सहमतिमै शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ : प्रवक्ता सापकोटा
रासंसा/काठमाण्डौ, भाद्र ३०,
मुलुकका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्याइने बताएका छन्। शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन सम्पन्न भएको जानकारी दिदै उनले एक हिसाबले पूर्णता पाएको भए पनि केही काम अझै बाँकी भएकाले त्यसलाई पनि छिट्टै पूर्णता दिनुपर्ने उल्लेख गरे। शान्ति प्रक्रिया निष्कर्षमा पुगेको घोषणा गर्न बाँकी रहेको प्रवक्ता सापकोटाको भनाइ छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयसम्म शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्नु दुःखद् रहे पनि त्यसलाई निष्कर्षमा पुर्याउनैपर्नेमा जोड दिए। प्रवक्ता सापकोटाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालको आजदेखि हुन लागेको अमेरिका भ्रमणका क्रममा नेपाली विशेषतासहित शान्ति प्रक्रिया अगाडि बढाइरहेको विश्व समुदायलाई जानकारी गराउने उल्लेख गरे। जलवायु परिवर्तनका कारण विश्वव्यापीरूपमा परेको प्रभाव तथा नेपालले भोग्नुपरेको समस्याका कारणसमेत प्रधानमन्त्रीले महासभामा विश्व समुदायको ध्यानाकर्षण गराउने उनले जानकारी दिए। यस्तै अल्पविकसित देशहरूको अध्यक्षको हैसियतले प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदा प्रधानमन्त्री दाहालले नेपाली मौलिक विशेषतासहितको शान्ति प्रक्रियाका बारेमा जानकारी गराउने स्पष्ट गर्दै यसलाई थप निष्कर्षमा पुर्याउनका लागि विश्व समुदायलाई अपिल गर्नुहुने बताए। संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएपछि प्रधानमन्त्री एवं अध्यक्ष दाहाल त्यतैबाट चीन भ्रमणमा जान लाग्नुभएको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसलाई समयको चापका कारण स्वाभाविकरूपमा लिन आग्रह गरे। चीन भ्रमणको क्रममा द्विपक्षीय सम्बन्ध विस्तार एवं विकास निर्माणलाई अगाडि बढाउने गरी प्रधानमन्त्री दाहालले आवश्यक तयारी गर्नुभएको स्पष्ट पारे। पार्टीले अगाडि बढाएको देशव्यापी रुपान्तरण अभियानले नयाँ उत्साह पैदा गरेको उनको भनाइ छ। अभियानका क्रममा विकास निर्माणको काम अगाडि बढाइएको तथा जनतासँग सम्बन्ध विस्तारमा केन्द्रित गरिएको उनले जानकारी दिए। पार्टीले सञ्चालन गरेको अभियान सकारात्मकरूपमा अगाडि बढेको र जनताको साथ र अगाध समर्थन पाएको प्रवक्ता सापकोटाको भनाइ छ।