कोशीका मुख्यमन्त्री भारी मतसहित अनुमोदित
रासंसा/मोरङ, कार्तिक २,
मुलुकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेशसभा बैठकमा सभाको अध्यक्षता गरेकी उपसभामुख सिर्जना दनुवारले कार्कीका पक्षमा विश्वासको मत प्राप्त भएको घोषणा गरेकी हुन् । कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका हुन् । राप्रपाका ५ सांसदले भने विश्वासको मत दिएनन् । यससँगै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि बैठकमा प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा मतदान हुँदा पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको थियो । बैठकमा ९१ सदस्य उपस्थित थिए । राप्रपाका १ सांसद अनुपस्थित रहे । प्रदेशसभा ९३ सदस्यीय छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । गठबन्धनको निर्णयलाई लत्याउँदै कार्की एमालेका ३९ सांसद र कांग्रेसका डा. शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री नियुक्त भएको पाँचदिनमै कार्कीले विश्वासको मत लिएका हुन् । प्रदेशको विकासका लागि सबै दललाई एकजुट हुन आवश्यक रहेको उनले बताए । यस्तै, कार्कीले संघीय सरकारबाट अधिकार प्राप्तिको अभियानमा जस्तोसुकै संघर्ष गर्न आफू तयार रहेको बताए । विश्वासको मत प्राप्त गर्नुअघि प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा नयाँ अध्याय सुरु भएको बताए । सरकार गठन प्रक्रियामा संविधानका सबै धारा प्रयोग गरेर आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको बताए । ‘कोशी प्रदेशमा नयाँ अध्याय सुरु भएको छ,’ उनले भने, ‘सरकार बनाउने सबै धाराहरू प्रयोग गरेर यो अन्तिम धारा समेत प्रयोग गरेका छौं । प्रदेशमा स्थिर र गतिशील सरकार बन्ने कुरा पूरा भएको छ ।’ ‘यस विषमपरिस्थितिमा सरकारको नेतृत्व गरेको छु,’ कार्कीले भने, ‘जनताको रगतले लेखेको संविधानको १६८ धाराको ५ उपधारा बमोजिम आज मुख्यमन्त्री भएको छु । अब यो सरकारले सच्चिएर राम्रा काम गर्ने विश्वास दिलाउँछु ।’ ‘जनताले कुनै दललाई स्पष्ट बहुमत नदिएकाले अहिले हाम्रो प्रदेशमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनुपर्ने अवस्था आयो,’ उनले भने, ‘हामी जनादेशलाई भुलेर सरकार गठनमा झुलिरहेका छौं । मध्यावधि निर्वाचन बेहोर्नुपर्ने त होइन भन्ने कुरा पनि आइरहेको छ ।’ नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले अहिले कुनै पनि दलको बहुमत नभएकाले दुईभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य हुनुपरेको बताए । देशको निर्वाचन प्रणालीमै समस्या रहेको उनले बताए । ६२ प्रतिशत प्रत्यक्षतर्फ र ३८ प्रतिशत मात्रै समानुपातिक हुने भएकाले पनि समस्या भएको उनको भनाइ छ । उनले भने, ‘हाम्रो निर्वाचन प्रणालीमा समस्या छ । जसरी पनि बहुमत ल्याउन गाह्रो छ । सामान्यतयाः कसैको बहुमत आउन नसक्ने अवस्था छ ।’ उनले अहिले निर्वाचन जनताको अपेक्षा नरहेको र मुलुकको अर्थतन्त्रले धान्न नसक्ने बताए । उनले एमाले निर्वाचनमा जान नडराएको उद्धृत गर्दै आर्थिक अर्थतन्त्र धराशयी भएको समेत सुनाए । उनले दललाई दोष लगाउँदै निर्वाचनको धाराको हेक्का नराखेको बताए । यसअघि एमालेले मिलेर सरकार बनाउन चाहे पनि कांग्रेस र माओवादीले वास्ता नगरेको उनको गुनासो छ । ‘मैले कांग्रेस र माओवादीसँग पटकपटक कुरा गरें,’ उनले भने, ‘केन्द्रमा पनि पटकपटक कुरा गरिरहँदा प्रधानमन्त्रीदेखि नेताहरू कसैले पनि सकारात्मक जवाफ दिनुभएन, त्यही भएर राजीनामा दिन बाध्य भएँ ।’ प्रदेशसभा बैठकमा बोल्दै कांग्रेसको तर्फबाट पूर्वमुख्यमन्त्री उद्धव थापाले केदार कार्की मुख्यमन्त्री बनेसँगै ‘म्युजिकल चेयर’को खेल अन्त्य भएको बताए । उनले कोशी प्रदेशमा अध्यादेशमार्फत बजेट आएकाले त्यसलाई पनि टुंगोमा पु¥याउनुपर्ने बताए । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले मध्यावधि निर्वाचनबाट जोगाउनका निम्ति मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताए । ‘कोशीलाई मध्यावधि निर्वाचनबाट जोगाउनुपर्छ भन्ने जनताको चाहनालाई मध्यनजर गर्दै हामीले गठबन्धनका उम्मेदवार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका हौं,’ उनले भने । ‘अन्य प्रदेशले बजेट अधिवेशन अन्त्य गरिसकेका छन्, हाम्रो बजेट अध्यादेशमार्फत आएको छ । यसलाई पनि सहमतिबाट पास गरौं । यसलाई कसैले हारजितका रूपमा नलिऔं,’ थापाले भने, ‘जनताले विकास निर्माणलाई पर्खेर बसेका छन् । कतिपय योजनामा काम भएको छ, भुक्तानी गर्न बाँकी छ । त्यसले गर्दा प्रदेशलाई प्रगतिको बाटोमा अगाडि बढाउने हो भने सहमतिका माध्यमबाट यसलाई पनि टुंग्याऊँ ।’ यता, नेकपा माओवादी केन्द्रले भने आफूहरूको पार्टीले गरेको त्यागलाई मुख्यमन्त्री कार्कीले नजरअन्दाज नगर्न चेतावनी दिएको छ । माओवादीका तर्फबाट बोलेका सांसद दुर्गाप्रसाद चापागाईँले माओवादीले गठबन्धन बचाउनकै लागि र गठबन्धनको भावनाअनुसार अगाडि बढ्नका लागि नै सभामुख त्यागेको स्मरण गरे । ‘हामीलाई प्रदेशसभाभित्र रहेका सांसदसँग अन्तरघुलनकै समस्या भइरहेको छ । आजबाट एउटा अनिश्चय र आशंकाको अन्त्य हुनेछ,’ उनले भने । गठबन्धनको निर्णयअनुसार माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षीमा बस्ने उनले बताए । लिम्बुले प्रदेशको नामकरणका विषयमा भइरहेको आन्दोललाई सरकारले जिम्मेवार बन्नुपर्ने बताइन् । जनता समाजवादी पार्टीकी संसदीय दलकी नेता निर्मला लिम्बुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय भएअनुसार मत दिएको बताइन् । उनले भनिन्, ‘कोशीमा सरकार बनेदेखि जसपाले समर्थन र विश्वासको मत दिँदै आएको छ । मुख्यमन्त्री कार्कीलाई पनि विश्वासको मत दिने निर्णय भएको छ ।’ यस्तै, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफूहरू प्रतिपक्षीमा बस्ने बताए । उनले कोशी प्रदेशमा प्रतिपक्षी भूमिका नै नहुने भएकाले राप्रपा प्रतिपक्षीमा बस्न लागेको र विश्वासको मत नदिएको बताए । उनले कोशी प्रदेशको नामकरणबाट बहुमत सदस्य सहभागी भए पनि उनीहरू नै सडकमा आएको आरोपसमेत लगाए । उनले भने, ‘संविधानसम्मत राखिएको कुरालाई संविधानसम्मत ढंगले नै परिवर्तन गर्नुपर्छ । तर, कोशी नाममा ल्याप्चे लगाउनेहरू नै सडकमा निस्कनु यो राम्रो भएन ।’ ‘भ्रष्टाचारको अन्त्य गर्न र प्रशासनलाई राम्रो बनाउन कानुन आवश्यक भएको छ । विधिमा मुलुक चलेको छैन । कोही एक व्यक्तिले पूर्ण समुदायलाई गाली गर्दा सरकार चुप लागेर बसेको छ,’ उनले भने, ‘मुलुक औद्योगीकरण गर्नुपर्छ । पूर्वाधार निर्माण गर्नुपर्छ । तर, आज त्यसको अवस्था शून्य छ ।’