क्षयरोगी इँटाभटामा खोज्दै स्वास्थ्यकर्मी टोली

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १०,

मुलुकमा नेपाललाई सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने सरकारी योजना छ। सोही योजनाअनुरुप भक्तपुरको एक स्वास्थ्य टोली क्षयरोगीको खोजपड्ताल गर्न इँटाभटा पुगेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जेको संयोजनमा चाँंगुनारायण नगरपालिका ४ झौखेलस्थित चाँंगुनारायण इँटाभटामा टोली पुगेको हो। जिल्ला स्वास्थ्य कार्यालयका उपप्रमुख शान्तिराम खतिवडाले धुवाँधुलोमा काम गर्ने अनि घनाबस्तीमा क्षयरोगी हुने भएकाले इँटाभटामा आफूहरू पुगेको बताए। विश्व क्षयरोग दिवसका अवसरमा क्षयरोगको सक्रिय खोजपड्ताल कार्यक्रमअन्तर्गत एक दर्जन बढीको टोली इँटाभटा पुगेको उनले देखाए। ‘जहाँं गरिबी हुन्छ, त्यहाँं क्षयरोगी हुन्छन्’, जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग सम्पर्क व्यक्ति भोला पौडेलले भने, ‘त्यही भएर हामी इँटाभटामा आएका हौं।’ इँटाभटा उद्योगमा काम गर्न विभिन्न जिल्लाका गरिब तथा मजदुर आउने गर्दछन्। उनीहरू धुवाँधुलोमा बसेर इँटा बनाउने, ओसार्ने, पोल्नेलगायतका काममा संलग्न हुन्छन्।
क्षयरोगीमा लक्षण नदेखिए पनि क्षयरोग हुन सक्ने उनले जनाए। उनका अनुसार सामान्य मानिसमा पनि ५० प्रतिशतमा क्षयरोगका किटाणु हुन्छन्। जब रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ तब किटाणुले आक्रमण सुरु गर्ने उनले जनाए। टोलीले इँटाभटामा पुगेर सयजना मजदुरको खकार संकलन गरेको थियो। यसअघि टोलीले मजदुरहरू भेला गरी क्षयरोगबारे जानकारी दिएको थियो। स्वस्थ मानिसलाई पनि क्षयरोग लागेको हुन सक्ने भन्दै टोलीले सबैलाई क्षयरोग परीक्षणको महत्व बुझाएका थिए। ‘धेरै क्षयरोगी हुन सक्ने क्षेत्रहरू जस्तै– गरिब, सुकुम्बासी बस्ती, श्रम क्षेत्र, वृद्धबृद्धा बस्ने क्षेत्रमा गएर जाँच गर्नुपर्छ’, उनले भने, ‘क्षयरोगले धनी र गरिब नभने पनि यो विपन्न, गरिब र राम्ररी खानपान गर्न नपाउने कमजोर व्यक्तिलाई लाग्ने भएकाले यस्ता बस्तीमा पुगेर जाँच गर्न हामी आएका हौं।’ चाँंगुनारायण नगरपालिका स्वास्थ्य प्रमुख सत्यकुमार दुवालले नगरमा एक सय ९७ जना क्षयरोगका बिरामी रहेको सुनाए। खकार परीक्षणको नतिजा एकदुई दिनमै आउने छ। रोग देखिएमा औषधोपचार सुरु गरिने दुवाल बताउँछन्। रोगीले रोग लुकाउनुका साथै धेरै क्षयरोगीको पहिचान हुन बाँंकी छ। तथापि सन् २०१६ देखि अभियानकै रुपमा सञ्चालन भइरहेको अभियान सन् २०५० सम्म सञ्चालन हुने छ। अभियानमार्फत देशलाई क्षयरोगीमुक्त बनाउने सरकारी योजना छ। चालु आर्थिक वर्षको साउनयता भक्तपुरमा चार सय १० जना नयाँं क्षयरोगी पता लागेको स्वास्थ्य कार्यालयले जनाएको छ। क्षयरोगीको खोज्ने कार्य निरन्तर अगाडि बढाउने योजना रहेको र यो वर्ष एक हजार ७० जना पत्ता लगाउने कार्यालयको लक्ष्य रहेको छ। क्षयरोगका कारण नेपालमा बर्सेनि १७ हजारको मृत्यु हुने गरेको तथ्यांक छ। संसारमै क्षयरोग छैटौं खतरनाक रोग हो। क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण लाग्ने रोग हो। श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सरजस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ। जर्मन चिकित्सक रवर्ट कुकले सन् १८८२ मार्च २४ मा क्षयरोग अर्थात् टीबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिएको हो। दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र ठिमी तथा देशैभर क्षयरोग निवारणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका सरकारी तथा गैरसरकारी संस्थाहरूले विविध कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाएका छन्। विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभर करिब ९९ लाख मानिस क्षयरोगबाट पीडित भएको जनाइएको छ, जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका छन्। नियमित औषधी सेवन गरेमा क्षयरोग निको हुन्छ।

Like