सयौं नेपाली रुसी सेनामा भर्ती भएका सम्पर्कविहीन
रासंसा/काठमाण्डौ, माघ २२,
मुलुकका रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालबाट रुस गएका नेपालीहरू दुई महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका आफन्तले रुस दूतावासमा परिवारको अवस्था जानकारी मागेका छन् । साथै, आफन्तले रुसमा भर्ती भई सम्पर्कमा रहेका नेपालीहरुसँग पनि सोधखोज गरिरहेका पाइएको छ । रुस–युक्रनको सीमा नाकामा दैनिकजसो हुने युद्धमा हताहतीको खबर आइरहेका बेला नेपालमा रहेका परिवारका सदस्यले सम्पर्कविहीन भएकाहरूको खोजी गरेका हुन् । हालसम्म आधिकारिक रूपमा नेपालबाट कति नेपाली रुस गएका छन् भन्ने यकिन तथ्यांक नभए पनि ४ हजारबढी नेपाली रुसी सेनामा भर्ती भएको अनुमान गरिएको छ । सरकारले पटक–पटक रुसलाई पत्राचार गरेर नेपालीलाई रुसी सेनामा भर्ना नगर्न आग्रह गरे पनि दैनिकजसो नेपाली सम्पर्कविहीन भएका खबर आइरहेका छन् । विशेषगरी, युद्धमा मोबाइल ‘एल्लो जोन’मा राखेर जाँदा अहिले धेरै नेपाली सम्पर्कविहीन अवस्थामा रहेको रुसी सेनामा कार्यरत नेपाली डायमन्ड सी म्यग्देलीले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका ७० जनाको परिवारले अवस्था पत्ता लगाइदिन आग्रह गरेको बताएका छन् । नेपालबाट रुसी सेनामा भर्ती हुन गएकामध्ये १४ जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेको छ । साथै ३० भन्दा बढी घाइते भएको रुसबाट फर्किएर आएका एक घाइतेले राजधानीसँग बताए । युक्रेनी सेनाको आक्रमणमा परेर दुई गोली लागेर घाइते भएका ती नेपाली हाल उपचार गराइरहेका छन् । नेपालसहित १५ मुलुकका नागरिक भर्ना भएको नाम नबताउने सर्तमा ती नेपालीले बताए । ‘हामीलाई रुसका ’boutमा कुनै पनि जानकारी बाहिर नदिनु भनेर भनिएको छ,’ उनले भने, ‘यस कारण पनि बाहिर सामाजिक सञ्जाल र अन्य माध्यमबाट हामी टाढा रहेका हौं ।’ ती घाइते नेपालीका अनुसार भाषा समन्वयका कारण पनि नेपालीलगायत अन्य मुलुकका नागरिकको बढी हताहती भएको हो । ‘हामीहरू धेरै मुलुकका छौं, देश अनुसारका भाषा फरक भएपछि एकले अर्कोको भाषा नबुझिने समस्या छ भने कतिपय मुलुकका नागरिकले अंग्रेजी पनि नबुझ्ने अवस्था छ,’ उनले भने, ‘युद्धमा जाँदा रुसी सेनाले आफ्नो भाषामा बोल्दा अघि जाने कि पछि हट्ने अन्योलबीच युद्धमा जाँदा क्ष्ति हुने गरेको छ ।’ केही दिनअघि रुसी सेनामा भर्ती भएका म्याग्दीका डायमन्ड सीलाई नेपालमा रहेका आफन्तले आफ्नो छोराको अवस्था बुझिदिन भनेपछि सामाजिक सञ्जालमार्फत् उनले युद्धमा हुने सम्भावित अवस्था’bout बताएका छन् । उनले नेपालमा रहेका आफन्तलाई सान्त्वना दिँदै बंकरमा ड्युटी पर्नेहरू तीन महिनासम्म फोन तथा इन्टरनेटको पहुँचमा नहुने भएकाले नआत्तिन आग्रह गरेका छन् । ‘कतिपय जंगल इलाकामा बंकरमा ड्युटी पर्नेहरू रिप्लेस नहुँदासम्म दुईदेखि तीन महिना फोन तथा इन्टरनेटको पहुँचमा हुँदैनन्, मोबाइल लैजान पाइँदैन, मोबाइल एलो जोनमा छाडेर जानुपर्छ,’ म्याग्देलीले भनेका छन्, ‘रिप्लेस भएर फर्केपछि मात्रै फेरि सम्पर्कमा जोडिने अवस्था हुन्छ, तसर्थ नआत्तिनुहोला, वारमा जानेको हकमा चाहिँ बढीमा एक महिना सम्पर्कविहीन भयो भने घाइते तथा अपांग, हताहती वा दुस्मनको कब्जामासमेत पर्नसक्ने अवस्था हुन्छ ।’ ‘रुसी सेनामा आबद्ध भएर दुई–तीन महिनादेखि सम्पर्कमा नरहेका नेपाली दाजुभाइका ७० भन्दा बढी परिवारजनले आफ्नो मान्छेको अवस्था’bout केही बुझिदिनुप¥यो भनेर फोटो, डकुमेन्ट, म्यासेज पठाइरहनुभएको छ,’ रुसी सेनामा कार्यरत नेपाली डाइमन्ड सी म्याग्देलीले आफ्नो फेसबुक पेजमा लेखेका छन् । उनले रुसी सेनामा भर्ती भई केही महिनादेखि सम्पर्कविहीन बनेका नेपालीका परिवारलाई नआत्तिन आग्रह गरेका छन् । रुसी सेनामा दैनिक नेपालीहरू भर्ना हुनेक्रम र सम्पर्कविहीन हुनेको संख्या बढिरहँदा सरकार मूकदर्शकजस्तै बनेको छ । सरकारले आफ्नो तर्फबाट नेपालीहरूलाई रुसी सेनामा भर्ना नगर्न पटक–पटक पत्राचार पनि ग¥यो । तर, रुसले न कूटनीतिक नोटको जवाफ पठायो, न भर्ना गर्न नै छाड्यो । एकपछि अर्को घटनाका शृंखला दोहोरिरहेका छन् । युगान्डाको राजधानी कम्पालामा माघ पहिलो साता भएको असंलग्न आन्दोलन अभियानको १९औं शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वसिलिइविचसँग भेटवार्ता गरेका थिए । नेपालका दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध हाल सन्तुलन भए पनि रुससँग समन्वय गर्न नसक्दा आफ्नो मुलुकका मृतक नागरिकको लाससमेत ल्याउन नसक्ने अवस्था भएको छ । पछिल्लो समय परराष्ट्रमन्त्री एनपी साउदले रुस भ्रमणका लागि आग्रह गर्दासमेत उनले रुस भ्रमणको अनुमति पाउनसकेका छैनन् । भेटमा रुसी उपविदेशमन्त्रीलाई साउदले नेपाली नागरिकलाई गैरकानुनी रूपमा भर्ना नगर्न र भर्ना भएका सम्पूर्णलाई नेपाल फर्काइदिन आग्रह गरेका थिए । साथै, उनले आफूलाई मस्को भ्रमणको बाटो खोलिदिन पनि आग्रह गरेका थिए । तर, रुसले साउदले गरेको प्रस्ताव मानेन, न नेपालीलाई भर्ना गर्न नै छाड्यो । नेपालमा उपस्थित कूटनीतिक च्यानलमार्फत रुस भ्रमण गर्ने उनको प्रस्तावसमेत सफल भएको छैन । सरकारप्रति आफन्तको आड र भरोसा छ, तर सरकार आफैं रुसमा रहेका नेपालीलाई फिर्ता गर्ने ’bout केही गर्नसक्ने अवस्थामा छैन । सरकारले रुस सरकारलाई तीनपटक त पत्राचारसमेत गरिसकेको छ भने भ्रमणको अनुमति माग्दासमेत रुसले बेवास्ता गरिरहेको छ । रुसमा कति नेपाली छन् भन्ने समेत नेपालको परराष्ट्र मन्त्रालयले भन्न सकिरहेको छैन । तर, केही समयअघि २ सय नेपाली रुसी सेनामा भर्ना भएको सार्वजनिक रूपमा बताए पनि सो भन्दा १० गुणा बढी नेपाली त्यहाँ कार्यरत रहेको घाइते भएका नेपालीहरूले बताएका छन् । तर, हमासले बन्धक बनाएर लगेका विपीन जोशीलाई सरकारले अहिलेसम्म पनि मुक्त गर्न सकेको छैन । उनको अवस्था अझै अज्ञात रहेको छ । त्यस्तै, रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई फिर्ता गर्न सक्छन् भन्ने अपेक्षा आफन्तले राखेका भए पनि परराष्ट्रमन्त्री साउद आफैं के गर्ने भन्ने अन्योलमा छन् । हमास विद्रोहीले गत २० असोजमा इजरायलमा आक्रमण गर्दा नेपालका १० युवाको मृत्यु भएको थियो । त्यसपछि द्वन्द्वग्रस्त मुलुकमा नेपालीलाई लिन हवाईजहाज चार्टर्ड गरेर आफैं गएका परराष्ट्रमन्त्री साउदले प्रशंसा पनि बटुलेका थिए ।