अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिमुख्य समाचारराजनीतिशिक्षासंचारसमाचारस्पेसलहेडलाइन

नेपाल संवतको उपलक्ष्य एवम् शंखधर साख्वाको स्मृतिमा न्हूदँया भिंतुना मार्चपास कार्यक्रम हुदै

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २७,

मुलुकमा आजदेखि नेपाल संवत ११४४ शुभारम्भ हुँदै छ । यसैको उपलक्ष्यमा कार्तिक शुक्ल प्रतिपदाका दिन आज “न्हूदँया भिंतुना मार्चपास” कार्यक्रम हुने भएको छ । कलंकी माँ नेवाः पुचः येँ को आयोजनामा हुने उक्त कार्यक्रम “नेपाल संवत राष्ट्रया गौरव, संस्कृति–सम्पदा पुर्खाया पौरख” भन्ने नाराका साथ काठमाडौँको कलंकीमा हुन लागेको हो । मार्चपास कार्यक्रम कार्तिक २८ गते बिहान ८ बजे कलंकी मन्दिरबाट सुरु भइ खड्कुले पुलसम्म पुगी क्रमशः कलंकी चोक, रवि भवन, कालिमाटी शालिक हुँदै पुनः कलंकीको कृपा भेन्यूमा पुगेर संक्षिप्त परिचर्चा कार्यक्रमका साथ सम्पन्न हुने पर्व समय सुधार राष्ट्रिय समाज नेपालका महासचिव बलराल श्रेष्ठले सेभ द नेशन टेलिभिजनमा अन्तरसंवादमा जानकारी दिएका छन् ।

राष्टिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इस्वी संवत ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरु गराएका थिए । सोही संवतका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिँदै छन् । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरको भनाई छ । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो,’ मानन्धर भन्छन्, ‘लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।’ विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा अझै छ । कलंकी माँ नेवाः पुचः येँ ले हरेक वर्ष यसैगरी केही न केही नेपाल संवतको विशेष कार्यक्रम गर्दै आएको छ ।

Like