सीआईबीमा धनराज गुरुङविरुद्ध उजुरी

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २६,

मुलुकमा सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै संसदमा प्रश्न उठेपछि कांग्रेसका उपसभापति तथा पूर्व कानुनमन्त्री धनराज गुरुङले प्रस्टीकरण दिएका छन् । मंगलबार संसदमा बोलेका गुरुङले सहकारीको मुद्दामा आफूलाई ‘आरोपित’ गरिएको जिकिर गरे । सीआईबीमा सो सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जनाविरुद्ध जाहेरी परेको छ । ब्युरो स्रोतका अनुसार ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध जाहेरी परेको छ । उनीहरुले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । तर, धनराज गुरुङविरुद्ध जाहेरी नआएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘जाहेरीमा उहाँको नाम उल्लेख छैन, अरू ५ जना प्रतिवादी छन् ।’ ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सीआईबीमा जाहेरी परेको छ । सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीमा) जाहेरी दिएका हुन् । सो जाहेरी ब्युरोमा पुगेपछि धनराजबारे टिका टिप्पणी भइरहेको छ । ब्युरोमा थापाले जाहेरी मात्रै दिएका छैनन्, त्यसबारे अनुसन्धान गर्न बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले पनि प्रहरीलाई पत्राचार गरेको छ । जाहेरीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको एसपी बोगटीले बताए । उनले भने, ‘जाहेरी दर्ता भएको अवस्था छैन, प्रारम्भिक अनुसन्धानपछि जाहेरी दर्ता गरेर थप अनुसन्धान अघि बढाउँछौँ ।’ सोमबार जाहेरी परेको समाचार सार्वजनिक भएसँगै धनराज पनि रकम हिनामिनामा संलग्न भएकोबारे बहस भइरहेको छ । उनले सोमबार साँझ नै विज्ञप्ति निकालेर प्रतिवाद गरेका थिए । रकम हिनामिनामा संलग्न ज्योति गुरुङ उनकी पूर्व पत्नी हुन् । उनीहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको भेटिएको छ । जाहेरवालाले ५ जनासँग अपचलन भएको रकमको ब्याज सहित १२ करोड ५१ लाख बिगो माग दाबी गरेका छन् । तर, उजुरी पर्नुअघि नै धनराजकी पूर्व पत्नी ज्योति फरार भइसकेकी छिन् ।

Like