Saturday, October 17, 2026
Latest:
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

आज कुशे औंसी, घर-घरमा कुश भित्र्याइँदै

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १७,

मुलुकमा प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउने गरेका छन्। आज बुवाको मुख हेर्ने दिन पनि मनाइन्छ। छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। यस दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। बुबा नहुनेले विभिन्न पवित्र स्थानमा गइ आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। आज उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गइ तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रहेको छ। सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले गोकर्ण पुगेर पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वास रहेको छ।

Like