जीवनको आध्यात्मिक रहस्य
रासंसा/तनहुँ, माघ २५,

अघोरी स्मशानेश्वोर चन्डी बाबा
मनुष्य जीवनको सार सत्यको खोजमा केन्द्रीत छ। सत्य केवल बाह्य संसारको तथ्यगत ज्ञान मा मात्र सीमित छैन, यो त बरु आत्मासँग सम्बन्धित गहन अनुभूति मा निहित छ। मानव हृदयको गहिराइमा एक अमृत स्रोत प्रवाहित छ, जसलाइ पहिचान गर्न सकेको खण्डमा दिव्यता हासिल गर्न सकिन्छ। यही दिव्य ज्ञानले जीवनलाई शुद्ध, सरल र समुन्नत बनाउँछ।
जसले मातृशक्तिको महिमा बुझेर श्रद्धापूर्वक स्मरण गर्छ, उसले आत्मिक आनन्द प्राप्त गर्छ। मातृशक्ति केवल बाह्य आराधना र पुकारमा निहित शक्ति होइन, यो त आत्मिक चेतनाको जागरण हो। जीवनका सबै समस्याको समाधान यसै चेतनामा लुकेको छ। जब मनुष्य यो सत्य बुझ्छ, ऊ भय, शङ्का र मोहबाट मुक्त हुन्छ।
जीवनको मार्ग सरल छ, तर यो सरल मार्गलाई व्यक्तिको अज्ञानता, मोह र आसक्तिले कठिन बनाउँदछ। जसले आत्मज्ञान प्राप्त गर्छ, ऊ मुक्त हुन्छ। साँचो सुख कुनै बाहिरी वस्तुमा होईन , यो त आत्मिक शान्तिमा निहित छ। यही शान्ति आत्मशक्तिको उपासना वाट प्राप्त हुन्छ।
मातृशक्ति कुनै बाह्य कल्पना होइन, यो त अन्तर चेतनाको उज्यालो हो। जसले आत्मशक्तिको महत्त्व बुझ्दछ, ऊ संसारमा मुक्त आत्माको रूपमा विचरण गर्दछ। आत्मशक्ति जागृत भएपछि जीवन संघर्षको यात्रा नभइ एउटा दिव्य यात्रा बन्दछ। यही दिव्यता नै साँचो सुख हो, यही नै पूर्णता हो।
जय अघोर ।