धमाधम शेखर समूहमा देउवा समूहकै नेताहरू
रासंसा/काठमाण्डौ, कार्तिक २६,
मुलुकमा नेपाली कांग्रेस पार्टीभित्र १५औं महाधिवेशनको चर्चा शुरू भएसँगै वरिष्ठ नेता डा. शेखर कोइराला पार्टीको आन्तरिक राजनीतिमा सशक्त बन्दै जानुभएको छ। कांग्रेसको विधानबमोजिम २ कार्यकाल सभापति भइसक्नुभएका देउवा फेरि उम्मेदवार हुन पाउनुहुन्न । त्यसो हुँदा देउवा निकटमा धेरै नेताहरूले अर्को महाधिवेशनमा नेता छान्ने बताएका छन्। संस्थापन समूहका प्रभावशाली नेता केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत आगामी पार्टी नेतृत्वमा डा. शेखर कोइरालाका पक्षमा उभिने संकेत गर्नुभएको छ। १४औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा समूहमा रहेका शक्तिशाली नेताहरू कोइरालासँग नजिकिएसँगै कोइराला समूह थप बलियो बनेको हो । विधानअनुसार २०८२ मंसिरमा कांग्रेसको १५औं महाधिवेशन हुनुपर्नेछ। पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतको प्रभाव कांग्रेसको आन्तरिक संगठनमा राम्रै मानिन्छ। गणेमान सिंह, किसुनजी र गिरिजाप्रसाद कोइरालाको पालामा कोइराला देशव्यापी संगठन निर्माण अभियानमा हिँडेकै कारण नेतृत्वमा आएको स्मरण गराउँदै नेता बस्नेतले भन्नुभएको छ– ‘खट्ने नेताहरू नै पार्टी नेतृत्वमा आएको इतिहास छ। हिजो किसुनजी, गणेशमान हुँदाहुँदै गिरिजाप्रसाद कोइरालाल संगठनमा खटेरै नेतृत्वमा आउन सफल हुनुभएको थियो। अहिले वरिष्ठ नेता डा. शेखर कोइरालालको देशदौडाहा र राजनीतिक खटाइ ठीक छ । राजनीतिमा कूटनीति आवश्यक छ त्यो पनि डा.सापसँग छ।’ १४औं महाधिवेशनको पहिलो चरणमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि, कल्याण गुरुङसहित ५ जना सभापतिका उम्मेदवार थिए। त्यस बेला रामचन्द्र–शेखर समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र रामचन्द्र पौडेलमात्रै नभई कोइराला परिवारकै सदस्यहरू पूर्वमहामन्त्री शशांक कोइराला र नेता सुजता कोइरालाले समेत देउवालाई साथ दिएपछि शेखरले हार बेहोर्नुपरेको थियो। दोस्रो चरणको मतदानमा देउवा २७३३ मतका साथ सभापतिमा निर्वाचित हुँदा नेता शेखरले १८५५ मत पाउनुभएको थियो। यद्यपि, कोइराला टिमबाट गगन थापाले सबैभन्दा राम्रो मत ल्याएर महामन्त्री जित्नुभएको थियो। पार्टी सञ्चालन गर्न सांगठनिक र कूटनीतिक नेतृत्व चाहिने भएकाले त्यो क्षमता नेता कोइरालासँग रहेको बस्नेतले बताउनुभयो। उहाँले यसअघि थप्नुभयो– ‘म फेरि शेरबहादुर देउवा नै सभापति लड्ने हुँदा उहाँकै पक्षमा उभिने थिएँ’, तर, कांग्रेसको विधानअनुसार वर्तमान सभापति शेरबहादुर देउवा फेरि सभापति नलड्ने भएपछि नेता छान्नुपर्ने हुन्छ, त्यो मैले पनि गर्छु।’ २०७८ मंसिर २४–२७ मा भएको पार्टीको चौधौं महाधिवेशनमा ४१ प्रतिशत मत पाएका नेता शेखर कोइराला १५औं महाधिवेशनमा सभापतिका बलिया दाबेदारका रूपमा संगठन निर्माणमा देशव्यापी लाग्नुभएको छ। पार्टीको आन्तरिक राजनीतिमा कुनै पनि नेताहरू एकै समूहमा बसिरहने चलन छैन। अघिल्लो महाधिवेशनमा जस्तै आगामी १४ औं महाधिवेशनमा पनि नेताहरू तितरबितर हुने अवस्थामा देखिएका छन्। त्यस बेला शेरबहादुर देउवालाई सहयोग गरेकी नेता सुजाता कोइरालाले ०८१ साउनको पहिलो साता शेखरको सम्पर्क कार्यालयमा एक अनौपचारिक कार्यक्रम राखेर शेखरलाई आगामी सभापति बनाउने उद्घोष गर्नुभएको थियो। पूर्वमन्त्री डा. शशांक कोइरालाले पनि अबको महाधिवेशनमा कोइरालाहरू एकै ठाउँ रहने बताउँदै आउनुभएको छ। ‘राजनीतिलाई समाजसेवाका रूपमा अघि बढाउन बीपीलाई सम्झिएर पनि हामी एकै ठाउँ रहनु नै पर्छ’ –शशांकले भन्नुभयो। त्यसलगत्तै साउन १२ मा सुजताले औपचारिक कार्यक्रम गरेरै विगतमा आफूबाट गल्ती भएको भन्दै १५औं महाधिवेशनमा डा. शेखरलाई सभापति बनाउने सबै तहका नेता कार्यकर्ताहरूलाई अभियानकै रूपमा लाग्न अनुरोध गर्नुभएको थियो। त्यस्तै, पूर्वगृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण पनि कोइराला पक्षमा लाग्ने संकेत गर्नुभएको छ भने पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) पनि कोइराला पक्षमा लाग्ने तयारीमा रहेको उहाँ निकट स्रोतको दाबी छ।
१४औं महाधिवेशनमा १९ वर्षे किशोरीदेखि ९४ वर्षका हजुरबासम्मले पार्टी महाधिवेशनको प्रक्रियामा भाग लिएका थिए। करिब १० लाख क्रियाशील सदस्य रहेको दाबी गर्दै आएको नेपाली कांग्रेसलाई सांगठनिक, वैचारिक र देशविदेशका राजनीतिक शक्तिहरूले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै राजनीतिलाई देश र जनताको सेवामा समर्पित गर्नका लागि कांग्रेसलाई डा. शेखर कोइरालाको नेतृत्वमा अघि बढाउनुपर्ने राजनीतिक विश्लेषक एवं केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले बताउनुभयो। आगामी महाधिवेशनमा शेरबहादुर देउवाको शक्ति कमजोर हुँदै जाने निश्चित भएपछि शक्ति केन्द्रित राजनीमा घुमिरहने नेताहरू शेखर कोइरालाको पछि लाग्न लागेको कतिपयले आरोपसमेत लगाएका छन्। पछिल्लो समय केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू नै शेखरको समूहमा जाने तयार भएर बसेका नेताहरूले दाबी गरेका छन्।