इलाममा सुहाङको विजय सभामा सहभागी हुन ओली पुग्ने
रासंसा/काठमाण्डौ, बैशाख १८,
मुलुकमा इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्ने भएका छन् ।
नेकपा एमालेले मंगलबार दिउँसो इलाममा विजय सभा गर्ने भएपछि ओली इलाम जाने भएका हुन् । इलाम बजारमा दिउँसो हुने सभामा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् । नेम्वाङ २७ हजार ७७२ मतसहित इलाम २ मा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) तेस्रो हुँदा रास्वपाका मिलन लिम्बुले जमानत जोगाउन सकेनन् ।इलाम बजारको सभा सकेर नव निर्वाचित संघीय सांसद सुहाङ निर्वाचन क्षेत्रका पालिकाका मतदातालाई धन्यवाद प्रकट गर्न स्थानीय तहमा जानेछन् ।