फुञ्जो झांमु लामा सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिला बनिन्

Share to:

रासंसा/गोरखा, ज्येष्ठ १०,

मुलुकमा यसअघिका सबै रेडर्क तोड्दै गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गरेकी छिन्। ८,८४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा १५ मिनेटमा पार गर्दै उनले सबैभन्दा छिटो आरोहण गर्ने महिला बन्न सफल बनेकी हुन्। यसअघि सन् २०२१ मा हङकङकी स्याङ यिन हङ(आडा)ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा गिनिजबुकमा नाम लेखाएकी थिइन्। त्यसअघि सन् २०१८ मा उनै फुञ्जो झाङ्मुले ३९ घण्टा ६ मिनेटमा आरोहण गरेर छिटो आरोहणको रेकर्ड बनाएकी थिइन्। बुधबार अपरान्ह ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेकी उनले बिहिबार बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकी छन्। बेसक्याम्पबाट बेसक्याम्पसम्म सबैभन्दा छिटो आइपुगेर अर्को रेकर्डसमेत कायम गर्ने उद्देश्यले उनी अहिले बेसक्याम्पतर्फ आउँदै गरेको उनको आरोहणको व्यवस्थापन गरेको क्लाइम्बिङ सेभेन सम्मिट ट्यागनेपाल कम्पनीले जनाएको छ। यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषका रुपमा गिनिजबुकमा रेकर्ड कायम गरेका छन्।

Like