आज विश्व गैरसरकारी संस्था दिवस मनाइदै
रासंसा/काठमाण्डौ, फाल्गुण १५,
नेपालमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा नियमन समाज कल्याण परिषद्ले गरिरहेको छ । समाज कल्याण ऐन २०४९ को अधीनमा रहेर सामाजिक कल्याण तथा विकासका काममा सहयोग गर्न चाहने संस्थाहरू यस परिषद्बाट स्वीकृति लिएर काम गरिरहेका छन् । सन् १९४५ मा नव निर्मित संयुक्त राष्ट्र सङ्घको चार्टरको एक अनुच्छेदमा पहिलो पटक “गैरसरकारी सङ्गठन” शब्दले एउटा औपचारिक स्थान पायो। त्यहाँ गैरसरकारी सङ्गठनको परिभाषा कुनै पनि देशको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले गैर नाफा मूलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउँछ भनेर उल्लेख गरियो। त्यसपछि अहिले सम्म आइपुग्दा प्रत्येक देशमा धेरै यस्ता गैरसरकारी संस्थाहरू छन् जसले हरेक सहर वा जिल्लामा हुने स्थानीय समस्याहरूको ध्यानाकर्षण ठुला राष्ट्र अथवा मञ्चमा गराउने गर्दछन्। थुप्रै यस्ता गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र सङ्घले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ। आजको दिनको मूलभूत उद्देश्य भने “साथ र सहयोगको उत्सव मनाउ” भन्ने रहेको छ। आजको दिनले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैर-सरकारी संस्थाले समाजमा पुराएको योगदान र अन्य गतिविधिहरूको महत्त्वलाई विश्वसामु प्रस्ट पार्ने प्रयास गर्दछ। विश्व गैरसरकारी संस्था दिवसको सन् २०२५ को नारा चाँही दिगो भविष्यको निर्माणका लागि जरैदेखिको तहमा चलायमान गराऔं अर्थात् “Empowering Grassroots Movements for a Sustainable Future” हो। यस वर्ष अमेरिकी सहयता नियोग यूएसएआइडीको सहयोग कटौतीको घोषणासँगै नेपाल लगायत विश्वभरिका विकासोन्मुख देशहरूमा एनजिओ समीकरण बिग्रेको अवस्था छ । यद्यपि सामाजिक काम भन्नासाथै सदैव दातृ निकायकै भरमा गरिन पर्छ भन्ने छैन तसर्थ वर्ष २०२५ सही अर्थमा एनजिओको समाजसेवाको उत्कट द्रष्टव्य जाँच्ने र आत्ममुल्याकंन गर्ने वर्ष पनि हो । समाज कल्याण परिषद्को तथ्यांकअनुसार २०७७।७८ सम्ममा काम गर्न अनुमति लिएका राष्ट्रिय गैरसरकारी संस्था(एनजिओ)को सङ्ख्या ५१ हजार ५१३ वटा छन् । त्यसै गरी विभिन्न क्षेत्रमा काम गर्ने अनुमति लिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ को सङ्ख्या २३० छ । सबैभन्दा धेरै अमेरिका, बेलायत, जर्मनी, जापान, इटाली, स्वीजरल्यान्ड लगायतका मुलुकबाट सञ्चालित आईएनजीओ छन् । त्यसबाहेक आजको दिन ती सबै स्वयंसेवक, सदस्य र समर्थकहरूलाई उनीहरूले समाजमा पुराएको योगदानको लागि सम्झना गर्ने दिन पनि हो। यस्ता थुप्रै व्यक्तिहरू छन् जसले कुनै न कुनै रूपमा यस्ता गैर-सरकारी संस्थाहरूका कार्य र परियोजनाहरूलाई सफल पार्न आफूलाई समर्पित गरेका छन्। आजको दिन हामी सबैले एक पटक ती निस्वार्थ सहयोगीहरूलाई सम्झना गर्दै सम्मान दिन पर्छ। ती व्यक्तिहरूलाई हामीले दिने सम्मानले नै अन्य मानिसहरूलाई यस्ता गैर सरकारी संस्थाहरूसँग सहकार्य गर्न हौसला प्रदान गर्नेछ। २०४९/५० पछि नेपालमा एनजिओ तथा आईएनजीओ दर्ताको क्रम अत्यधिक धेरै छ । नेपाल जस्तो विकासोन्मुख देशमा गैरसरकारी संस्थाहरूले महत्त्वपूर्ण भूमिका महत्त्वपूर्ण हुन्छ । गैर सरकारी संस्थाहरू समाजको आवश्यकता हुन्, झन् नेपाल जस्तो विकाशको पथमा लम्किरहेको देशमा यी संस्थाहरूको योगदान अतुलनीय रहने गरेको छ।