवरमा मात्रै विद्युत् दिने व्यवस्था गरेको थियो । गत मंसिरमा भारतले तीन महिनाका लागि मात्रै विद्युत् निर्यात सम्बन्धी सम्झौता नवीकरण गरेको थियो । नवीकरण गर्दा भारतले नेपालले दिनको समय (सन आवर) मा मात्रै विद्युत् निर्यात गर्ने गरी भारतले १९ नोभेम्बरमा सम्झौता नवीकरण गरेको थियो । त्यही अनुसार विद्युत् प्राधिकरणले १ डिसेम्बर (१६ मंसिर) देखि भारतबाट विद्युत् आयात गरिरहेको छ । हाल बिहारको रक्सौल–परवानीपुर र उत्तर प्रदेशको मैनहिया–सम्पत्तिया १३२ के.भी.प्रसारण लाइनबाट पिक समयमा दैनिक करिब १९० मेगावाट विद्युत् आयात भइरहेको छ । अन्य समयमा भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धाबाट विद्युत् आयात हुँदै आएको छ । भारतले रातको समयमा विद्युत् नदिए स्वदेशी उत्पादन नबढेमा चैतदेखि जेठसम्म रातमा विद्युत्को माग व्यवस्थापन गर्न चुनौती हुने देखिन्छ ।