एमाले २०८२ भित्रै महाधिवेशनको तयारीमा
रासंसा/काठमाण्डौ, माघ १०,
मुलुकमा सरकारको नेतृत्व गरिरहेको एमाले आगामी ११औं महाधिवेशनको तयारीमा जुटेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकमा छलफल गर्दै आगामी भदौमा विधान महाधिवेशनको निर्णय गर्ने गरी एमाले महाधिवेशनको तयारीमा जुटेको हो। एमालेको विधानअनुसार केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशन तोक्ने भए पनि पदाधिकारी तथा सचिवालय बैठकले गरेका निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गर्नेगरी आगामी विधान महाधिवेशनको मिति तय गरेको हो। पार्टी केन्द्रीय सचिवालयको बालुवाटारमा बसेको बैठकले भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। अहिलेको अवस्थामा एमालेले चाँडै महाधिवेशन गरेर आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाउने सोच एमालेले नेतृत्वले गरेको छ। नेकपा एमाले २०८४ अघि नै ११औं महाधिवेशनको तयारीमा जुटेको छ। नेकपा एमालेको विधान महाधिवेशन २०८२ भदौमा हुने भएपछि करिब करिब २०८२ भित्रै महाधिवेशन गरिसक्ने तयारीमा जुटेको हो। यदि २०८२ मा महाधिवेशन भएन भने २०८३ पहिलो महिनाभित्रै महाधिवेशन गरेर एमाले २०८४ को निर्वाचनको तयारीमा जुट्न सक्ने संकेत गरेको छ। एमालेको १०औं महाधिवेशन २०७८ मंसिर १० देखि १३ सम्पन्न भएको थियो। सो महाधिवेशनले केन्द्रीय कमिटी सदस्य र विभाग चयन गर्दै चितवन जिल्लाको सौराहामा आयोजना भएको थियो। त्यसअघि एमालेले गोदावरीमै पहिलो विधान महाधिवेशन गरेको थियो। अहिले पनि गोदावरीकै सनराइज हलमा विधान महाधिवेशन गर्ने एमालेले जनाएको छ। एमालेले दसौं महाधिवेशनको दुई महिनाअघि (१५ देखि १७ असोज, २०७८) पार्टीको विधान महाधिवेशन सोही स्थानमा सम्पन्न गरेको थियो। ‘एक महाधिवेशनबाट अर्को महाधिवेशनको बीचमा विधान महाधिवेशन गर्ने पार्टीको वैधानिक व्यवस्थाअनुसार सचिवालयले विधान महाधिवेशनको मिति तय गरेको हो,’ विधानअनुसार आगामी मंसिरपछि एमालेले एक वर्षभित्र नेतृत्व चयन गर्ने महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ। अध्यक्ष केपी ओली सकेसम्म २०८२ भित्रै महाधिवेशन सम्पन्न गरेर आफ्नै नेतृत्वमा २०८४ को निर्वाचन सम्पन्न गराउने र परिणाम आफ्नो पक्षमा पार्ने योजनामा छन्। नीति महाधिवेशन र नेतृत्व चयन गर्ने महाधिवेशन अलग–अलग गर्ने एमालेको विधानमा व्यवस्था छ। नीति महाधिवेशनले विधान पास गरेपछि नेतृत्व चयन गर्ने महाधिवेशन सम्पन्न गर्ने भएको हो। हरेक पाँच वर्षमा हुने महाधिवेशनको बीचमा एकपटक विधान महाधिवेशन गर्ने एमालेको विधानमा व्यवस्था भएअनुसार अहिले नै मिति तोकेको हो। यतिबेला पार्टीअध्यक्ष केपी शर्मा ओलीको योजनाअनुसार नै एमालेले मिसन ८४ का विभिन्न कार्यक्रम गर्दै आएको छ। एमालेले तीन वर्ष कार्यकाल पूरा गरेका १६ वटा जनवर्गीय संगठनको महाधिवेशन आगामी वैशाखभित्र गरिसक्ने जनाएको छ। एमालेले अबको तीन वर्षभित्र मिसन २०८४ को तयारी गर्ने जनाएको छ। महाधिवेशनमा धेरै अलमल नगरी मिसन २०८४ मा लाग्ने एमालेले संकेत गरेको छ। त्यसका लागि एमालेले २०८१ पुस २२ मा गरेको केन्द्रीय कमिटीको बैठकबाट स्पष्ट अवधारणा बाहिर ल्याएको छ। २०८१ वैशाखमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट पारित सात विषय एमालेले बुझ्नुपर्ने कामहरूमा राखिएको थियो। पार्टी सदस्यता विस्तार, नवीकरण तथा अभिलेख व्यवस्थापन, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटीको चेन–अफ–कमान्ड कायम गर्ने र कार्यकर्ताको मूल्यांकन, कमिटी सञ्चालन र गुटबन्दी अन्त्य, कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रूपान्तरण र जनचासोका विषय सम्बोधन र निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि निर्वाचनको व्यवस्थित तयारीलगायत थिए। यिनै विषयलाई ध्यानमा राखी एमालेले विधान अधिवेशनको मिति तय गरेको हो। अहिलेको विधानले ‘केन्द्रीय कमिटी दुई महाधिवेशनबीचको अवधिमा पार्टीको सर्वोच्च कार्यकारी संस्था हुनेछ’ उल्लेख गरेको छ। एमालेले मिसन–२०८४ सफल पार्न आठ शीर्षकमा पार्टी कार्यक्रम अगाडि सारेर वडा तहमै कार्यान्वयन गर्न थालिसकेको छ। त्यतिबेलाको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीबाट पेस भएको राजनीतिक प्रतिवेदनअनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट गरिएको संकल्पका आधारमा पार्टी कार्यक्रम प्रस्ताव गरिएको थियो। निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न पहिलो दायित्व पार्टीको अभियान बुझ्ने र बुझाउने हुनुपर्ने प्रस्ताव गरिएको थियो। यसैगरी राष्ट्रिय महाधिवेशनले अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–४, महासचिव–१, उपमहासचिव–१, सचिव–७ समेत २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचन गर्ने उल्लेख छ। यसलाई चितवन महाधिवेशनबाट संशोधनसमेत गरिएको थियो। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीका पदेन सदस्य हुने जनाइए पनि तिन सय बढी केन्द्रीय सदस्य रहेका छन्। केन्द्रीय कमिटीको निर्वाचनमा कम्तीमा एकतिहाइ महिलासहित नेपालको विविधता प्रतिबिम्बित हुनेगरी समावेशीकरण गरिने राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी निर्वाचित भई शपथग्रहण गरेपछि पुरानो केन्द्रीय कमिटी स्वतः विघटन पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुनेछन्, महाधिवेशनले उल्लेख गरेको थियो। दशौं महाधिवेशनयता एमालेमा कोही वरिष्ठ नेता छैनन्।