पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्ण, अस्पतालबाट बेपत्ता पारिएको बच्चा फेला, डाक्टरले बेचेको पुष्टि

Share to:

रासंसा/मोरङ, भाद्र ६,

मुलुकमा विराटनगर–९ स्थित ग्रीनक्रस अस्पतालबाट असार १४ गतेदेखि बेपत्ता पारिएकी शिशु फेला परेको छ। बेपत्ता पारिएकी एक दिनको नवजात शिशु (छोरी) लाई बेचेको मंगलबार पुष्टि भएको हो। डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई बचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए। उनले प्रारम्भिक अनुसन्धानबाट पैसाका लागि कारोबार भएको देखिएपछि थप अनुसन्धान अघि बढाइएको बताए। स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समेत रहेका डाक्टर तपेश्वरलाल कर्णले निःसन्तान दम्पतीलाई शिशु बचेको पुष्टि भएको हो। डाक्टर कर्णलाई अस्पतालले मंगलबार दिउँसो डिस्चार्ज दिएपछि हिरासतमा राखेर सोधपुछ गर्दा पैसाका लागि कारोबार भएको खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘१० वर्षअघि विवाह भई सन्तान नभएका दम्पतीलाई डाक्टरले शिशु दिएको देखियो। भर्खर जन्मिएको शिशु लिन दिलमाया राजवंशी अस्पताल आएकी थिइन्। दिलमाया सन्तान नभएका दम्पतीका (आमा/सासु) हुन्।’ ५० हजार रुपैयाँ दिएर अस्पतालबाट शिशु लगेको दिलमायाले भनेको बताउँदै, डिएसपी दाहालले भने, ‘दिलमायाले भने जति पैसामा नभई अझ बढी रकमको कारोबार भएको हुनुपर्छ। थप कुरा अनुसन्धानबाट खुल्ने छ। यस घटनामा बच्चाका बुवा गोविन्दको कस्तो भूमिका थियो खुल्न बाँकी नै छ।’ ग्रीनक्रस अस्पतालबाट नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएको आरोपमा अस्पतालका डाक्टर कर्ण र बच्चाका बुवालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ। सिनेमा मात्रै देख्न पाइने यस्तो घटना वास्तविकतामा ढल्किएको छ। बच्चा बेपत्ता बनाएको आरोपमा डाक्टर कर्णसहित भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको थियो। दुवै जनालाई अस्पतालमा जन्मिएको बच्चा अस्पतालबाटै बेपत्ता पारेको आरोपमा पक्राउ गरिएको डिएसपी दाहालले बताए। बच्चाकी आमालाई थाहा नै नदिई अस्पतालका डाक्टर र बच्चाका बुवाले नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएका थिए। असार १४ गते अविवाहित युवतीबाट ग्रीनक्रस अस्पतालमा जन्मिएको बच्चा अस्पतालबाटै बेपत्ता भएपछि घटना बाहिरिएको हो। गोविन्द नवजात शिशु (छोरी) का बुवा हुन्। युवती र गोविन्दबीच विवाह भएको छैन। उनीहरु प्रेमी प्रेमिका हुन्। गोविन्द र युवतीबिच २ वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए। प्रेम सम्बन्धकै कारण उनीहरुबीच शारीरिक सम्पर्कबाट युवती गर्भवती भएकी बताइएको छ। गर्भवती प्रेमिकालाई लिएर प्रेमी गोविन्द विराटनगर आएका थिए। दुवै जना विराटनगर आएपछि ग्रीनक्रस अस्पताल नजिकै रहेको डाक्टर कर्णको दीपेश मेडिकल क्लिनिकमा पुगे। त्यहाँ डाक्टर कर्णले युवतीको परीक्षण गरेपछि थप उपचारका लागि नजिकै रहेको ग्रीनक्रस अस्पतालमा भर्ना गरेको बताउँदै, डिएसपी दाहालले भने, ‘उनीहरु दुवै जनाले आफ्नो वास्तविक परिचय लुकाएर नक्कली परिचय दिएर भर्ना गरेका रहेछन्।’ २६ वर्षीया युवतीले अस्पतालमा नवजात शिशु (छोरी) लाई जन्मदिएकी थिइन्। असार १३ गते दिउँसो अस्पतालमा भर्ना भएकी युवतीले भोलिपल्टै (असार १४ गते) ‘नर्मल डेलिभरी’ मार्फत छोरीलाई जन्म दिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनीहरुले अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङका साथै ठेगाना सुनसरीको रामधुनी–११ लेखाएका रहेछन्। १४ गते दिउँसो अस्पतालले बिदा दिएपछि बच्चा बिनै गोविन्दले आफूलाई इटहरी लगेको युवतीलाई उद्धृत गर्दै प्रहरीले बताए। ‘गोविन्दले बिहेको प्रलोभनमा पारेर आफू सुत्केरी हुँदा छाडेर अलपत्र पार्‍यो। न मसँग बच्चा नै छ न त प्रेमी गोविन्द नै।’ युवतीले भनिन्। इटहरी बसपार्क नजिककै रहेको एक होटलमा लगेर राखेपछि बच्चा खोइ भन्दा अस्पतालमै छ उहाँले (गोविन्द) भन्नु भयो, युवतीले भनिन्। काम छ भन्दै असार १६ गते होटलबाट हिँड्नु भएको बताउँदै, युवतीले भनिन्, ‘होटलमा अलपत्र छाडेर गएपछि गोविन्द फर्किएनन्। होटलबाट निस्कनुअघि गोविन्दले दिएको खर्च ८ दिनपछि सकियो र होटल छाडे। त्यसपछि सुनसरीको सोनापुरमा डेरा लिएर बस्न थालेँ।’ उसकै आग्रहमा अस्पताल आएर बच्चा जन्माएको बताउँदै, युवतीले भनिन्, ‘मेरो बच्चा कहाँ के अवस्थामा छ थाहा छैन। मैले जिउँदो छोरीलाई जन्म दिएकी थिएँ। छोरी जन्मसाथ नर्सहरुले लिएर गए। त्यसपछि अहिलेसम्म बच्चा समाउन त हैन देख्नसमेत पाएको छैन। बच्चा जन्मँदा अस्पताललाई ३५ हजार रुपैयाँ तिरेका छौं।’ साउन ३२ गते बिहीबार युवतीले प्रेमी गोविन्द र उपचारमा संलग्न डाक्टर कर्णविरुद्ध मोरङ प्रहरीमा ‘व्यक्ति बेपत्ता पार्ने’ कसुरमा किटानी जाहेरी दिएकी थिइन्। युवतीको जाहेरी परेपछि गोविन्द र डाक्टर कर्णलाई शुक्रबार साँझमा पक्राउ गरिएको बताउँदै, डिएसपी दाहालले भने, ‘पक्राउपछि उच्च रक्तचाप र मधुमेहको समस्या देखाएर डाक्टर कर्ण उपचारका लागि कोशी अस्पताल भर्ना भए। डाक्टर अस्पतालमा भर्ना भएपछि घटनाको अनुसन्धान गर्न समस्या परेको थियो।’ सुत्केरी अवस्थामा छाडेर हिँडेका प्रेमी गोविन्दले अस्पतालसँग मिलेर बच्चालाई अस्पतालबाटै बेपत्ता बनाएको युवतीले बताइन्। उनीहरु दुवै मिलेर मेरो बच्चा बेपत्ता बनाएर कहाँ पुर्‍याए थाहा नभएको बताउँदै युवतीले भनिन्, ‘अहिलेसम्म न मेरो बच्चा नै पाएँ न प्रेमी गोविन्द नै सम्पर्क गर्न आए। दुवै बेपत्ता भएपछि खोजतलासका लागि प्रहरीलाई भने।’ घटनाको अनुसन्धानमा डाक्टर कर्णले असहयोग गर्दै आएको बताउँदै, डिएसपी दाहालले भने, ‘डाक्टरलाई सोधपुछका लागि बोलाउँदा उनी प्रहरी कार्यालय नआई अदालतमा पुगेर निषेधाज्ञाको मुद्दा दर्ता गराए। शुक्रबार साँझ ग्रीनक्रस अस्पतालमा प्रहरी पुग्दा उनी अप्रेसन गर्न व्यस्त थिए। प्रहरी पुगेको थाहा पाएपछि उनी बिरामी भए र त्यही अस्पतालमा उपचार थाले। त्यहाँ केही समय उपचारपछि थप उपचार कोशीमा गर्न ल्यायौं।’ डाक्टर कर्ण अस्पतालमा उपचार गरिरहँदा घटनाको वास्तविकता बाहिर आउन सकेको थिएन। अस्पतालमा उनलाई सोधपुछ गर्दा बच्चा अभिभावकलाई बुझाएको बताउँदै आएका थिए। गोविन्द र युवतीले बच्चा आफूहरूसँग नरहेको बताउँदै आएका छन्। सिसी क्यामेराको प्राय ब्याक अप १५ दिनको मात्रै हुने गरेको छ। तर, पनि अस्पतालबाट सिसी क्यामेराको डिभिआर नियन्त्रणमा लिएर केही खुल्छ कि भनेर फरेनेसिक ल्याबमा पठाएको डिएसपी दाहालले बताए। कोशी अस्पतालले मंगलबार दिउँसो डाक्टर कर्णलाई डिस्चार्ज दिएपछि प्रहरीको टोली अस्पताल पुगेर उनलाई नियन्त्रणमा लिएको बताउँदै, डिएसपी दाहालले भने, ‘डाक्टरलाई म्याद थप गरी हिरासतमा राखेर घटनाको अनुसन्धान थालेका छौं। अनुसन्धानपछि पुनः अस्पताल आउने भनेपछि मात्रै उनी प्रहरीसँग जान माने।’ उपचार गर्न आउँदा युवतीलाई व्यथा लागेकाले तत्कालै बच्चा निकाल्नुपर्ने अवस्था रहेको डाक्टरले बताए। बच्चा जन्मिएपछि बुवालाई नै दिएको दाबी डाक्टरले गरेका थिए। ‘व्यक्ति बेपत्ता पारेको’ कसुरमा गोविन्दलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने डाक्टर कर्ण प्रहरीको निगरानीमा उपचारमा थिए। मंगलबार उनलाई अस्पतालबाट डिस्चार्ज गरेर म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ। प्रेमिकालाई मात्रै अस्पतालबाट लिएर गएको हुँदा आफूले बच्चा जिम्मा नलिएको गोविन्दले बताउँदै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी दाहालले बताए।

Like