एकको अर्कामा अपराध लुकाउने सांसदको मन्त्रीमंडल

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २३,

मुलुकमा अपराधि सांसदहरुको मन्त्रीमंडल र विपक्ष दल रहेको सरकार रहेछ भन्ने कुरा जनतालाई सरकारल्र नै थाह्ता दिंदै छ जसमा एकको अर्कामा अपराध लुकाउने सांसदको मन्त्रीमंडल रहेको छ । केही दिन अघिसम्म सत्ता सहकार्य गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच आइतबार प्रतिनिधि सभा बैठकमा घोचपेच चलेको छ । सत्ताको नेतृत्व गर्ने दिन गन्दै माओवादीसँग सत्ता गठबन्धन तोडेर प्रतिपक्षको बेञ्चमा पुगेको पहिलो दिन नै एमालेका सांसदहरू प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आलोचनामा उत्रिएका छन् । उता माओवादी केन्द्रका सांसदहरूले त्यसको प्रतिरक्षा गरेका छन् । समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछिको पहिलो संसद् बैठकमा एमाले सांसदहरूले प्रचण्डले दुई ठुला दलका काँधमा रोटेपिङ खेलेर देशलाई अस्थिर बनाइरहन खोजेको आरोप लगाए । साथै बहुमत सदस्यले समर्थन फिर्ता लिएकाले पदमा बस्ने प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठाए । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा बोलेका एमाले सांसदहरूले प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे भने माओवादीका प्रवृत्तिको आलोचना पनि गरे । यता माओवादी केन्द्रका सांसदहरूले भने एमाले सांसदहरूको भनाइको खण्डन गर्दै प्रतिउत्तर फर्काए । उनीहरूले भ्रष्ट र अनैतिक दलले नैतिकताको पाठ सिकाउन नहुने, प्रधानमन्त्री संवैधानिक व्यवस्था पालना गरेर अघि बढेको बताउँदै प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म धैर्य गरेर बस्न आग्रह गरे । माओवादीका सांसदले एमाले संलग्न भएको आरोप लाग्दै आएको गिरीबन्धु टि–स्टेटको प्रकरण पनि संसदमा उठाए । एमाले र कांग्रेसबिच अपारदर्शी ढङ्गले सत्ता गठबन्धन बनेको बताउँदै माओवादी केन्द्रका सांसदले दिनभर प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा बस्ने तर अर्को टोलीलाई कांग्रेससँग सहमतिको ड्राफ्ट बनाउन खटाउने गरेको भन्दै ओलीकै नैतिकतामाथि पनि प्रश्न गरे । संसद् बैठकको शून्य समयमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागे । प्रचण्डले बहुमत समर्थन गुमाइसकेको बताउँदै उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । उनले संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीले खेल्न खोजेको बताउँदै कुन धारा प्रयोग गर्ने भननेबारे राष्ट्रपतिको चिन्ताको विषय भएको उल्लेख गरे । संविधानमा प्रधानमन्त्रीले विश्वासको मत लिन पाउने व्यवस्था भए पनि प्रचण्डले नैतिकता गुमाइसकेको पन्तको दाबी थियो । उनले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेको त्यसको एउटा नैतिक पक्ष पनि हो । नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन तर अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् ।’ पन्तले भने, ‘लोकतन्त्र संविधान र कानुन अनुसार मात्र चल्दैन । फेरि उहाँले त कानुन नै उल्लङ्घन गर्नुभएको छ । गएको जनवरीमा भारत गएर सन्धि गरेर आउनुभयो । नेपालको ऐन अनुसार १ महिनामा त्यो सन्धि संसदमा ल्याउनुपर्ने, अहिलेसम्म ल्याउनुभएको छैन । यसरी संविधानको उल्लङ्घन गर्नुभएको छ । अहिले अल्पमतमा परिसकेपछि पनि संविधानको धारा ७६ को २ मा जान्छ कि ३ मा जान्छ, त्यो राष्ट्रपतिज्यूको चिन्ताको विषय हो । उहाँको काम बहुमत नभएपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो ।’ एमालेकै सांसद सूर्य थापाले देशमा दैवी प्रकोपका घटना भइरहेको बेला सरकार आफ्नो बहुमत गुमेको पीडामा रहेको र राहत तथा उद्धारका लागि नखटेको भन्दै आलोचना गरे । एमालेका अर्का सांसद लीलानाथ श्रेष्ठले पनि प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताए । एमालेकै अर्का सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेकाले छिटोभन्दा छिटो राजीनामा दिन माग गरे । रघुजी पन्त, लीलानाथ श्रेष्ठले प्रधानमन्त्री प्रचण्डमाथि नैतिकताको प्रश्न उठाउँदै राजीनामा माग गरेपछि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जवाफ फर्काए । उनले भ्रष्ट र अनैतिकहरूले नैतिकताको पाठ पढाउन आवश्यक नभएको बताउँदै प्रचण्ड संवैधानिक प्रक्रिया अनुसार अघि बढेको बताए । संवैधानिक व्यवस्था अनुसार नै सरकार अगाडि बढ्ने भन्दै उनले २८ गते विश्वासको मत लिने प्रक्रियासम्म पर्खिन आग्रहसमेत गरे । उनले भने, ‘सरकारलाई समर्थन दिएको राजनीतिक दलले विश्वासको मत फिर्ता लिइसकेपछि सरकारले १ महिनाभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान छ । संवैधानिक प्रावधान अनुसार नै प्रधानमन्त्रीज्यूले यही असार २८ गते विश्वासको मत लिने निर्णय गरिसक्नुभएको छ । यसै सन्दर्भमा संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो ? कसैले चाहदैमा राजीनामा आउँदैन । तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन ।’ एमालेले राम्रो मनसाय राखेर प्रचण्डलाई समर्थन गरे पनि उल्टै अविश्वासको वातावरण सिर्जना भएको दाबी गर्दै भट्टराईले माओवादी कहिले एमालेतिर र कहिले कांग्रेसतिर जाने प्रवृत्तिले देश नबन्ने प्रस्ट पारे । उनले भने, ‘राम्रो मनसायले पुष्पकमल दाहालको सरकार जाओस् भनेर नेकपा एमाले अलिकति लो प्रोफाइलमा बसेर, अलिकति तल बसेर, यो देशमा शासकीय स्थायित्व हुन्छ भने हामी अगाडि बढौँ, पुष्पकमल दाहालजीलाई यो अवसर दिऔँ भनेर नै हामीले ती तमाम निर्णय गरेका थियौँ । तर दिनहरू बित्दै जाँदा प्रधानमन्त्रीले जादुमय अङ्क भनिरहनुभएको थियो, त्यो जादुमय अङ्कले नेकपा एमालेप्रति नै अविश्वास गर्न थाल्नुभयो ।’ प्रतिनिधि सभाको विशेष समयमा बोलेका एमाले सांसद योगेश भट्टराईले नेपाली कांग्रेस र एमालेले सरकार बनाउन गरेको सहमतिलाई सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरे । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रचण्डले बोलाएर राष्ट्रिय सरकार बनाऔँ भन्ने प्रस्ताव गरेको गाइँगुइँ सुनेको उल्लेख गर्दै कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार भनेर एमालेलाई सरकारबाट बाहिर राख्ने मनसाय राखेको उल्लेख गरे । उनले गत असार १८ गते प्रचण्डले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको तर त्यो असफल भएको बताए । प्रचण्ड घोर अल्पमतमा परेको बताउँदै उनले तत्काल राजीनामा दिन आग्रह गरे । भट्टराईले भने, ‘त्यसमा पनि हामीलाई आपत्ति थिएन । हामी तयार नै छौँ तर हामीले विचार गर्‍यौँ, उहाँ फेरि कांग्रेसमा जाने र फेरि एमालेमा आउने रोटेपिङले देश कहीँ पनि जाँदैन भन्ने विचार गर्‍यौँ, उहाँको कुर्सीको आयु केही समय लम्बिन्छ र देश जहाँको त्यहीँ रहन्छ भन्ने बुझेर यो स्थितिमा कांग्रेस सभापति देउवा र हाम्रा अध्यक्षबिच कुराकानी भएर सरकार बनाउने गम्भीर निर्णय भएको छ ।’ संसदमा प्रधानमन्त्री प्रचण्डको नैतिकतामाथि एमाले सांसदले प्रश्न उठाएकै समयमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष केपी ओलीको नैतिकतामाथि प्रश्न उठाए । उनले कांग्रेस–एमालेले अपारदर्शी समझदारी गरेको भन्दै दुई दलका बिचमा भएको समझदारी आधिकारिक रूपमा अझै बाहिर नआएकोमा प्रश्नसमेत गरे । उनले एमाले सांसदहरूलाई प्रश्न गरे, ‘दिनभरि प्रधानमन्त्रीसँग बसेर स्वर्ग गए पनि, नर्क गए पनि सँगै जाऔँ भन्ने अनि ललितपुरमा सहमतिको ड्राफ्ट गर्न खटाउने यो कहाँको नैतिकता हो ? यही हो नैतिकता ?’ सांसद सापकोटाले कांग्रेस–एमालेको समीकरणले मुलुकलाई स्थिरता नदिने दाबी गर्दै राजनीतिक स्थिरता र संविधान संशोधन गर्ने भनेर कांग्रेस–एमालेले समीकरण बनाउन खोजे पनि त्यस्तो सम्भावना नभएको बताए । योगेश भट्टराईलाई जवाफ दिँदै उनले भुटानी शरणार्थी काण्डमा बेचन झा पक्राउ परेपछि कांग्रेस–एमाले बेचैन भएको बताए । प्रधानमन्त्री र गृहमन्त्री भुटानी शरणार्थीसँग सम्बन्धित फाइल फेरि खोल्न अघि बढेपछि बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएका तथ्य प्रमाणहरू विस्तार सार्वजनिक हुँदै गएपछि बेचैन भएको टिप्पणी गरे । उनले भने, ‘उहाँहरूले राजनीतिक स्थिरता दिने र संविधान संशोधन गर्ने भनेको सुनियो, संसदीय अभ्यासले ठुलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो ठुलो दल वेटिङ गभर्नमेन्ट अर्थात प्रमुख प्रतिपक्षमा बसेर भूमिका खेल्ने । तर संसदले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो । त्यसैले उहाँहरूले अहिले जे भन्नुभएको छ, यसका पछाडि स्थिरता दिने कुनै पनि गुञ्जायस देखिँदैन ।’ उनले गिरीबन्धु टि–स्टेट घोटालाको कालो धब्बा लागेकाहरूले नैतिकताको पाठ नसिकाउन आग्रह गर्दै भट्टराईलाई जवाफ फर्काए, ‘डुङ्गा प्वाल पर्ने बित्तिकै मुसा भाग्छ । साहसीहरूले त सामना गर्ने हो । गिरीबन्धुको कालो धब्बाले छोपिएर बेचन झाले बेचैन बनाएर भागदौडमा रहेकाहरूले हामीलाई नैतिकताको पाठ सिकाउने ?’ संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा छिटै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उनले बताए ।

Like