ट्राफिक प्रहरी, लुक्दै समात्छन् , चालक हुत्तिँदै भाग्छन्
रासंसा/काठमाण्डौ,
मुलुकमा एयरपोर्टदेखि तीनकुनेतिर आउँदै हुनुहुन्छ भने प्रायजसो सिनामंगल पीपलबोट चोकछेउमा लुकेर बसेका ट्राफिक प्रहरी भेट्नुहुन्छ। सडकको बायाँतिर रुखमुनि एकजना स्पिड चेक गर्ने ‘मेसिन’ लिएर बसेका हुन्छन्। अरू सवारीचालक पक्रिन तम्तयार हुन्छन्। कुनै दिन त्यहाँ ट्राफिक भेटिएनन् भनेर चालकहरू ढुक्कले सवारी चलाउँछन्, अनि गैरीगाउँ पेट्रोलपम्प नजिक चेकिङमा पर्छन्। अनि, उही रमिता देखिन्छ। प्रहरीबाट भाग्नेहरू यसरी सवारी हुइँक्याउँछन् कि, कुनै पनि बेला ‘दुर्घटना’ का सम्भावना रहन्छ। जब कुनै सवारीसाधन तीव्र गतिमा आयो कि, एक्कासि सिट्टी फुक्दै ट्राफिकहरू सडकमा आउँछन्। अनि, भागाभाग चल्छ। कोही, प्रहरी छल्दै अत्तालिँदै भाग्छन् त, कोही चालक फन्दामा पर्छन्। प्रहरी र चालकबीचको घम्साघम्सीले सडकमा ‘रमिता’ नै चल्छ।
प्रायःजसो कलेज जाँदै गरेको विद्यार्थी, अफिस जाँदै गरेका कर्मचारी तथा व्यक्तिगत कामका लागि बाहिरिएका व्यक्तिहरू प्रहरीको फन्दामा पर्छन्। प्रतिकिलोमिटर ५० भन्दा बढीको गतिमा सवारी हाक्ने जोकोही कारबाहीमा पर्ने गर्छन्। करिब दुई किलोमिटर लामो कलंकी बल्खु सडक यात्रा गर्नेहरू चार ठाउँमा प्रहरी चेकिङमा पर्छन्। चार ठाउँमा प्रहरी चेकिङ हुने गरे पनि यो सडकमा हुने दुर्घटना भने घट्न सकेको छैन। कहिले बसको ठक्करबाट, कहिले टिपर, ट्रकले ठक्कर दिएर यहाँ दुर्घटनामा मान्छे मरिरहेकै हुन्छन्। केही महिनाअघि यही बाटोमा पर्ने सीता पेटोलपम्प छेउ बसले ठक्कर दिँदा यात्रुसहित पठाओ चालक गरी दुई जनाकै मृत्यु भएको थियो।
कलंकीबाट बल्खुतिर जाँदै हुनुहुन्छ भने परीक्षा नियन्त्रण कार्यालयनजिकै तपाईं ‘स्पिड चेकिङ’मा पर्नुहुन्छ। कलंकीबाट जाँदा पनि सीधै नदेखिने र बल्खुबाट आउँदा पनि सीधा नदेखिने बीचको सडक किनारमा ट्राफिक प्रहरी भेट्न सक्नुहुन्छ। ¥याडरगन बोकेर उभिएका प्रहरी प्रायः तीव्र गतिमा आएका सवारीसाधन समाउने ध्याउन्नमा हुन्छन्। तीव्र गतिमा सवारी हुइँक्याएका चालकहरू चेकिङ देख्नासाथ अत्तालिँदै सवारी फर्काउँदा कंलकी भाटभटेनी नेरै उभिएका ट्राफिक प्रहरीको फन्दामा पर्छन्।
उपत्यकाको सडकमा घरबाट निस्किएर आधा घण्टामात्रै सवारी चलाउनुपर्छ। कम्तीमा दुईदेखि तीन ठाउँमा ट्राफिक चेकिङमा पर्नुहुन्छ। कतै सडकको छेउमा छेलिएर त कतै घुम्तीमा सवारी चेकिङ चलिरहन्छ। स्पिड टेस्टको बहाना होस् या सवारीचालक अनुमतिपत्र जाँचको बहानामा होस् वा ट्राफिक नियमको पालनाको बहानामा होस् सडकमा चेकजाँच देखिन्छ। अहिले त सीसीटीभी र ¥याडर गन प्रयोग गरेर पनि सवारी चेकजाँच गर्ने गरिन्छ।
यस्तै अवस्था छ रिंगरोडमा पर्ने नख्खु चोकको पनि। सडकमै राखिएको स्पिड चेकिङ ¥याडर गनको निसानामा परी धेरै सवारीसाधनहरू कारबाहीमा परेका छन्। गल्ती गरेर कारबाहीमा पर्नु त सामान्य नै मान्नुपर्ला तर चेकिङको डरमा अत्तालिएर भाग्दा हुने दुर्घटना भने कहालिलाग्दो छ। कारबाहीको डरमा तीव्र स्पिडमा भागेको सवारीसाधनले अन्य स्थानमा गएर पैदलयात्रुलाई ठक्कर दिने र दुर्घटनामा पर्ने
जोखिम हुन्छ।
केही दिनअघि भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भयो। उनको मृत्युपश्चात् ट्राफिक चेकिङको कारण स्कुटर चालकको मृत्यु भएको भन्दै व्यापक विरोध भयो। स्थानीयको भीडले ट्राफिक प्रहरीसमेत कुटिए। तर, घटनापछि सार्वजनिक भएको दुर्घटनाको भिडियोमा ट्राफिक चेकिङमा स्कुटर रोकेको भने देखिएन।
पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा दुर्घटनाको मुख्य कारण अस्तव्यस्त सडक नै रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सवारी दुर्घटनाको एक प्रमुख कारण सडकमा प्रहरीले राख्ने अवरोधहरू हो। उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता विश्वराज खड्काका अनुसार उपत्यकामा हुने दुर्घटना हरेक दिन बढिरहेको छ। दुर्घटनाबाट धेरै जनधनको क्षति पनि भएको छ। दुर्घटनामा घाइते भएका व्यक्तिको अवस्था झन् खराब छ। दुर्घटना न्यूनीकरण गर्नकै लागि आवश्यक मात्रामा ट्राफिक चेकिङ गरिएको हो। सडकमा यात्रा गर्दा होस् या सवारी चलाउँदा ट्राफिक नियम मान्ने हो भने दुर्घटनाको जोखिम कम हुने खड्काको तर्क छ। हरेक किमिमा गाडी रोक्ने, बेरियर राख्ने, केरकार गर्ने गरेर चालकको समय बर्बाद गरिदिने र यो समय रिकभर गर्न र समयमा गन्तव्य पुग्ने चालकले गाडी स्पिड गर्नुपर्ने बाध्यता छ। राति–दिउँसो नदेखिने गरी ठाउँ कुठाउँमा बेरियरहरू राखिएका हुन्छन्। एक जिल्लाभित्र दर्जनौं बेरिएर तेर्साएर चिल्ला स्तरीय सडकहरू कुरूप बनाउने काम प्रहरीको नै हो। प्रवक्ता खड्का भन्छन्, ‘ट्राफिक चेकिङमा कडाइ गर्नु प्रहरीको रहर नभएर बाध्यता हो। संयमित चालक निकै कम छन्। दुर्घटना गराएर भाग्ने, चोरेका सवारी चलाउने, कागजपत्रबिना नै सवारीसाधन सडकमा हुइँक्याउने र ओभरस्पिडमा सवारी हाँक्ने तथा मापसे, लापसे गरेर सवारी चलाउनेजस्ता कार्य बढ्दै गएकाले चेकिङमा कडाइ गरिएको हो।’ सडकमा संकेत नै नभएको ठाउँमा पनि विभिन्न बहाना निकालेर ट्राफिक प्रहरीले चेकजाँच गरेर चिट काट्छ भन्ने गुनासो छ। यसमा प्रवक्ता खड्का भन्छन्, ‘सडकमा वन वे, युटर्न, नो पार्किङ जस्तो संकेत राखिएका हुन्छन्। कहिलेकाहीँ संकेत चिह्न नभएका ठाउँमा सडकमा हुने सीधा र डट लाइनले संकेत देखाइएको हुन्छ। जहाँ यस्ता दुवै खाले लाइन र संकेत छैन, त्यहाँ वन वे, युटर्न, नो पार्किङजस्ता कसुरमा चिट काट्न मिल्दैन। यही कसैमाथि यस्तो भएको छ भने ट्राफिक महाशाखा आएर निवेदन दिन सकिन्छ। झाडीमा लुकेर प्रहरीले सवारी चेकजाँच गर्छन् नि भन्ने प्रश्नमा प्रवक्ता खड्का भन्छन्– कहीँ कतै लुकेर हैन, मेन चोक, नाका र मुख्य सडकहरूमा सवारी चेकजाँच हुने गर्छ। पछिल्लो समय अति आवश्यक बाहेक मुख्य सडकमा बिहान र दिउँसोको चेकिङ हटाइएको ट्राफिक महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार सडकका रेखा वा संकेत चिह्नले संकेत नदिएका ठाउँमा सवारी रोकेर चिट काट्न पाइँदैन। खड्का भन्छन्, ‘भक्तपुरको दुर्घटनापछि नागरिकले ट्राफिक चेकिङको विषयमा सवाल उठाएपछि सडकमा सवारी चेकिङ परिमार्जन गरिएको छ।’ ट्राफिक प्रहरीले सडकमा गर्ने सवारी चेकिङको विषयमा महाशाखाबाटै नै खटाएर गरिने हुँदा यसमा शंका गर्नुपर्ने ठाउँ नरहेको खड्काको तर्क छ। विशुद्ध नागरिकको यात्रा सुरक्षित र भरपर्दो बनाउन तथा दुर्घटना घटाउनका लागि नै चेकिङ राखिएको हो।