आज आमलकी एकादशी, विश्व मुख स्वास्थ्य दिवस, अन्तर्राष्ट्रिय खुशी दिवस
रासंसा/काठमाण्डौ, चैत्र ७,

डा. के. बि. सम्राट
आमलकी एकादशी व्रत
भगवान् विष्णुलाई समेत अत्यधिक प्रिय लाग्ने अमला खाँदा तीन गुणा धेरै शुभ फल प्राप्ति हुने शास्त्रीय भनाई छ । खासमा स्वर्ग र मोक्ष फलका लागि आमलकी एकादशीको व्रत बस्नु उचित मानिएको छ । आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरू नाश हुने धार्मिक विश्वास छ । यो एकादशी व्रत गर्नाले एक सय गाई दान गरेसरह फल प्राप्त हुने बताइएको छ । भगवान् विष्णुको मुखबाट उत्पत्ति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । विभिन्न कारणले आमलकी एकादशीको व्रत बस्न नसकेका व्यक्तिहरूले यस एकादशीको स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुनेछ । महाशिवरात्रि र होलीको बिच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् विष्णुको रूप सम्झेर पूजा गरिन्छ । त्यही भएर हिन्दु परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशी झैँ विशेष महत्त्व छ ।आमलकी अर्थात् अमला, त्रिफला जडीको मुख्य फल अनि शास्त्रले असाध्यै चर्चा गर्ने यो अमृत समान फलको चर्चाबाटै आजको शब्द माला प्रारम्भ गरौँ ।
त्यही बेलादेखि अमलालाई विष्णु अवतार सम्झिएर धार्मिक कार्यमा समेत चलाउने गरी पवित्र फलका रूपमा स्वीकार गरियो । यही कारण पूजादि कार्यमा अमलाको पात, हाँगा र फललाई प्रयोग गरिँदै आएको हो । पवित्र फल अमलालाई जटिबुटी औषधीका रूपमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा त्रिफलामध्येको एक महत्त्वपूर्ण फल अमला हो । यसको नियमित सेवनले शरीरका धेरै विकारहरू नाश हुने भनाई छ ।
राजा मान्धाता र वशिष्ठ मुनीको संवादमा पनि यो एकादशीको वर्णन सुन्न पाइन्छ । वशिष्ठ मुनीको प्रेरणाबाट अनि जानकारीबाट आमलकी एकादशीको महत्त्व चाल पाएर राजा मन्धाताले निरन्तर रूपमा यो एकादशीको व्रत लिन थालेको पाइन्छ । विष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् विष्णुले थुक्ने क्रममा उहाँको दिव्य मुखभित्रबाट चन्द्रमा झैँ देखिने एउटा आकृति प्रकट भयो । उक्त चन्द्रविन्दु आकाश लोक हुँदै पृथ्वीमा झर्यो । पृथ्वीमा झरेको उक्त वस्तु बीज छेदन भई आमलक अर्थात् अमलाको बिरुवाका रूपमा पलायो र पछि रुखको रूप धारण भयो ।
जसरी भगवानमा विष्णु पूजनीय छन्, त्यसै गरी फलहरूमा अमला पवित्र र पूजनीय मानिएको छ । विष्णुले जब सृष्टिको रचनाका लागि ब्रह्मालाई पुकारा गर्नुभयो, त्यही बेला अमलाको रुखको उत्पत्ति भएको मानिन्छ । भगवान् विष्णु स्वयंले पनि अमलालाई आदि वृक्षका रूपमा प्रतिष्ठापित गर्नु भएको धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।
एकादशी महात्म्य अनुसार, एक नगरका सबै बासिन्दाहरू भगवान् विष्णुका भक्त थिए । उनीहरू सबैले हरेक एकादशी व्रतको नियमित पालना गर्दथे । एक पटक आमलकी एकादशीकै दिनमा सबै जना व्रत बसी मन्दिरमा जाग्राममा थिए । रातिको समय भएकाले एउटा धेरै हिंस्रक र असहिष्णु भोको सिकारी पनि सिकार खोज्दै खोज्दै त्यहाँ आइपुग्यो । सिकारीले मन्दिरमा पर्याप्त खानेकुरा देख्यो, तर धेरै मानिस भएका कारण उसले भोजन चोरेर भए पनि खाने सोच गर्यो, तर सकेन ।
उसले भोजनकै लागि भए पनि त्यो रात विष्णुका भक्तहरूसँगै जागै बस्ने निर्णय गर्यो । भोलिपल्ट बिहान भएपछि सिकारीसहित सबै भक्तजनहरू आ–आफ्नो घर फर्किए । समय बित्दै जाँदा सिकारीको अचानक मृत्यु भयो । तर सिकारीले नजानीकनै भए पनि आमलकी एकादशीको व्रत गरेको थियो । त्यही भएर मरे पनि सबै पापहरू नास भई उक्त सिकारीलाई पुण्य प्राप्त हुन गयो । उसको पुनर्जन्म एउटा राजकीय खानदानमा भयो ।
त्यस जन्ममा उक्त सिकारीको नाम राजा चित्र सेन रहन गयो । ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णुभक्त राज सदस्यका रूपमा देखापर्यो । दान धर्मवादी कार्यमा उसको तीव्र रुचि देखियो । समय बित्दै जाँदा उ राजपरिवारको सदस्यका नाताले सिकार खेल्न गयो, तर उ डाँकाहरूको चङ्गुलमा पर्यो । हातहतियारसहितका डाँकाहरूले उसलाई मार्ने तयारी गर्न थाले । उसलाई विभिन्न हतियारले डाँकाहरूले प्रहार गर्न थाले । तर कुनै पनि हतियारले उसलाई केही चोट पुर्याउन सकेन । अझ शस्त्रहरू प्रहार गर्न थाले, तर डाँकाहरूको प्रहारबाट आफूमा कुनै असर नपरेपछि उसलाई अचम्म लाग्यो । अझ पछि त डाँकाहरू उसलाई आक्रमण गर्न छाडेर आफू आफूमै झगडा र आक्रमण गर्न थाले । त्यही बेला एक अलौकिक शक्ति प्रकट भयो । उक्त शक्तिका कारण सबै डाकाको मृत्यु भयो । उसले अलौकिक शक्तिसँग सोध्यो, मेरो रक्षा गर्ने को हो ? जवाफ मिल्यो, पुर्वजन्मको आमलकी एकादशी व्रतको प्रभावले तिम्रो रक्षा भगवान् विष्णुले गर्नुभयो भन्दै आकाशवाणी भयो । यस्तो सुनेर उ सारै विष्णु भगवान्प्रति झन् धेरै कृतज्ञ बन्यो । सदा लागि विष्णुभक्त भई समर्पित बनेको पौराणिक कथा छ । पछि आएर राजा चित्र सेनले आफ्ना समस्त प्रजाहरूलाई आमलकी एकादशीको कथा बताए । हजारौँ वर्षदेखि सुन्दै सुनाउँदै आएको आमलकी एकादशीको यो व्रत कथासँगै आजका लागि शव्दमालालाई यहीँ विसर्जन गर्दछु ।
विश्व मुख स्वास्थ्य दिवस
विश्वको जनसङ्ख्याको ९० प्रतिशत मानिसहरू आफ्नो जीवनकालमा मौखिक रोगहरूबाट ग्रस्त हुने गरेको पाइन्छ । यी मध्य धेरै जसो मुख सम्बन्धी रोगहरूलाई रोक्न सकिने भए पनि उचित उपचार र जनचेतनाको अभावमा मुख स्वास्थ्यका समस्याहरू अझै विद्यमान छन् । एफडीआई अर्थात् वर्ल्ड डेन्टल फेडेरेसनद्वारा आयोजित, विश्व मुख स्वास्थ्य दिवसमा विश्वभरका राष्ट्रिय दन्त सङ्घहरूले १३० भन्दा बढी देशहरूमा अभियानहरू सञ्चालन गर्दछन् । यस दिवस सन् २०१३ वाट मनाउन थालिएको हो । हरेक वर्ष २० मार्चमा, हामी विश्वलाई एकजुट भएर मुख सम्बन्धी रोगहरूको बोझ कम गर्न मद्दत गर्दे विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । यस दिनको उद्देश्य मुखको स्वास्थ्य सुरक्षित गर्न ज्ञान, उपकरण र आत्मविश्वासका साथ मानिसहरूलाई सशक्त बनाउनु हो । मुख स्वास्थ्यलाई उमेरले फरक पार्दैन । हरेक उमेर समुहकाहरुले आफ्नो मुख स्वास्थ्यको कदर र ख्याल गर्नुपर्छ। मुस्कानको जीवनभरको लागि आफ्नो मुखमा गर्व गर्न विश्व मुख स्वास्थ्य दिवसमा विश्व समुदायसँग संलग्न हौँ । वर्ष २०२४ मा मुख स्वास्थ्य दिवसको नारा चाहिँ A Happy Mouth Is A Happy Body अर्थात् एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो भन्ने अर्थ लाग्दछ । आज विश्वभरि #MouthProud #WOHD24 ह्याशट्याग गरेर आफ्नो मुख र मुस्कान देखिने गरी भिडियो र सेल्फीहरु अपलोड च्यालेन्ज पनि गरिएको छ ।
अन्तर्राष्ट्रिय खुसी दिवस
सन् २०११ मा, संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गर्दै खुसी लाई आधारभूत मानव लक्ष्य बनायो र खुसीलाई आर्थिक अवसर जत्तिकै प्राथमिकता दिने आव्हान पनि गर्यो । दुई वर्ष पछि सन् २०१३ मा, संयुक्त राष्ट्रका सबै १९३ सदस्य राष्ट्रहरूले विश्वको पहिलो अन्तर्राष्ट्रिय खुसी दिवस मनाए, र यो निरन्तर हरेक वर्षको मार्च २० मा आयोजना हुँदै आइरहेको छ । मार्च २० तारिख संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय खुसी दिवस हो। हामी एक सरल, दैनिक अभ्यास अपनाएर सँगै खुसी र दयालु संसार बनाउन सक्छौँ भन्ने विश्वासका साथ खुसी दिवस मनाइने गरिएको पाइन्छ । यस दिवसले हामीलाई खुसी हुन पाउनु पनि आधारभूत मानव अधिकार हो र खुसी हुनु जरुरी छ भनेर याद दिलाउँछ ।
मार्च २०२२ मा अन्तर्राष्ट्रिय खुसी दिवस अघि जारी गरिएको उक्त वर्षको विश्व खुसी प्रतिवेदन २०२२ को १० औँ संस्करणमा नेपाल ८४ औँ स्थानमा छ। लगातार पाँचौँ वर्ष, फिनल्यान्ड विश्वको सबैभन्दा खुसीको रूपमा शीर्ष स्थानमा रहेको छ ।
खुसी रैंकिंग विश्व खुसी रिपोर्ट को एउटा पाटो हो। देशको स्कोर एक सर्वेक्षणमा आधारित हुन्छ जसमा सहभागीहरूले आफ्नो वर्तमान जीवनको गुणस्तरलाई शून्य देखि १० को स्केलमा मूल्याङ्कन गरेका थिए । खुसी हुन सिकौँ र खुसी बनाऔँ ।
