नवराजसहित ६ युवाको हत्या ‘हुल बाँधेर लखेटेरै भएको हो’ जिल्ला अदालत रुकुमको ठहर

Share to:

रासंसा/रुकुम, माघ २८,

मुलुकमा जातीय विभेदका कारण गाउँलेले हुल बाँधी लखेटेरै रुकुम पश्चिमको सोती गाउँमा ६ जना युवाको ज्यान गएको रुकुम जिल्ला अदालतले ठहर गरेको छ। प्रतिवादीहरूले एक आपसमा गुट बनाई संयुक्त रुपमा वारदात घटाएको अदालतले भनेको छ। समुहमा बसेर एकले अर्कालाई उकासेर, हौसाएर हात हाल्नु सबै सजायको भागीदार हुनुपर्ने अदालतको ठहर छ। न्यायाधीश खडकबहादुर केसीले गत मंसिर १९ मा गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै हुल बाँधी बाटो छेकेर घेरा हाली युवाहरूलाई मारेको ठहर गरेको हो। घटना २०७७ जेठ १० मा भएको थियो। जातीय नरसंहारका रूपमा लिइएको त्यस दिनको घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विकसहित ६ जनाको ज्यान गएको थियो। ‘कसले बढी कुट्यो, कसले कम, कसको प्रहार घातक भयो, कुनै कसैले कुटेन जस्ता तथ्यमा जानुभन्दा पनि ज्यान लिने अथवा सामूहिक कुटपिट गर्ने मनसायले समुहमा बसी एक अर्कालाई उकासी हौसाएर हात हालेर कुटपिट गरेमा सबै प्रतिवादी समान रुपमा सहभागी भएको मानिने र समान सजायको भागीदार हुने’ अदालतले फैसलामा भनेको छ। जिल्ला अदालतले सर्वोच्च अदालतले यस अघिको मुद्दामा भएको नजिर पनि उल्लेख गरेको छ। ‘हुल बाँधी लखेट्दै हान्दै नवराज बिक, गणेश बुढा, सन्जु बिक, लोकेन्द्र सुनार, टिकाराम नेपाली र गोबिन्द शाहीलाई भेरी नदीको भंगालोसमेत पु¥याई कुटपिट गरेको अदालतको ठहर छ। ‘हुल बाँधी थुनछेक गर्दै बाटो छेक्दै घेरा हाली मृतक नवराज विकसमेतलाई भेरी नदीको भंगालो समेतमा पु¥याई कसैले माथिबाट ढुङ्गा हान्ने कसैले नदीको भंगालोमा पुगी हानी नदीमा बगाई दिएको’, अदालतले भनेको छ, ‘परिणाम स्वरूप नवराज बिक, गणेश बुढा, सन्जु बिक, लोकेन्द्र सुनार, टिकाराम नेपाली र गोबिन्द शाही मृत्यु भएको देखिन्छ।’ सामूहिक सक्रियताका कारण मृतकहरूलाई कर्तव्य गरी मारेको पुष्टि भएको निक्र्यौल गरेको हो। युवाहरूलाई लखेट्दै अपहरण गरी बन्धक बनाई बाँधी मारी नदीमा बगाई दिएको भन्ने विषयमा स्पष्ट भएको छ । कुटपिटबाट नै मृत्यु भएको नवराज बिकको शव परीक्षण प्रतिवेदनमा पनि उल्लेख छ। नवराज बिकलाई अमर्यादित भाषा बोल्दै ‘फेरि किन आइस ? आज त मर्छस् भनी होच्याई असामाजिक व्यवहार गरी परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ ९१० मार्फत फोन गरी बोलाई उक्त वारदात घटाएको तथ्य मिसिल संलग्न टेलिफोन कल विवरणबाट समेत देखिएको’ उल्लेख छ। बाटो छेकी कुटपिट गर्दै भेरी नदीमा पु¥याई बाध्यतावश नदी पार गर्न खोज्ने क्रममासमेत ढुङ्गा मुढा गरेबाट सोही चोट प्रहारबाट निजहरू पानीमा परी डुबी नदीले बगाएपछि निजहरूको मृत्यु भएको लास जाँच मुचुल्का समेतबाट स्पष्ट खुलेको उल्लेख छ। ‘मृतकहरूलाई कुटपिट गरी भेरी नदीमा बगाएको र सोही कारण मृतकहरूको मृत्यु भएको परिणामको कुनै घटना घटेको’ फैसलामा भनिएको छ। २०७७ जेठ ११ मा रुकुमको जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका १९ वर्षीय नवराज विकसहित ६ जना युवाको हत्या भएको थियो। नवराज बिक लगायत ६ जनाको हत्या भएपछि ३९ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत मुद्दा जिल्ला अदालत रुकुममा दर्ता भएको थियो। अदालतले केहीलाई जन्मकैद, केहीलाई धरौटीमा रिहा र केहीलाई सफाइ दिएको थियो।

Like