पर्यटनको राजधानी पोखरा हो

Share to:

मिनबहादुर कुँवर/कास्की, मार्ग २३,

मुलुकमा सन् २०१८ को तथ्याङ्क अनुसार हङकङमा २ करोड ९२ लाख पर्यटक पुगे । ६.८४ बिलियन अमेरिकी डलर हङकङले आम्दानी गर्‍यो । यही वर्ष बेंग्लोरले २२ लाख ३९ हजार पर्यटक भित्र्यायो । पर्यटक घुम्ने प्रमुख एक सय गन्तव्यमा नेपाल अहिलेसम्म परेको छैन । फर्म युरोमोनिटर र वित्तीय सेवा निगम मास्टरकार्डले यसको विवरण निकालेको थियो । रिपोर्टमा सिधा सिमाना जोडिएका सहरहरूका लागि, देशबाट अर्काे देशमा सीमा पार गर्नेहरूलाई अन्तर्राष्ट्रिय आगन्तुकहरूको रूपमा गणना गरेको छैन । नेपालमा वार्षिक १० लाख पर्यटक आउने अनुमान छ । यो पनि कुनै आधिकारिक रेकर्ड होइन । पोखरामा अहिले कति पर्यटक कहाँबाट आउँछन् भन्ने रेकर्ड त झन् हुने कुरै भएन । नेपाल आएका पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउँछन् भन्ने हचुवाको भरमा अनुमान गरिएको छ । बरु सन् २०१६ मा नाइजेरियाले ७ लाख १० हजार पर्यटक भित्र्याएर प्रमुख एक सयको सूचीमा पर्‍यो । पर्यटक वा व्यापारिक उद्देश्यका लागि सडक, हवाई मार्ग र समुद्री मार्गबाट भित्रिएका पर्यटकहरूको सङ्ख्याको आधारमा शीर्ष सय सहरको सूची तयार गरिएको हो । अनुमानकै भरमा चलेको पोखराको पर्यटनमा प्राकृतिक सम्पदाहरू खुम्चिँदै गएको छ, मानव निर्मित गतिविधि पनि उल्लेख्य बढेको छैन । पोखराको ब्राण्ड बनिसकेका धेरै गतिविधि लोप हुने चरणमा छन् । पोखरा छिर्ने राजमार्ग दुरावस्थामा छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पूर्वाधारहरू साह्रै कमसल बनिरहेका छन् । पोखरामा हेर्नका लागि र घुम्नका लागि के के छन् भन्ने सूची कुनै निकायले बुझाउन सक्दैन, प्राकृतिक सम्पदा बाहेक । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित समितिमा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ सहित ११ जना सदस्य छन् । पोखरामा पर्यटकीय गतिविधि अधिक हुन्छन्, त्यसमा शंका छैन । तर पोखरा पर्यटनको राजधानी हो कि होइन ? बहस सुरु भएको छ । लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्ने पोखरेलीहरूको माग छ । पोखरा महानगरपालिकाले पटकपटक निर्णय पनि गरेको छ । प्रदेश सरकारले संघमा सिफारिस पनि पठाएको छ । तर केन्द्रले पोखरालाई अहिलेसम्म पर्यटन राजधानी मानेको छैन । त्यसैको दबाबस्वरुप प्रदेश सरकार र पोखरा महानगरले पर्यटन क्षेत्रसँग सम्बन्धितहरूलाई राखेर राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको छ । गण्डकीको पर्यटन मन्त्रालयले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न अवधारणा पत्र तयार गरेको छ । सोही अवधारणा पत्र बमोजिम विस्तृत अध्ययन गर्न समिति गठन गरिएको हो । समितिले पर्यटकीय राजधानीको रूपमा विकास गर्न आवश्यक पूर्वाधारको विकास तथा सेवाको गुणात्मकता वृद्धि गर्ने नीतिलाई कार्यान्वयन गर्नेछ । गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले पर्यटनलाई विशेष महत्त्व दिइएको प्रदेश सरकारले जनाएको छ । अध्ययन समितिले विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्ने छ । समिति गठन भएसँगै अहिले पक्ष र विपक्षमा मत बाझिएका छन् । धेरैले राजधानी घोषणा गरेपछि प्राप्त हुने सुविधाका बारेमा खोजी गरेका छन् । पोखराका जानकार विश्व सिग्देल राजधानी आफैँ हुने भएकाले घोषणा गर्नुपर्ने आवश्यकता नरहेको बताउँछन् । सिग्देलले पोखरामा २५ प्रतिशत जमिन खुला राख्न सुझाव दिएका छन् । विद्यालय तहबाटै पर्यटनमैत्री पाठ्यक्रम राख्न सुझाएका छन् । महानगरको विज्ञ सल्लाहकारसमेत रहेका उनले महानगरपालिका पोखराको वैभव अनुसार चल्न नसकेको बताए । ‘किसानहरूले फलफूल, बाग बगैँचा, अन्नबाली सागपात उत्पादन गर्ने जमिन करमुक्त गरौँ र उत्पादनको बजार प्रत्याभूति गरौँ । जसबाट नगर समृद्ध, स्वस्थ, हराभरा फूल बागबगैंचाले स्वर्ग देखिन्छ,’ उनी अघि भन्छन्, ‘पूर्वाधार निर्माण गरेर आवास क्षेत्र सुनिश्चित गरेका ठाउँमा मात्र बसोबासको नीति अख्तियार गरौँ ।’ ‘पर्यटकको भार थाम्न नसकेर युरोपका अधिकांश सहरले पर्यटनलाई निरुत्साहित गर्दैछन् । पर्यटकहरूको चाप ठेलमठेल भिडभाडले जीवनचर्या, मौलिक जीवन पद्धति, सांस्कृतिक बैभवसमेत क्षतविक्षत भयो भनेर पर्यटन नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन्,’ उनले भने, ‘पोखराका चौतारा, पोखरी र पाटनलाई पुनर्जीवित गरौँ । नदी, ताल, खोला खोल्साहरुको मापदण्ड खाली गरौँ । कसैको पुर्ख्यौली स्वामित्वमा भएको भए त्यो जमिन अधिग्रहण गरौँ, अधिग्रहण गर्न नसके जग्गाधनीलाई नै प्रकृतिमैत्री भूउपयोग नीति बनाएर सो अनुरुप फाइदा लिन प्रोत्साहित गरौँ । अनि पर्यटक आफैँ हेर्न आउँछन् ।’ पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठचाहिँ राजधानी घोषणा हुनुपर्ने बताउँछन् । ‘घोषणा नगरे पनि पोखरा राजधानी हो । यति सुन्दर ठाउँ संसारमा छैन । पूर्वाधार त सरकारले थप्दै जान्छ । बाटो बन्ला अनि गरौँला भनेर कुर्नु हुँदैन,’ उनले भने, ‘बाटो छिटो बन्नुपर्छ भन्नेमा हामी पनि सहमत छौँ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयास भइरहेकै छ । अब घोषणा गर्न विलम्ब गर्नु हुँदैन ।’ केवलकार, अल्ट्रालाइट, बन्जी, जिप लाइन, प्याराग्लाइडिङ लगायत इभेन्टहरू राजधानी घोषणाका लागि बलियो आधारहरू हुने उनले सुनाए । पोखराले दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्ने दाबी गर्छ । अहिले यहाँको पर्यटन लयमा फर्किएको छ । ‘सुन्दर फेवाताल छ, अरू तालहरू पनि छन् । तर फेवाताल र हिमालमात्रै छैन । मान्छेले बनाएका थप गतिविधिहरू पनि छन्,’ उनले अघि भने, ‘राजधानी घोषणा गरेर विश्वलाई एउटा सन्देश दिन सके यहाँको पर्यटन जुरुक्कै उठ्छ ।’ पत्रकार मन क्षेत्री राजधानी घोषणा गर्नुअघिको पूर्वाधार पोखरासँग नरहेको तर्क गर्छन् । ‘सहरमा कति, कस्ता र कुन–कुन देशका पर्यटक भित्रिए भन्ने आधिकारिक तथ्याङ्क समेत छैन । हचुवाको भरमा पर्यटकीय राजधानी बनाउने भनेर उचालिएर हुन्छ ?,’ उनले प्रश्न गरे, ‘पोखरा प्रवेश गर्ने बाटो, बाटो वरपरको संरचना, आवश्यक पूर्वाधार केही सोच्नु नपर्ने, हचुवाको भरमा पर्यटकीय राजधानी बनाउने भनेर उचालिएर हुन्छ ?’ लेक साइड क्षेत्रलाई २४ घण्टा खुला राख्न प्रशासनले आन्तरिक गृहकार्य गरिरहेको छ । व्यवसायीहरूका अनुसार गण्डकीको पर्यटनमा ७ खर्बभन्दा बढीको लगानी छ । पोखरामा आसपासमा मात्रै ६ खर्ब लगानी छ भने त्यसमध्ये ५ खर्ब होटलमा छ । क्षेत्रीले सहरको सुरक्षा योजना र बजारको व्यवस्थापनमा महानगरपालिका चुकिरहेको बताए । ‘कसले के बेच्ने र कहाँ बेच्ने, कति कति बेला बेच्ने र क–कसलाई बेच्ने भन्ने केही छैन । रातको १० नबज्दै सहरका सटर बन्द गर्ने उर्दी जारी हुन्छ,’ अघि भने, ‘हुन त यसअघि पनि प्लाष्टिक मुक्त, हर्न निषेधित क्षेत्र घोषणा भएकै हुन् । घोषणापछिको स्थिति हामीले देखेकै छौँ नि ।’ पोखरा महानगरपालिका अन्तर्गत सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने पोखराको प्राथमिकता पर्यटन नै भएकाले राजधानी घोषणाका लागि पहल थालिएको बताउँछन् । ‘पोखराको ध्यान पर्यटनमा छ । राजधानी घोषणाका लागि आवश्यक अध्ययन गर्न समिति बनेको छ,’ उनले भने, ‘समितिले राजधानी घोषणा गर्नु अघिको पूर्वाधार र घोषणा भएपछि प्राप्त हुने सुविधाबारे अध्ययन गर्नेछ ।’ समितिकै सिफारिसपछि सरकारले थप प्रक्रिया थाल्नेछ ।

Like