एनसेलको १८औं वार्षिकोत्सवमा ‘बजार जाऔं’ कार्यक्रम

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ६,

मुलुकमा मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत एनसेलका उच्चपदस्त अधिकारीलगायत अन्य कर्मचारी देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा बिक्रेताका पसल–पसल गएर प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। आम उपभोक्ताको निरन्तरको साथ र सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन र उनीहरुका कुरा बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलगायत व्यवस्थपनका उच्चपदस्थ अधिकारीहरुले आइतबार एनसेल सेन्टरहरु र खुद्रा विक्रेताका पसलहरुमा भ्रमण गरेका थिए। भ्रमणका दौरान ग्राहकहरूसँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव लिएका थिए। ‘बजार जाऔं’ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धताअनुरुप आयोजना गरिएको कार्यक्रम हो। कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको हो। एनसेलले आफ्नो सिद्धान्तमा केन्द्रित रहेर नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। ग्राहकप्रतिको हाम्रो प्रतिबद्घताले एनसेललाई परिभाषित गर्दछ र यसले हाम्रा ग्राहकलाई बुझ्न थप मद्दत गर्दछ। ग्राहक भनेको ‘किङ अफ मार्केट’ हुन् भन्ने हामीले बुझेका छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक कायुमोभले भने, ‘ त्यसैले आफ्ना ग्राहकको सुझाव सल्लाह र गुनासाहरु केही भए त्यस ’bout बुझ्न र उहाँहरुको आवश्यकता के छ भनेर हामीले थाहा पाउन आवश्यक छ। त्यसैले बजार गएर ग्राहकसँग कुराकानी गर्न जरुरी छ भन्ने हाम्रो विश्वास हो।’ ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन्। त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत रहेका छन्। बजार भ्रमणका बेलामा प्रमुख कार्यकारी अधिकृत जाब्बोर, कम्पनीका उच्चपदस्त अधिकारीहरु र अन्य सबै कर्मचारीहरुले आ–आफ्नो तोकिएका क्षेत्रहरुमा गरि देशैभरका सबै एनसेल सेन्टरहरु र ५०० भन्दा बढी खुद्रा बिक्रेताहरुका पसल–पसलमा पुगेका थिए। साथै ग्राहक, उपभोक्ताहरु र बिक्रेताहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरी मायाको चिनोसमेत वितरण गरेका थिए।

Like