जापानी साथले नेपाली विकासमा टेवा

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २४,

मुलुकमा नेपाल–जापान सम्बन्ध स्थापनाको करिब ६८ वर्ष भएको छ। सन् १९५६ सेप्टेम्बर १ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता जापान प्राविधिक, ऋण तथा अनुदान सहयोगमा २ सय १४ आयोजना अघि बढेका छन्। यिनमा कतिपय सम्पन्न भइसकेका छन् भने कतिपय निर्माणको चरणमा छन्। जापान सरकारको औपचारिक विकास सहायता (ओडीए) अन्तर्गत प्रदान गरिने सहयोगको कार्यान्वयन गर्ने निकाय जाइका हो। जाइकाको सन् २०२१ सम्मको तथ्यांकअनुसार जापानले नेपाललाई ८३ अर्ब जापानी येन बराबरको प्राविधिक सहयोग, १३१ अर्ब जापानी येन बराबरको ऋण सहयोग र १६४ अर्ब जापानी येन बराबरको अनुदान सहयोग दिएको छ। नेपालमा जाइकाले प्रदान गर्ने सहयोगका विभिन्न स्वरूपहरूमा ऋण लगानी, अनुदान सहायता, प्राविधिक सहयोग र स्वयंसेवक कार्यक्रमलगायत छन्। जाइकाले नेपालमा आफ्नो सहयोग ५० वर्षअघि सुुरु गरेको थियो। त्यसबेलादेखि नै जाइकाले नेपालको विकासमा बृहत्तर सहयोग गर्ने उद्देश्य राखी नेपालमा यातायात, ऊर्जा, खानेपानी तथा सरसफाइदेखि लिएर उड्डयन, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, कानुन, सुशासन र कृषि क्षेत्रसम्मका विकास प्रयासहरूमा सहयोग गर्दै आइरहेको छ। जापान सरकारको सहयोगबाट सडक पूर्वाधारको योजनादेखि पछिल्लो समयमा नागढुंगा सुरुङमार्गसम्म निर्माण भइरहेको छ। जापानका सहायतामा बनेका आयोजना गुणस्तरीय हुने गरेका छन्। कोटेश्वर–सूर्यविनायक सडकलाई हेर्दा पनि अहिलेसम्म त्यो व्यवस्थित नै देखिन्छ तर काठमाडौंका अन्य सडक हेर्ने हो भने उबलखाबड छ। यस्त, बीपी राजमार्ग पनि धेरै गुणस्तरीय आयोजना बनेको छ। जापान सरकारले बनाएका पुलहरू पनि गुणस्तरीय छन्। गुणस्तरसँगै उनीहरूका आयोजनाको फिनिसिङ पनि उत्तिकै उत्कृष्ट हुन्छ। नेपालले जापानसँग प्रविधि हस्तान्तरणको क्षेत्रमा काम गर्नुपर्छ। नेपाली निर्माण व्यवसायीहरूले पहाडी क्षेत्रमा सडक कसरी निर्माण गर्ने भन्ने पनि जापानबाट सिक्न जरुरी छ। अर्को भनेको भूकम्पीय जोखिमको दृष्टिकोणले नेपाल जस्तै जापान पनि पर्छ। जापानसँग भएको त्यो अनुभवलाई भवन निर्माणदेखि जग्गा एकीकरणसम्म नेपालले पछ्याउँदै आएको पनि छ। विशेषगरी पूर्वाधार विकासमा जापानले नेपाललाई ठूलो सहयोग गरेको छ। काठमाडौं उपत्यकामा विभिन्न सडक सुधार, चोकहरूको सुधार, पुलहरूको निर्माण, सुरुङमार्ग निर्माणलगायतमा सहयोग गर्दै आइरहेको छ। जापानबाट नेपालले सिक्नुपर्ने भनेको गुणस्तरीय पूर्वाधार निर्माण कसरी गर्ने भन्ने हो। जापानले वैदेशिक सहायता धेरै लगानी गरेको छ। तर, अहिलेसम्म जापानी लगानीकर्ताहरूले एउटा पनि लगानी गरेको छैन। जापानको निजी क्षेत्रलाई नेपाल सरकारले आकर्षित गरेको छैन। यस्तै, जापानको विशेषता भनेको थोरै जमिनमा खेती गरेर त्यहाँको आवश्यकता पूरा गरेका छन्। जापान कृषि उत्पादनमा अग्रेणी मुलुकमा नै पर्छ। नेपालमा अलिअली जुनारमा र तरकारी त्यहाँको प्रविधि प्रयोग भएको पाइन्छ। तर, जुन सम्भावना उनीहरूसँग छ, त्यसको उपयोग हामीले गर्न सकेका छैनौं। लघुउद्यमको विकासबाट नै आज जापान समृद्ध भएका हो। तर, नेपालले त्यो मोडललाई अवलम्बन गर्न सकेको छैन। यसमा ध्यान दिन सकिन्छ।

Like