जिम्मा पाएको चार दिनमा ९८ लाख भुक्तानी, कार्यालय प्रमुख विवाद कायमै
रासंसा/कालिकोट, पौष ४,
मुलुकमा खाँडाचक्र नगरपालिकामा कार्यालय प्रमुख विवादले दैनिक काममा अवरोध हुँदै आएको छ। निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको छैटौं अधिकृत प्रबलजंग शाहीको जिम्मेवारी खोसेर अविराज शाहीलाई कार्यालय प्रमुख बनाएपछि कार्यालयको दैनिक कामकाज प्रभावित हुँदै आएको हो। नगर प्रमुख कमलबहादुर शाहीको मनोमानीमा अविराज शाहीलाई कार्यालय प्रमुख मात्र होइन एक तह बढुवासमेत गरिएको थियो, तर सबै रेकर्ड हेर्दा एकल निर्णय भएको र निर्णय पनि स्वयं अविराज शाहीले लेखेको पुष्टि भएपछि सामान्य प्रशासन मन्त्रालयले शाहीको जिम्मेवारी खोसेको थियो। प्रबलजंग शाहीको जिम्मेवारी नगर प्रमुखले खोसेको र अविराज शाहीको जिम्मेवारी मन्त्रालयले खोसेपछि नगरपालिका बन्दजस्तै छ। गत कात्तिक ३० गते मन्त्रालयले पत्र लेख्दै बढुवा नै नभएका छैटौं तहका अधिकृत अविराज शाहीलाई आर्थिक अधिकारसहित कार्यालय प्रमुखको जिम्मेवारी दिँदा नगरका सबै कर्मचारीले विरोध गरेका थिए। कर्मचारी र स्थानीय युवाले समेत जुनियरलाई बढुवा गरेको नक्कली निर्णय गरेर कार्यालय प्रमुखको जिम्मेवारी दिएको भन्दै चर्को विरोध गरेपछि अविराज शाहीको जिम्मेवारीसमेत मन्त्रालयले खोसेपछि खाँडाचक्र नगरपालिका कार्यालय प्रमुखविहीन भएको छ। कार्यालय प्रमुख नहुँदा अन्य शाखाका कर्मचारी पनि कार्यालय आउँदैनन्। दैनिक कामकाज ठप्प छ भने कार्यालय दुईचारजना सहयोगीले खोल्ने गरेका छन्। नगर प्रमुखको मनसायअनुसार काम नगर्दा आफैंले तोकेका हाकिमको जिम्मेवारी खोसेको सबैले आरोप लगाएका छन्। एक कर्मचारीका अनुसार नगर प्रमुख र पुराना कार्यालय प्रमुख प्रबलजंग शाही एकै गाउँका नातेदार भए पनि स्वार्थ नमिलेका कारण नगर प्रमुख शाहीले जिम्मेवारी खोसेको सुनाए। हामीले धेरै भन्नु छैन, नगर प्रमुखको चाहनाअनुसार कार्यालय प्रमुखले काम नगरेपछि यस्तो समस्या भएको हो। असोज ३० मा जिम्मेवारी पाएका अविराजले मंसिर ११ सम्म दोहोरो पेस्कीसमेत भुक्तानी दिएका छन्। अवैध रूपमा कार्यकारी नियुक्त भएका शाहीले कार्यालयका एक कर्मचारीलाई पेस्कीमाथि पेस्की दिएको पाइएको हो। मंसिर ७ गते अवैध रूपमा कार्यकारी नियुक्त शीर्षकमा समाचार प्रकाशन भएको थियो। समाचार प्रकाशनपछि मंसिर ११ गते उनको नियुक्ति रद्द गरिएको थियो। उक्त अवधिमा उनले दिएका भुक्तानीसमेत अवैध भएको जानकार बताउँछन्। खाँडाचक्र नगरपालिकाका एकजना कर्मचारीलाई १४ लाख पेस्कीमाथि पेस्की दिएको बताए। उनले मेयरलाई काठमाडौंमा खाने–बस्ने खर्चसमेत १४ लाख भुक्तानी भएको जनाए। नगर प्रमुख शाहीकै जोडबलमा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका अविराज शाहीले चार दिनमा ९८ लाख खर्च गरेको पाइएको छ। गत कात्तिक ३० गते मन्त्रालयको पत्रअनुसार निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका अविराज शाही मंसिर ७ गते मात्र हाजिर भएका थिए। उनी हाजिर भएकै दिन नयाँ खाता खोलेर ११ गते दिउँसोसम्म केही उपभोक्ता र केही आफ्नो नाममा चेकमार्फत ९८ लाख खर्च गरेको पाइएको हो। नगरपालिकाका सूचना अधिकारी महोन महराले ९८ लाख त होइन त्यसको आधाजति हुन सक्ने बताए। असोजदेखि खर्च केही पनि भएको थिएन। दसैं–तिहारको बिदाले त्यही भएर पनि खर्च केही भएको हुन सक्ने भन्दै सबै विषय लेखापाल धिरबहादुर शाहीलाई जानकारी दिए। आफूले जिम्मा पाएको चार दिनमा ९८ लाख खर्च गरेको आरोप खेपिरहनुभएका अविराज पनि यस विषयमा बोल्न चाहँदैनन्। यसअघि पनि अधिकृत अविराज आफू निमित्त रहेका बेला श्रीमतीलाई सामाजिक परिचालकमा नियुक्ति दिएर आफैंले श्रीमतीको हाजिर लगाएर ६ महिनासम्मको तलब भुक्तानीसमेत गरेको आरोप छ। यस विषयमा नागरिक दैनिकमा समाचार प्रकाशन भएपछि अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय कालीकोटले शाहीलाई सात महिना जिम्मेवारीबाट बाहिर राखेको थियो।