आज पूर्णिमा व्रत, अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, कार्तिक स्नान, आकाशदीपदान आरम्भ

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ०१,

पूर्णिमा व्रत
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ । दसैँ पछिको आजको पूर्णिमाको महत्त्व आकाश दीप र कार्तिक स्नान दुवैको घोतक मानिन्छ । आजबाट अब आकाशे दीप दान र कार्तिक स्नान दुवै परम्पराको सुरुवात भएको छ ।
आकाशदीपदान आरम्भ
बडा दशैंको समापनसँगै आजबाट कार्तिक स्नान प्रारम्भ हुँदैछ, आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राती जाग्राम बसेसँगै औपचारीक रुपमा बडा दशैंको समापन हुन्छ । आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको दुर्गा पक्ष आजका दिनबाट औपचारीक रुपमा अन्त भएको छ । आजका दिन सन्ध्याकालमा घरघरमा दिप प्रज्वलन गरेर जाग्राम बसे लक्ष्मी माता त्यो घरमा धनधान्य र ऐश्वर्यका साथ प्रवेश गर्ने धार्मिक मान्यता छ । लक्ष्मीपुजा भन्दा ठिक १५ दिनअघि यस आराधना गरिन्छ, यसरी दिप बनाँउदा बाँसको लामो लिंगोलाई त्यसको टुप्पामा कागज लगायतले बेरेर त्यहाँ बत्ति बाल्ने अनि ठड्याउने चलन छ । यी बत्तिहरु श्री हरिको समर्पणमा बालिन्छ । यसरी आकाशतर्फ ठड्याएर बालिएका बत्तिहरु हरेक घरका आँगनमा राखिन्छन्, यसरी नक्षत्रतर्फ ठड्याइएका बत्तिहरुका लस्करले समग्र गाँउनै दुधिलो प्रकाशमा रंगीएको देखिन्छ । यि बत्तिहरुलाई आकाशेबत्ति भनिन्छ, आजका दिन आकाशेदीप प्रज्वलन गरिने दिन पनि हो, यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ, यसरी दुधिलो प्रकाश मुनी बसेर जुवातास खेल्ने चलन पनि आजको दिन प्राचिन कालबाटै शुरु भएको मानिन्छ ।
कार्तिक स्नान
कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमा सम्म स्नान गरि घरघरमा विशेष रुपमा विधीविधान पूर्याएर गरिने तुलसीपूजा पनि आजैदेखि शुरु भएको छ । यसरी कार्तिक स्नानको शुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ । कार्तिक स्नानको शुरुवात, आकाशेदिप प्रज्वलन आजबाट शुरु भयो, मुख्यतया दुर्गा पक्षको समापनलाई दर्शाउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरुपको अर्चना गरिँदै जाग्राम गरेर भजन किर्तन गर्दै मनाइन्छ । अब हिँउद शुरु भइसक्यो, शीतका थोपाहरु खस्न थालेका अनि रातहरु छोटा हुन थालेका छन्, दशैंको अन्तसंगै अब तिहारका दिनहरुको हामी सबैलाई प्रतिक्षा छ ।
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ । गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने चलन १७ अक्टोबर १९८७ बाट सुरु भएको हो । विश्व बैङ्कको प्रतिवेदन हेर्ने हो भने पछिल्ला दुई वर्षमा लगभग ९ करोडदेखि १२ करोड मानिस फेरि गरिबीको चपेटामा परेका छन् । यी मानिसहरूमा अधिकांश दक्षिण एसिया र सब–सहाराका देशहरूमध्येका छन् । त्यस दिन, पेरिसको ट्रोकाडेरोमा एक लाख भन्दा बढी मानिसहरू भेला भएका थिए जुन ठाउँमा सन् १९४८ मा नै मानव अधिकारको विश्वव्यापी घोषणामा हस्ताक्षर गरिएको थियो। चरम गरिबी, हिंसा र भोकमरीको सिकार भएको विश्वमा गरिबी निवारण गर्ने मूलभूत उद्देश्यका साथ यसरी सुरु भएको यस दिवस आज पनि मनाइदैछ ।
सन् २०२४ को गरिबी निवारण दिवसको नारा “Ending Social and Institutional Maltreatment Acting together for just, peaceful and inclusive societies” हो । ून्यायपूर्ण, शान्तिपूर्ण र समावेशी समाजको लागि सँगै काम गर्दै सामाजिक र संस्थागत दुर्व्यवहारको अन्त्य गरौं भन्ने अर्थ लाग्दछ ।
परमाणु शक्ति र हतियारमा अरबौँ डलर खर्च गर्न सक्ने देशहरू आम मानिसका भोक, रोग, बासका समस्या सम्बोधन गर्न चुकेका छन् । त्यस्ता दृश्यले कहिले शक्तिशाली राष्ट्र केवल तुजुकमा रमिरहँदा मानवीय पक्ष हराएको हो कि भन्ने आभास दिलाउँछ ।
२१सौँं शताब्दीको यो पहिलो अर्ध दशक भित्र पनि संसारमा गरिबीले बिदा मागेर गाँस बास र कपासको आधारभूत प्रत्याभूति पनि हुन सक्ने छेकछन्द देखिएको छैन ।
हरेक सरकार अनि संसद्को प्रथम प्राथमिकता भनेकै गरिबी उन्मूलन हुनुपर्ने हो । यो गरिबी उन्मूलन निम्ति शान्ति, स्थायित्व र आर्थिक विकासका लागि अत्यन्त महत्त्वपूर्ण तत्त्व हुन् । यो विषयमा नेपाल पनि चुक्दै आएको छ । नेपालमा पनि शासकीय कुर्सी पुग्नुअघि हरेक शासकको नारा शान्ति, स्थायित्व र विकास हुन्छ । तर जब उनीहरू कुर्सीमा पुग्छन्, तब तिनीहरू स्वयं अस्थिरता निम्त्याउँदै आफ्नो शासकीय आयु लम्ब्याउनेमा सीमित हुन्छन् । यो एवं रीतबाट नेपाल लामै समयदेखि प्रताडित छ । गरिब र धनीको अव्यक्त खाल्डो विश्वभरि नै मौन लडाइँका रूपमा छ । यस अर्थतन्त्रमा ज्ञान अनि अवसरको आधारमा अगाडि बढ्न सबैलाई स्वतन्त्रता छ, हैन र ? गरिब र धनीको यो खाडल पुरिँदै जाओस्, समाज अनि समाजका विपन्न समुदायप्रति राज्य अनि हामी सबैको ध्यान हुन जरुरी छ । हामीले विश्व बैङ्कको तथ्याङ्क साभार गर्न चाहयौं, सन् २०११ को २५ दशमलव २ प्रतिशत गरिबी रहेको नेपालमा सन् २०१५ सम्म घटेर २१ दशमलव ६ प्रतिशत भएको देखिन्छ । वैदेशिक रोजगारीको विप्रेषण आएको रकममार्फत बढेको आयलाई दीर्घकालीन मान्न अवश्य सकिन्न । देशमै रोजगार अनि सीपको उजागर गर्दै बजार अनि वित्त व्यवस्थापन जरुरी छ । अर्कोतर्फ कृषि कार्यमा क्रान्ति ल्याएर निर्वाहमुखी भन्दा व्यावसायिक कृषि गरिनु जरुरी छ । स्मरण रहोस्, दश वर्षे द्वन्द्व र त्यसपछिका अन्योलले नेपालमा गरिबीको तह बढेको अनि मानिसहरूमा जीवनयापन गर्ने अवसरहरूको कमी देखिएको छ । अर्कोतर्फ सरकारी प्रयास स्वरूप गरिबी निवारण कोषमार्फत नेपालभरिका ५९ जिल्लामा ३० हजार सामुदायिक संस्थाहरूमार्फत विभिन्न आय आम्दानीका कार्यक्रम सञ्चालनमा आए । तर त्यसले कतिलाई गरिबीबाट माथि उठायो भन्ने चाहिँ मूल्याङ्कन भएको छैन । अनि गैरसरकारी संस्थाहरू पनि यस स्वरोजगार र सामुदायिक आयआर्जनका मार्गमा लागि परेका छन् । आर्थिक विकासविनाको र गरिबीले पिल्सिएको लोकतन्त्र कमजोर हुन्छ । गरिबी उन्मूलन भएको नेपाल र विश्व हामी सबैले यही जुनीमा देख्न पाइयोस् ।
सबैको घरमा छाना होस् , मानामा चामलका दाना होस्, कोदो होस् या पीठो होस्, जीवन सबैको मीठो सुन्दर होस् , यहि सबैमा शुभकामना ।

Like