Monday, October 19, 2026
Latest:
अन्य थपअर्थतन्त्रदेशप्रदेश-६ [कर्णाली]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

जुम्लाकै महिला व्यापारी नेपालगन्जमा जुम्लाकाे स्याउ बिक्री गर्दै

Share to:

रासंसा/बाँके, आश्विन ६,

मुलुकमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीय कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ। बिहान मर्निङ वाक गर्नेदेखि मन्दिर जानेसम्मले समेत प्राङ्गारिक स्याउ किन्ने भएकाले व्यापारीहरू यही समयमा चोकमा स्याउ लिएर बस्ने गरेका छन्। व्यापारी कर्मकन्या नेपालगन्जको धम्बौझी चोकमा कार्टुनमा स्याउ राखेर बस्छिन्। ‘बिहानदेखि बेलुकासम्मै यो स्याउ बिक्री हुन्छ। ग्राहक नआएका बखत मेसो मिलाएर खाने गरेको छु’, उनले भनिन्। भदौको २६ गतेदेखि उनलाई नेपालगन्जमा ल्याइएको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको हो। यी महिला व्यापारीले किलोको एकसय दश रुपैयाँदेखि एकसय ४० रुपैयाँसम्ममा जुम्लाको स्याउ बिक्री गरिरहेका छन्। जुम्लाको हावापानीमा फलेको रसिलो र मिठो स्याउ खरिद गर्न बिहानैदेखि नेपालगन्जको धम्बौझीमा चोकमा उपभोक्ताहरूको भीड छ। ‘बिहानदेखि बेलुकासम्मै स्याउ बिक्री गर्न बस्नुपर्छ खाना खाने समयको टुङ्गो हुँदैन। ग्राहक नआएको मौका छोपेर खाना खाने गर्छु’, कर्मकन्या भन्छिन्। असोजको दोस्रो हप्तासम्म स्याउ बिक्री गरेर जुम्ला फर्कने योजना रहेको बताएकी उनी अझै ४० कार्टुन स्याउ जुम्लाबाट मगाएको पनि बताउँछिन्। कर्मकन्याजस्तै सोही गाउँपालिका–६ गोरुचौरकी राजकन्या रोका पनि जुम्लाबाट स्याउ बिक्री गर्न नेपालगञ्ज झरेकी हुन। उनले भदौको २५ गते तीन सय त्रिचालिस पेटी स्याउ लिएर नेपालगन्ज आएकी हुन। हालसम्म तीन सय तीन पेटी स्याउ बिक्री गरी सकेको राजकन्या बताउँछिन्। अहिलेसम्म २० कार्टुन स्याउ बिक्री गरी सक्नुभएकी कर्मकन्या स्याउ बिक्री गर्न बाँकी नै भएकाले नाफा कति भयो भन्ने हिसाब नगरेको जानकारी दिइन्। ‘स्याउ बिक्री गर्न अझै बाँकी नै भएकाले अहिलेसम्म कति नाफा भयो भनेर हिसाब गरेको छैन । यता स्याउ झार्नका लागि जुम्लामा स्याउ टिप्न लगाएको छु । नाफा घाटाको हिसाब असोजको दोस्रो हप्तामा गर्ने हो’, उनले भनिन्। एउटा पेटीमा २० किलो स्याउ हुने भएकाले उनले १२ दिनमा लगभग ६० क्विन्टल स्याउ बिक्री गरिसकेकी छिन्। अझै ४० पेटी स्याउ बिक्री गर्न बाँकी नै रहेको र थप २० देखि २२ पेटी स्याउ जुम्लाबाट मगाउने योजना जानकारी दिँदै राजकन्या स्याउ बिक्री गर्न बाँकी भएकाले नाफाको हिसाब नगरेको बत्ताउँछिन्। यो समयमा नेपालगन्जको मुख्य चोक धम्बौझी, कारकाँदो, सेतु विक, पुष्पलाल, गणेशमान, बसपार्कलगायत स्थानमा जुम्लाबाट स्याउ लिएर महिला व्यापारी आफैँ बिक्री गर्न आएका हुन्। जाजरकोटका महिला व्यापारीले पनि जुम्लाको खरिद गरेर बिक्री गरिरहेका छन्।

Like