अपरिचित पुरुषबाट आफ्नै पतिले बलात्कार गराएपछि…!
एजेन्सी, भाद्र २९,
हालसालै फ्रान्समा एक दर्दनाक समाचारले तहल्का मच्चाएको छ। जसअनुसार ७१ वर्षका डोमिनिक पेलिकोट नामक व्यक्तिले आफ्नी पत्नी गिजेल पेलिकोटमाथि १० वर्षसम्म लगातार परपुरुषबाट बलात्कार गराएको खुलासा भएको छ। उनले पत्नीलाई लगातार लागुऔषध सेवन गराएर अचेत बनाउने गर्दथे, जसका कारण गिजेललाईआफूमाथि भएको दुष्कर्मको महसुस नै हुँदैनथ्यो। पाप धुरीबाट कराउँछ भने झैं अन्ततः यो कर्तुतको खुलासा भयो र मुद्दा अदालतसम्म पुग्यो, तर १० वर्षसम्म नारकीय जीवन बिताएकी गिजेलका दुःख त्यत्तिमा नै सकिएन। डोमिनिकले १० वर्षको अवधिमा विभिन्न ७२ जना अपरिचित पुरुषलाई घरमा बोलाएर आफ्नै पत्नी गिजेलमाथि बलात्कार गर्न लगाएका थिए। यसरी पीडित गिजेल आफ्नै लोग्नेका कारण एक दशकमा ९२ पटक बलात्कृत भइन्। गिजेलले उक्त मुद्दालाई सार्वजनिक गर्नका लागि पीडितको गोपनीयताको कानुनी अधिकारलाई समेत त्यागेकी थिइन्। नशालु पदार्थको सेवन गराएर यौन हिंसा गरिएका सबै महिलाको तर्फबाट आफूले कानुनी लडाइँ लडेको उनको भनाइ थियो। उक्त मुद्दाको पहिलो तीन दिनसम्म उनी आफ्ना वकिलहरुको माध्यमबाटै संवाद गर्दै धेरै हदसम्म मौन रहिन्, तर बिहीबार भने उनले आफ्ना पतिको भयावहता स्मरण गर्नका लागि आवाज उठाइन्। ७१ वर्षकी गिजेल पेलिकोट गत सोमबार फ्रान्सको दक्षिणी सहर एविग्ननस्थित अदालतको इजलास कक्षमा प्रवेश गरिन्। उनलाई सहयोग गर्नका लागि उनका तीनजना छोराछोरी पनि त्यहाँ आएका थिए। न्यायाधीशसमक्ष उनले भनिन्, ‘यथार्थमा भनूँ भने त्यो मेरा लागि डरलाग्दो छ। म ओछ्यानमा अचेत भई लडिरहेकी छु र ममाथि बलात्कार भइरहेको छ। बलात्कारीहरुले मलाई कुनै थोत्रो कपडाको गुडिया ठानिरहेका छन्।’ त्यस्ता अपमानजनक प्रश्नहरुको सामना गर्नुपर्दा गिजेललाई केही अप्ठेरो त लाग्यो तर उनी हिम्मत जुटाएर त्यहीँ बसिरहिन्। उनीसँग आएका उनका छोराछोरी भने आमालाई गरेका त्यस्ता प्रश्नहरु सुन्न नसकी इजलास कक्षबाट बाहिरिएका थिए। प्रतिवादीका वकिलहरुले उनीमाथि अदालतमा केही भद्दा प्रश्नसमेत गरे। एक दशकसम्म आफूमाथि बलात्कार भएको कुरा पनि थाहा नहुने कुरा कसरी सम्भव हुन्छ भन्ने उनीहरुको प्रश्न थियो। उनको विवाहेत्तर सम्बन्ध रहे–नरहेको? खुला यौन सम्बन्धमा रहे–नरहेको जस्ता प्रश्न पनि उनीमाथिन बर्साइयो। उनको पति डोमिनिक पेलिकोटले एक अनलाइन फोरमको माध्यमबाट अपरिचित पुरुषहरुलाई आफ्नी पत्नीमाथि बलात्कार गर्नका लागि भाडामा लिने गर्दथ्यो। अनि घरमै बोलाएर ती पुरुषबाट पत्नीलाई बलात्कार गराउँदै त्यसको भिडियो खिच्दथ्यो। गिजेलमाथि सन् २०११ बाट यौन हिंसा सुरु भएको थियो र त्यो १० वर्षसम्म चल्यो। सन् २०२० मा स्कर्टमुनिबाट महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले डोमिनिकलाई पक्राउ गरेपछि उसको घरमा अनुसन्धान गर्दा उसले आफ्नी पत्नीमाथि त्यस्तो अत्याचार गरिरहेको खुलासा भएको हो। कहिलेकाहीँ परपुरुषसँगै आफू पनि पत्नीमाथिको बलात्कारमा सहभागी हुन्थ्यो। त्यसरी गिजेलमाथि ९२ पटक बलात्कार भएको र त्यसका २० हजार तस्बिर तथा भिडियोहरु फेला परेको प्रहरीले जनाएको छ। ती फोटो तथा भिडियोलाई डोमिनिकले कम्प्युटरमा बदगकभ नामक फोल्डर बनाएर राखेको थियो। त्यस क्रममा प्रहरीले घरबाट कल्पनै गर्न नसकिने सबूतहरू फेला पारेको थियो। ती फोटा तथा भिडियोहरू हेरेपछि मात्रै गिजेललाई आफूमाथि वर्षौंदेखि बलात्कार भइरहेको थाहा भयो। उनीमाथि बलात्कार गर्ने ७२ मध्ये ५१ जना पुरुषको पहिचान भएको छ। उनीहरुमाथि गम्भीर अपराधमा मुद्दा दायर भएको छ।