पत्रकार गुप्तामाथि घरमै कुटपिट गर्नेहरु खुलेआम सडकमा, प्रहरी प्रशासन मौन
रासंसा/बांके, कार्तिक ०२,
मुलुकमा जिनेपाल फोरके टेलिभिजनमा कार्यरत पत्रकार अभिषेक गुप्तामाथि मध्यरात घरमै पुगी कुटपिट तथा दुव्र्यवहार गर्नेहरुमाथि दुई हप्ता बढि समय बितिसक्दापनि कुनै कार्वाही भएको छैन । समाचार संकलनको विषयलाई लिएर घटनामा असम्बन्धित व्यक्तिहरुको एक समूह गत असोज १७ गते राती ११ बजे अभिषेक गुप्ताको घरमै पुगी गुप्ता, उनकी आमा लगायत परिवारका सदस्यहरुमाथि आक्रमण गरी घाईते तुल्याएका थिए । दुर्गा पूजाका सम्बन्धमा खुला सडकमा लाठी प्रदर्शनको प्रशिक्षण भईरहेको रिपोर्टिग गर्न घटना स्थल पुगेका पत्रकार अभिषेक गुप्ताले भिडियो खिच्न खोज्दा नखिच्न भनेपछि उत्पन्न विवाद पछि पत्रकार गुप्ता भिडियो नखिचि फर्किएका थिए । सोही विाषयलाई लिएर दुर्गेश साहु, विशाल गुप्ता, देवानन्द यादव लगायतको समूह राती घरमै पुगी गाली गलौज गर्दै कुटपिटमा उत्रिएका थिए । घटनाको विषयमा तत्कालै पिडितका तर्फबाट प्रहरीमा उजुरी भई मुद्दा तथा गरी दोषिहरुलाई पक्राउ पूर्जि समेत जारी भइसकेको दुई हप्ता बितिसकेतापनि उनीहरु पक्राउ पर्नुको बदला खुलेआम बजारमा घुमिरहेका छन् । घटनाको विषयलाई लिएर नेपाल पत्रकार महासंघ बांकेको नेतृत्वमा प्रेस चौतारी नेपाल, प्रेस यूनियन, प्रेस संंगठन, स्वतन्त्र पत्रकार संघ नेपाल लगायतका संगठनहरुले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई दोषीहरुमाथि शिघ्र कार्वाहीको माग गर्दैै ज्ञापन पत्रसमेत बुझाएका छन् । जिल्ला प्रहरी प्रमुुख तुलबहादुर कार्कीको समेत उपस्थितिमा ज्ञापन पत्र बु्झे लगत्तै तत्काल दोषिलाई कार्वाही गर्ने आश्वासन प्रजिअ रिजालले पत्रकार समक्ष गरेका थिए ।