पूर्वराजा ज्ञानेन्द्र आएपछि समर्थकले भने दाङमा ‘राजा आउ देश बचाऊ’

Share to:

रासंसा/दाङ, मार्ग २९,

मुलुकमा दाङको तुलसीपुरमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले राजा आउ देश बचाउको नारा लगाएका छन् । दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा दर्शनका लागि जाने क्रममा तुलसीपुरमा आइपुग्नु भएका पूर्व राजा ज्ञानेन्द्रलाई तुलसीपुरमा स्वागत गर्दै उनीहरूले देशमा राजाको विकल्प नभएको भन्दै यस्तो नारा लगाएका हुन् । ‘सयौंको सङ्ख्यामा नागरिकहरूको उपस्थिति थियो । राजालाई हेर्न र स्वागत गर्न राजावादी मात्रै थिएनन् । स्वतःस्फूर्त रुपमा नागरिकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो । झनपछि झन नागरिकको उपस्थिति बढ्नुमा राजनीतिक दलप्रतिको वितृष्णा पनि हो ’ पत्रकार शरद रेग्मीले भने । पूर्व राजा ज्ञानेन्द्रलाई हेर्नका लागि सयौँको सङ्ख्यामा नागरिकहरूको उपस्थिति रहेको थियो । राजा ज्ञानेन्द्रले तुलसीपुरमा रहेको पूर्व राजा वीरेन्द्रको अर्धकदको सालिकमा माल्यार्पण समेत गरेका थिए । नागरिकको उल्लेख्य सहभागिता बढेपछि भिड थाप्न प्रहरीलाई हम्मेहम्मे भएको थियो । तुलसीपुर प्रहरीका अनुसार राजालाई हेर्न करिब ३ हजार बढी नागरिक उपस्थिति रहेको थियो । पूर्व राजा ज्ञानेन्द्र धारापानीको मन्दिर दर्शनपछि आजै नेपालगन्ज फर्किने कार्य तालिका रहेको दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सेनाले जानकारी दिए । राजालाई ठाउँ ठाउँमा भेटघाट र स्वागतको व्यवस्थापन स्वतन्त्र नागरिक समाजले गरेको बुझिएको छ ।

Like