अर्थमन्त्री विष्णु पौडेलको भनाई, निर्माण व्यवसायीलाई एकसाताभित्र भुक्तानी भइसक्छ
रासंसा/काठमाण्डौ, मार्ग २२,
मुलुकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीको एकसाताभित्र भुक्तानी भइसक्ने बताएका छन्। भुक्तानीमा केही समस्यादेखि आफूसमक्ष आउन आग्रह गर्दै अर्थमन्त्री पौडेलले उचित निकास निकाल्ने प्रतिबद्धता जनाए। उनले निर्माणको क्षेत्रमा देखिएको समस्या एक अर्कालाई देखाएर समाधान नहुने उल्लेख गरे। अर्थमन्त्री पौडेलले संघीय सरकार अन्तर्गतको विकासे आयोजनाहरूको बजेटमा हेर्दा सन्तोषजनक नरहेको भन्दै बजेट निर्माणको प्रक्रियामा सुधार गर्नुपर्ने उल्लेख गरे। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजना गरेको विकास बजेटको परिचालन: सरकार र निजी क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले आइतबारबाटै निर्माण व्यवसायीको बक्यौता भुक्तानी सुरु हुने र ढिलोमा एक साताभित्रै सबैको भुक्तानी भइसक्ने बताएका हुन्। कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले केही सिमेन्ट कम्पनीहरूले बोरामै दुई सय रुपैयाँ मूल्य वृद्धि गरेको र उद्योगीहरूले सिमेन्टमा कार्टेलिङ गरेको बताए। सिमेन्ट मूल्य वृद्धि गर्नुको कारणबारे सरकारले अध्ययन गर्नुपर्ने उनले बताए। उनले निर्माण व्यवसायीहरूको भुक्तानी समयमा नै हुन नसक्दा ऋण तिर्न नसकेकाले समयमा नै भुक्तानी गर्न आग्रह गरे।