पुरातात्त्विक महत्त्वको खप्टे डाँडा उत्खननको तयारी, स्थानीय सरकार भने बेखबर
रासंसा/सिरहा, आश्विन २५,
मुलुकमा सिराहाको लहान नगरपालिका, वडा नम्बर २४ मा रहेको खेसराहास्थित खप्टे डाँडालाई उत्खनन गरी बालुवा तथा गिट्टी बेच्ने तयारी भइरहेको छ । उत्खननको तयारी गरिएपछि स्थानीयले विरोध जनाएका छन् तर स्थानीय सरकार त्यसबाट बेखबर रहेको नेपाल पत्रकार महासङ्घ सिराहा शाखाका अध्यक्ष मनोज बनैताले बताए । पुरातात्त्विक महत्त्वको सो डाँडा ऐलानी हो । अहिले त्यसलाई उत्खनन गर्न आवश्यक संरचना बनाउने काम भइरहेको छ । कम्पनीले त्यहाँको माटो पनि परीक्षण गरिसकेको छ । उनले भने, ‘म हिजो मात्र त्यो ठाउँको अनुगमन गर्न गएको थिएँ, त्यहाँ काम गर्ने कामदारका लागि बस्ने संरचना निर्माण गर्ने काम धमाधम भइरहेका छन्, स्थानीयले त्यसको विरोध गरे पनि सरकारी निकायहरू बेखबर छन् ।’ त्यो ठाउँ पुरातात्त्विक पहिचानको रूपमा परिचित छ । तर त्यहाँ उत्खनन हुन लागेको बारेमा लाहन नगरपालिकाका मेयर महेश चौधरी, वडा नम्बर २४ का वडा अध्यक्ष राशलाल राय, जिल्ला समन्वय समितिका सभापति, सिराहाका प्रमुख जिल्ला अधिकारीलगायतका सरकारी निकाय बेखबर छन् । उनले यस विषयमा आफूले सिराहाका प्रमुख जिल्ला अधिकारी, मेयर महेश चौधरी, सम्बन्धित वडा अध्यक्षसँग जिज्ञासा राखेको तर उनीहरुले पनि यस बारेमा आफूलाई कुनै जानकारी नरहेको बताएको जानकारी दिए । जिल्ला समन्वय समितिका सभापति दिनेश महतोले खप्ते डाँडा उत्खनन गर्न लागेको कुरा आफूले पनि सुनेको तर कसले र किन उत्खनन गर्न लागेको भन्ने कुनै जानकारी नरहेको बताए । कुनै पनि ऐलानी जग्गा खन्नका लागि जिल्ला समन्वय समिति र नगरपालिकासँग अनुमति लिनुपर्छ तर हालसम्म त्यस्तो अनुमति कसैले नलिएको उनले बताए । उत्खनन गर्नु गैर कानुनी कार्य हो, त्यो डाँडा पुरातात्त्विक विभाग अन्तर्गत रहेको र विगतमा त्यसलाई खन्न खोज्दा विभागले रोकेको आफूलाई जानकारी आएको महतोले बताए । तर स्थानीय स्रोत भन्छ, ‘उत्खनन गर्ने कम्पनीले मेयरसँग सल्लाह गरेरै कार्य गर्न लागेको हो, दुई सय बिघाको त्यो डाँडा खन्न लाग्दा नगरपालिकालाई थाहा नहुने कुरा नै हुँदैन ।’ नगरपालिका मेयर चौधरीले उत्खननबारे आफूलाई कुनै औपचारिक जानकारी नरहेको बताए । उनले भने, ‘मैले पनि तपाईले जस्तै सुनेको हुँ, कुनै ठेकेदारले निजी जग्गालाई खन्ने तयारी गरिरहेको अनौपचारिक रूपमा कुरा आएको हो तर त्यसको पुष्टि हुन बाँकी छ ।’ उत्खननका लागि त्यहाँ जेसीबी लगिएको छ, विभिन्न संरचना बनाइएको छ तर पालिका भने बेखबरजस्तै बनेको स्थानीयको आरोप छ । उनले भने, ‘कसैले कसैको निजी जमिनमा कुनै संरचना बनाएको छ भने हामीले केही भन्न मिल्दैन, डाँडा उत्खनन गर्न सुरु भयो भनेमात्र हामीले केही बोल्छौँ र त्यसलाई रोक्छौँ ।’ खप्ते डाँडा वडा नम्बर २४ मा पर्दछ । सो वडाका अध्यक्ष राशलाल रायले संरचनाहरू बनाएको कुरा आफ्नो जानकारीमा आएको तर उत्खनन गर्ने काम सुरु नभएको कारण आफूले केही नभनेको बताए । डाँडा नै उत्खनन गर्नका लागि त्यो संरचना बनाएको कुरा अझै पुष्टि नभएको उनले बताए ।