अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिशिक्षासंचारसमाचारस्पेसलहेडलाइन

पत्रकारितालाई जीवित बनाइराख्न कार्टुन विधा जोगाउनुपर्छ, काउन्सिल अध्यक्ष बस्नेत

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २९,

मुलुकमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यावसायिकताका लागि काउन्सिलले रचनात्मक काम गरिरहेको जानकारी दिनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणि हार्तम्छलीले कार्टुनिस्टका समस्या र व्यावसायिकताका विषयमा राज्यस्तरबाट काउन्सिलले चासो दिएकोमा खुसी व्यक्त गर्नुभयो । कार्टुनिस्ट क्लबका अध्यक्ष बासु क्षितिजले कार्टुनको मर्म भनेकै विकृति विसंगतिमाथि व्यङ्ग्य भएको उल्लेख गर्दै त्यसमा राज्य जोडिँदा कार्टुनिस्टलाई सधैँभरी असुरक्षाको त्रास हुने गरेको बताउनुभयो । काउन्सिलको आयोजना, कार्टुनिस्ट क्लबको संयोजन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नक्सालमा भएको सञ्चार माध्यममा कार्टुन र आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रममा बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यवसायिक सुरक्षा आवश्यक रहेको औँल्याउनुभयो । ‘कार्टुनले पत्रकारितालाई रचनात्मक र रोचक बनाउछ । यो हेर्दा नकारात्मक जस्तो लागे पनि यसले दिने सन्देश सधैँ सकारात्मक हुन्छ । पत्रकारिताको विज्ञापन बजार, अनलाइन पत्रकारिता सँगसँगै कार्टुन विधालाई अघि बढाउन पहल जरुरी छ ।’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘पत्रकारितालाई जिवित बनाइराख्न पनि कार्टुन विधा बाँच्नुपर्छ । आधुनिक पत्रकारितामा कार्टुनलाई समावेश गर्न सकियो भने पत्रकारिता जिवित रहन्छ ।’ कार्टुनिष्टहरुसँग आचारसंहितासहित काउन्सिलले पहिलोचोटी यो तहको कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै कार्टुनिस्ट रविन सायमी र अविन श्रेष्ठले पत्रकारितासँगै कार्टुन विधाको व्यावसायिक सुरक्षाका निम्ति काउन्सिलले अभिभावकीय भूमिका निभाउनुपर्ने बताउनुभयो । स्वतन्त्र कार्टुन प्रकाशन गर्दा कानुनमा भएका व्यवस्थाका आधारमा राज्यबाटै असुरक्षित हुनुपरेकाले कानुनका बुँदा सच्याउन दबाब दिनुपर्ने उहाँहरूको भनाइ थियो । कार्टुनिस्ट राजेश केसीले पत्रकारितामा कार्टुनिस्ट भनेर राज्यले परिचय दिन नसक्दा फरक परिचयपत्र बोकेर हिँड्नुपरेको बताउनुभयो । कार्टुनिस्ट अशोकमान सिंह तथा ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सौरगङ्गा दर्शनधारी लगायतले कार्टुनिस्टको व्यावसायिक समस्याका विषय भएको छलफल महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानुनका दफा पत्रकारिताको हकमा आकर्षिक नहुने भन्दै कार्टुनिस्टमाथि कुनै पनि तवरबाट नाजायज दबाब वा असुरक्षा भयो भने नेपाल पत्रकार महासङ्घ त्यसका विरुद्ध लड्ने प्रष्ट पार्नुभयो ।

कार्यक्रममा वरिष्ठ काटुनिस्ट मोहनश्याम महर्जन खोकनालाई काउन्सिलले सम्मान गरेको थियो । सम्मानपछि बोल्दै कार्टुनिस्ट खोकनाको आफ्नो जन्मस्थलको परिचय सबैतिर पुग्नुपर्छ भन्ने हेतुले आफ्नो नाम नै खोकना राखेको बताउनुभयो । कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र कार्टुनिस्ट रवि मिश्रको कार्यपत्र रहेको थियो । काउन्सिलका सदस्य दीपक पाण्डेले सहजीकरण गरेको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले स्वागत गर्नुभएको थियो ।

Like