संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस केहीबेरमा लुम्बिनी आउँदै

Share to:

रासंसा/रुपन्देही, कार्तिक १४,

मुलुकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अहिले केही बेरमा लुम्बिनीको भ्रमण गर्दैछन। प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा महासचिव गुटेरेसले लुम्बिनीको भ्रमण गर्दैछन। गुटेरेस प्रधानमन्त्री दाहालको निमन्त्रणामा आइतबार विहान नेपाल आएका हुन। गुटेरेसलाई लुम्बिनीमा भव्य स्वागतको तयारी गरीएको छ। संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको गुटेरेसको लुम्बिनी भ्रमण तालिका अनुसार आज(मंगलबार) विहान ८:३५ बजे पोखराबाट भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आउने छन। भैरहवाबाट हेलीकप्टरमा उनी ८:५० मा लुम्बिनी आइपुग्नेछन । ४ नं. गेटबाट लुम्बिनी प्रवेश गराएर गुटेरेसलाइ शान्तिदिप लगीनेछ। शान्तिदिपबाट पैदलै मायादेवि मन्दिर प्रवेश गर्ने भ्रमण तालिका छ। गुटेरेसले मायादेवि मन्दिर,बुद्धजन्म स्मारक,पुष्करणी पोखरी,अशोक स्तम्भको अवलोकन गरी पिपलको रुखमुनी छोटो स्वागत कार्यक्रम हुनेछ। अशोक स्तम्भमा दिप बाल्नुका साथै वृक्ष रोपण गर्ने कार्यरम रहेको लुम्बिनी विकास कोषले जनाएको छ। गुटेरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती,लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी,कोषका उपाध्यक्ष ल्हारक्याल लामा सहित उच्च पदस्थ अधिकारीहरुले स्वागत गर्नेछन। गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैठौं महासचिव हुन। गुटरेसले लुम्बिनीमा करिब डेढ घण्टा विताउने भ्रमण तालिका छ। नेपाली सेनाले सुरक्षाको प्रबन्ध गरेको छ। कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम छ। त्यसपछि महासचिव गुटेरेसले लुम्बिनी विकास कोषको अतिथि पुस्तिकामा हस्ताक्षर गर्नेछन। लगत्तै पत्रकारहरुसंग गुटेरेसले बुद्धजन्मस्थलबाट विश्व शान्तिको सन्देश दिने कार्यक्रम रहेको कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए। नेपालमा उ थान्तको समयमा संयुक्त राष्ट्रसंघको पहलमा सुरु भएको लुम्बिनी अन्तराष्ट्रिय सहयोग समितिमा सलग्न राष्टहरुको बैठक तथा सम्मेलनको आयोजनाकालागि समेत कोषले गुटेरेससंग आग्रह गर्ने बताइएको छ। बृहत्तर लुम्बिनीको विकासमा कोरीयाली प्रोफेसर क्वाक योग हुमले तयार गरेको विश्व शान्ति शहरको परिकल्पनामा आधारित गुरुयोजना समेतलाइ ध्यानमा राखेर संयुक्त राष्ट्रसंघको सहयोग र सदभावकालागि महासचिवको भ्रमण फलदायी हुने विश्वास लिइएको छ। लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले लुम्बिनीको विकास राष्ट्रसंघको भुमिका निकै महत्वपूर्ण रहेकाले आगामी दिनमा पनि लुम्बिनीको विकास र प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। गुटेरेसको भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासकालागि संयुक्त राष्ट्रसंघको सहकार्य थप मजबुद हुने उनले बताए। ‘राष्ट्रसंघका महासचिव लुम्बिनी आउनु नै हाम्रो लागि गौरवको विषय हो, यो भ्रमणले विश्वव्यापी रुपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ’उनले भने। सन १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएका बेला नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पाएको थियो। १९५९ मा ड्यागले लुम्बिनीको भ्रमण गरेको कोषले जनाएको छ। ड्याग सहित गुटरेस सम्म आइपुग्दा ६ जना महासचिवले बुद्धजन्मस्थलमा पाइला टेक्ने उपाध्यक्ष लामाले बताए। ड्यागले १९५९ को मार्चमा, उ थान्तले सन १९६७ को अप्रिलमा,कर्ट वाल्डहिमले सन १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कायरले सन १९८९ को मार्चमा र वान की मुनले सन २००८ मा लुम्बिनीको भ्रमण गरेका थिए। विशेषगरी संयुक्त राष्ट्रसंघका महासचिव उ थान्तको लुम्बिनी भ्रमण पछि नै लुम्बिनीको विश्वव्यापी प्रचार र विकासमा चासो सुरु भएको कोषका अधिकारीहरु बताउँछन।

Like