पाँच करोडको लागतमा विद्यालय भवन निर्माण
रासंसा/काठमाण्डौ, मार्ग २९,
मुलुकमा आधुनिक र गुणस्तरीय शिक्षाका लागि नुवाकोटको तुप्चेको एक विद्यालयमा एकैपटक तीनवटा भवन निर्माण गरिएको छ। विद्यालय परिसरमा छुट्टै बाल उद्यानसमेत बनाइएको छ। विद्यालयमा आयोजित कार्यक्रममा नवनिर्मित भवनहरू तथा बाल उद्यानको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गरे। उनले अब परिवर्तित समयअनुसार शिक्षाको आवश्यकता रहेको बताए। विदुर नगरपालिका-७ तुप्चेस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा एकैपटक ३० कोठे तीनवटा भवन निर्माण गरिएको छ। विद्यार्थीहरूका लागि खेलसहितको बाल उद्यानसमेत निर्माण सम्पन्न भएको छ। मुख्यमन्त्री लामा तामाङले युग र समय सुहाउँदो शिक्षाबाटै बालबालिकाहरूको स्तर उकासिने बताए। उनले शिक्षाको परिवर्तनका लागि प्रदेश सरकारले विशेष योजना बनाउने समेत बताए। भवन तथा बाल उद्यान उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले विद्यालयमा भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा विद्यालय, अभिभावक तथा विद्यार्थीहरूसँगै आफूहरू साथमा रहेको बताए। उनले अब विदेशिने नभई स्वरोजगारमा केन्द्रित हुने शिक्षा आवश्यक रहेको धारणा राखे।