महराको स्वास्थ्य अवस्था नाजुक भएकाले हाजिरी जमानीमा छाडिएको हो:गृहमन्त्री

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १०,

मुलुकका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताएका छन्। बिरामी भएर ८/१० वटा औषधि दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणा भाव देखाएर हाजिरी जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने जिकिर समेत गरे। सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जमानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले यस्तो स्पष्टीकरण दिएका हुन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा उनलाई अनुसन्धानका लागि उपस्थित गराउने सक्ने गरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न पनि सबैलाई आग्रह गरे। ‘हो कहिलेकाहीँ मानवीय समवेदना र करुणाका कुराहरू छाउँछन्। कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरू आइरहेका छन्। ८/१० वटा औषधि सेवन गरिरहनुभएको छ। अत्यन्त धेरै बिरामी हुनुहुन्छ। सम्मानित अदालतले पनि विरामी हुनुभएको कुरालाई इङ्गित गरेको छ। र कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउन भएको छ। राज्य निर्मम पछि हुन्छ, कठोर पनि हुन्छ। तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ। त्यसैले अत्यन्त धेरै बिरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन। भनेको बेला, चाहेको बेलामा उपस्थित हुने गरी हाजिरी जमानीमा उहाँ हुनुहुन्छ। अदालतले समेत भनिसकेको छ कि उहाँको स्वास्थ्य अवस्था कमजोर छ। त्यसकारण यसलाई पनि लिएर अनेक टीकाटिप्पणी भएको हामीले सुनेका छौं। दोषी कोही पनि उम्कँदैनन्, निर्दोष कोही पनि फस्दैनन्। निर्धक्क हुनुहोला। नआत्तिनु होला, धैर्य गर्नुहोला। मैले अघि भनेजस्तै माछा ठूलो होस्, चिप्लो होस, बाठो होस, जस्तोसुकै होस। उम्कँदैन। माछा उम्केको एक मिनेटमा पदबाट राजीनामा दिएर आउँछु।’

Like