प्रदोष व्रत, विश्व पानी दिवस
रासंसा/काठमाण्डौ, चैत्र ०९,
प्रदोष व्रत
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ। पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने । प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
विश्व पानी दिवस
सबै जीवित प्राणीहरूको उत्पत्ति जल मा भएको भन्ने तथ्य निर्विवाद छ । अब त वैज्ञानिकहरूले यस ग्रहमा मात्र नभई अन्य ग्रहहरूमा पनि पानीको खोजी गर्न थालेका छन् । पानी बिना जीवन सम्भव छैन, यसर्थ पानी भएको ग्रहमा जीवनको सम्भावना खोजी गरिएको हो । हाम्रो आफ्नै ग्रहमा पनि हरेक संस्कृति र सभ्यता खोला किनारमा नै विकास भएको हो । पानी छैन त जिन्दगानी छैन, यस अद्भुत पानीको मानव जीवनसँगको अटुट नातालाई आत्मसाथ गर्दै आज मार्च २२ तारिखका दिन विश्व समुदायले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै छ । सन् १९९३ देखि यस दिवसको क्रम सुरु भएको हो । विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ यस दिवसको रूपरेखा तयार पारिएको हो । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको जल दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ मा प्रथम विश्व जल दिवस मनाइयो । यो विश्व पानी दिवस पानी र सरसफाइ सङ्कट समाधान गर्न को लागी परिवर्तन को गति को बारे मा केन्द्रित छ । पानी नै बहुराष्ट्रिय विवाद र वैमनस्यताको जड भइरहेको अवस्थामा वर्ष २०२४ को नारा नै Water for Peace अर्थात् शान्तिका लागि पानी भन्ने रहेको छ ।अहिले, हामी दिगो विकास लक्ष्य एसडिजी ६ अनुरूप सबैका लागि पानी र सरसफाइ पूरा गर्न गम्भीर रूपमा चुकिरहेको अवस्थामा छौँ।आज पनि विश्वभरिका अरबौँ मानिसहरू र अनगिन्ती स्कुलहरू, व्यवसायहरू, स्वास्थ्य सेवा केन्द्रहरू, फार्महरू र कारखानाहरूमा उनीहरूलाई आवश्यक पर्ने सुरक्षित पानी र शौचालयहरू को सुविधाबाट वञ्चित छन् । यसरी संस्कृति र सभ्यताको रक्षा गर्ने अनि जीवनलाई सार्थक तुल्याउने पानीको सहज र सुलभ उपलब्धता अनि यसको सुरक्षित र मितव्ययी प्रयोगका कुराहरू जल दिवसमा गरिन्छ । पानी र इन्धन निकट रुपमा अन्र्तसम्बन्धीत छन् , पानी घट्ट देखि ठूलाठूला जलविद्युतसम्म पानीको शक्तिले चलायमान छन् । अर्को तर्फ संसारको कुल इन्धनको ८ प्रतिशत इन्धन खपत भने उपभोक्तासमक्ष शुद्ध पिउने पानीलाई पम्प गर्दै विभिन्न पाइप र नलका माध्यम वाट पूर्याउन लाग्ने रहेछ । २१सौँ शताब्दीको सँघार सम्म आइपुग्दा पनि शुद्ध पिउने पानीको समान वितरण संसारको लागी ठुलो चुनौती नै रहेको छ । संसारको दोस्रो जलश्रोतको धनी देश भनी नाम कहलिएको नेपाल अनि जलश्रोतसँगै लुटपुटिएर हुर्केका नेपालीहरू आफ्ना जलका सिर्काहरू प्रति कत्तिका वफादार हुन सकेका छौ, जनता देखि सदनसम्मले पछाडि फर्केर हेर्न पनि जरुरी छ । हाम्रा कुवा, पँधेरो, पोखरीहरू आदि धेरै पानीका मुहानहरू आज घना बस्तीहरूमा परिणत भइसकेका छन् । बढ्दो सहरीकरणले पानीको श्रोत र शुद्धता दुवै कुराहरूलाई चुनौती गरिरहेका छन् । आजका दिन यी कुराहरू र तथ्यहरूलाई विश्लेषण गरिन्छ । विश्वमा हुने रोगहरुमध्य सर्वाधिक धेरै रोग सफा पिउने पानी उपलब्ध नहुनाले भएको पाइन्छ । जानौँ, बुझौँ र सचेत रहौँ । पानी दिवसको मूल मर्म अनुरूप हाम्रो व्यवहार होस् । पर्यावरण, कृषि, स्वास्थ्य र शिक्षा सबैतर्फ जल संरक्षणका आवाजहरू आउन्, जल वाट हुने प्राकृतिक विपत्तिहरू जस्तै बाढी, पहिरो लगायत अन्य कुराहरू घट्दै जाउन् । पानी हाम्रो जीवन हो र शुद्ध पिउने पानी हाम्रो अधिकार र कर्तव्य दुवै ।