एक सय २६ दिनपछि अनशन तोडियो

Share to:

रासंसा/सप्तरी, फाल्गुण ०६,

मुलुकमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावित निर्माणस्थलमा विगत १ सय २६ दिनदेखि जारी अनिश्चितकालीन रिले अनशन शुक्रबार तोडिएको छ । अलपत्र परेको प्रतिष्ठानको निर्माण कार्य यथाशीघ्र सुरु गर्नुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पद पूर्ति गर्नुपर्ने, आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने लगायतका प्रमुख माग अघि सार्दै संघर्ष समितिको अगुवाइमा विगत लामो समयदेखि रिले अनशन गरिँदै आएको थियो । शिलान्यास भएको ३१ महिना बितिसक्दा पनि प्रतिष्ठानको काम हालसम्म अघि बढ्न नसकेको भन्दै स्थानीयवासीद्वारा गठित संघर्ष समितिको अगुवाइमा गत २६ असोजदेखि रिले अनशन थालिएको थियो । अनशनकारीको माग सम्बोधन गर्ने क्रममा सरकारले नौ दिनअघि मात्र प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. परशुराम मिश्रलाई नियुक्त गरेको थियो । अघिल्लो दिन मात्र पदभार ग्रहण गरेका डा. मिश्रले अनशनस्थलमा पुगी अनशनकारीसँग वार्ता र छलफल गरी अनशन तोडाएका हुन् । सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रतिष्ठानका अध्यक्ष डा. मिश्रले प्रतिष्ठानको काम अब छिट्टै अघि बढ्ने बताए । ‘भर्खर जिम्मेवारी सम्हालेको छु,’ उनले भने, ‘अब निर्माण कार्य सुरु गर्न लागिपर्नेछौं ।’ सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत पनि उपस्थित थिए । डा. मिश्रबाट केही दिनभित्रै प्रतिष्ठान निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता आएपछि अनशन तोडिएको संघर्ष समितिका संयोजक रामकुमार दासले बताए । उनले प्रतिबद्धतानुसारको काम अघि नबढे पुनः आन्दोलनमा उत्रिने जानकारीसमेत गराए । एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने सरकारको नीतिनुसार १६ पुस २०७५ को मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको राजविराजमा गणतन्त्रवादी नेता स्वर्गीय रामराजाप्रसाद सिंहका नाममा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागि २१ जेठ २०७८ को मन्त्रिपरिषद् बैठकले राजविराज नगरपालिका–१० बिरोलमा ६२ बिघा जग्गा उपलब्ध गराउने निर्णयसमेत गरेको थियो । जग्गाको टुंगो लागेपछि २२ असार २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठान भवन निर्माणको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । शिलान्यास गरेको ३१ महिना बितिसक्दा पनि निर्माण कार्य सुरु नभएपछि स्थानीयवासी आन्दोलनमा उत्रेका थिए ।

Like