Sunday, October 18, 2026
Latest:
अपराधअर्थतन्त्रदेशप्रदेश-६ [कर्णाली]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

भूकम्प पीडित चिसोको चपेटामा ‘जोखिम समूह’

Share to:

टिकाराम सिङ/जाजरकोट,

मुलुकमा भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी जाजरकोटको नलगाड नगरपालिका ८ तल्लोसिमाकी २५ वर्षीया सर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ। त्रिपालमुनि बस्दै आएकी एक महिने सुत्केरी चदारा त्रिपालको बसाईले गर्दा केही दिनदेखि रुघाखोकी र ज्वरोको बिरामी थिइन्। अत्यधिक चिसोका कारण जाजरकोटको भेरी नगरपालिका २ पुरानोरिसाङका हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुताको निमोनिया भएर गतसाता ज्यान गएको थियो। बालिका बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको ती बालिकाको उपचार हुन नसकेपछि सुर्खेत रेफर गरिएको थियो। थप उपचारका लागि जिल्ला बाहिर लैजाँदै गर्दै उनको बाटोमै ज्यान गएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीले बताइन्। चिसोले गर्दा बिरामी परेकी उनको समयमा उपचार नगर्दा ज्यान गएको नलगाड ८ का वडाध्यक्ष तेजबहादुर सिंहले बताए। उनले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी ती सुत्केरी बिरामी रहिछन्। हामीलार्ई थाहा भएन। मृत्यु भइसकेपछि मात्र थाहा पायौं। चिसोले धेरै बालबालिका र सुत्केरी बिरामी परेका छन्।’ आमाको मृत्युपछि एक महिनाकी छोरीको बिचल्ली भएको छ। भेरी नगरपालिका ४ रानागाँउमा कोठा भाडामा बस्दै आएकी छेडागाड ११ झापाकी तीन महिनाकी सुत्केरी विष्णु विकको छोरा तीन दिनदेखि बिरामी छन्। खोकी लाग्ने र स्वाँस्वाँ गर्ने समस्या छ। उनी आफू पनि बिरामी छन्। भाडाको घर भूकम्पले क्षति पुर्‍याएपछि उनी अहिलेसमस्यामा छन्। एकसरो त्रिपालमा उनको गुजरा चलिरहेको छ। राति शीत तपतप चुहिन्छ। चिसोले निन्द्रा पटक्कै लाग्दैन। भाडामा बस्ने भनेर हामीलार्ई राहत पनि दिँदैनन्। खानेकुरा पनि छैन। बिजोग भयो उनले भनिन्, ‘भूकम्पले बाँचे पनि चिसो र भोकले बाँच्न गाह्रो भो।’ नलगाड नगरपालिका ४ बाउसेखोलाकी २८ वर्षीया सर्मिला खत्री खड्का ५ दिनको सुत्केरी हुन्। भूकम्पले बस्ने घर भत्काइ दिएपछि उनी त्रिपाल टाँगेर बस्दै बसेकी छन्। उनका २ बच्चा छन्। सोही ठाउँकी २० वर्षीया पवित्रा बोहरा सुत्केरी भएको १२ दिन भयो। त्रिपालमुनि बस्नुपर्दा उनलार्ई पनि चिसोले सताएको छ। यस्तै पाटाकी दीपा खत्री पनि ३० दिनको सुत्केरी हुन्। त्रिपाल टाँगेर बस्नुपर्दा चिसोले सुत्केरी तथा बालबालिकाहरूमा लगातार टाउको दुख्ने मात्र नभई शरीर सुन्निन थालेको र बच्चालार्ई खोकीको समस्या देखिएको नलगाड नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बद्री पन्तले बताए। भेरी नगरपालिका ४ कि उर्मिला विकको घर भत्किएपछि स्थानीय भेरी प्राथमिक विद्यालयमा पाल टाँगेर बसिरहेकी छन्। उनी दुई महिनाकी सुत्केरी हुन्। उनले भनिन्, ‘बच्चा निमोनियाले ग्रस्त छ। जति औषधि खुवाए पनि फेरी रोग बल्झिहाल्छ । राति मुटु छेड्ने चिसो हुन्छ। एकसरो त्रिपालले निकै चिसो हुन्छ। मेरो मुख हरेक दिन बिहान उठ्दा सुन्निएको हुन्छ म आफैं पनि बिरामी छु। बिरामी छोरालार्ई कसरी स्याहारुँ। सुरुमा भूकम्पको डर लाग्यो, अहिले चिसोको डर लाग्छ। बाँच्नै गाह्रो भो हजुर। कतिबेला उज्यालो होला भन्ने लाग्छ। रात कटाउन निकै मुस्किल पर्छ।’ ‘शरीर सुन्निएकाले कामकाज गर्न गाह्रो हुने गरेको छ। त्रिपाल टाँगेर के गर्नु हावा छिर्छ। चिसो त्यत्तिकै बढेको छ। बच्चालार्ई निमोनिया होला भन्ने डर छ’, अध्यक्ष पन्तले भने, ‘भूकम्पका कारण त्रिपालमा बस्नुपर्दा सुत्केरी र बालबालिकाले स्याहार पाउन नसकेको र पौष्टिक खानपानमा पनि कठिनाइ भएको छ।’ स्वास्थ्यचौकी लहका प्रमुख भुपेन्द्रराज गिरीले सुत्केरी महिलालगायत अन्यमा रुघाखोकी र ज्वरोको समस्या देखिएको जानकारी दिए। उनका अनुसार वृद्धवृद्धामा दमको समस्या देखिएको छ। चिसोका कारण बालबालिकामा निमोनिया, सुत्केरी तथा गर्भवतीमा ज्वरोको समस्या देखिएको छ। उनीहरू मात्र होइन अधिकांश सुत्केरी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलार्ई चिसोले निकै सताइरहेको छ। चिसोकै कारण उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन्।

Like