करिब १०० किलो भन्सार कटेको सुन बरामद

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ४,

मुलुकमा झट्ट हेर्दा मोटरसाइकल र स्कुटरको ब्रेक सु । पूरै सिल प्याक। तर, उक्त सामान ब्रेक सु मात्रै थिएन, भित्र भेटियो सुनका टुक्रा, त्यो पनि एक क्वीन्टल बढी। हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पनि पार गरेर सिनामंगल पुग्न लागेको अबैध सुन बुधबार बरामद भएको छ। प्रहरी भन्छ, ‘यो बरामद भएको हालसम्मकै सबैभन्दा ठूलो परिमाण हो।’ यो घटनाले नेपालमा सुन तस्करी गर्ने नयाँ शैलीको पनि खुलासा गरेको छ। सुन बा २ च २३२४ नम्बरको ट्याक्सीमा राखेर विमानस्थलबाट बाहिर लैजाँदै गर्दा बरामद भएको बताइएको छ। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले ठूलो परिमाणमा सुन बरामद भएको पुष्टि गरे। भने, ‘यति ठूलो मात्राको सुन पहिलोपटक बरामद भएको हो। घटनाको अनुसन्धान भइरहेको छ। बरामद सुनको मूल्य करिब एक अर्ब रहेको छ।’ स्रोतका अनुसार सुन हङकङबाट आएको हो। बुधबार मात्रै उक्त सुन भन्सार पास भएको थियो। परिमाण धेरै र मोटरसाइकल र स्कुटरको पार्ट्समा मिसाएका कारण छुट्याउन समय लागेकाले आधिकारिक तौल निक्र्यौल भइनसकेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना बताउँछन्। यो समाचार तयार पार्दासम्ममा उनले भने, ‘सुन करिब एक क्वीन्टल बढी हुनसक्छ।’ राजस्व अनुसन्धान विभागका अधिकारीहरूले सुनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनका आयातकर्ता रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक छन्। चालकको परिचय खुलेको छैन। सुन जडित मोटर पार्टस् कसरी भन्सार पास भयो अनुसन्धान गरिने बताएको छ। बरामद भएको सुनको तौल दिनका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको छ। सुनको शुद्धता पहिचान गर्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगिनेछ। सुनलाई मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो। सामानको भन्सार पास गर्ने क्रममा सामानभित्रको सुन पनि कर्मचारीकै मिलेमतोमा पास भएको बताइएको छ। बरामद सुनमा ठूलो व्यापारिक समूह संलग्नता हुन सक्ने प्रहरी अधिकारीको आंशका छ। बुधबार दिउँसो दुई बजे भन्सार पास भएको उक्त सुन तीन घन्टापछि बरामद भएको हो। यो समूहले यसअघि पनि ठूलो मात्रामा सुन तस्करी गरेको हुनसक्ने प्रहरीको आशंका छ। प्रारम्भिक अनुसन्धानका क्रममा १ सय ६० वटा सुनको टुक्रामा ल्याइएको पाइएको छ। विमानस्थल भन्सार कार्यालयले भने यस विषयमा केही जानकारी नभएको बताइएको छ। विमानस्थलमा रहेको राजस्व अनुसन्धान विभागका अधिकारीले यस प्रकारले सुन तस्करी हुँदैछ भन्ने पूर्वसूचना पाएका थिए। सूचनालाई पछ्याउँदै जाँदा राजस्वका कर्मचारी तस्करीको सुनसम्म पुग्न सफल भएका हुन्। गोप्य रूपमा अनुसन्धान नै सञ्चालन गरेर सुन बरामद गर्न सकिएको त्यहाँका एक कर्मचारीले बताए। भन्सार जाँचपास गर्ने कर्मचारी पनि अनुसन्धानको घेरामा छन्। केही व्यक्ति फरार छन्। मोटरपार्ट्सको स्पेयर पार्ट्सको रूपमा मिसाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधबार विभागबाट गठित स्पेसल टास्क फोर्सले उक्त सुन बरामद गरेको हो। यो शैलीले यसअघि नै २ वा ३ पटक नेपालमा सुन भित्राएको महानिर्देशक ढुंगानाले जानकारी दिए। ढुंगाना भन्छन्, ‘स्पेयर पार्ट्समा मिक्स भएर सुन ल्याइएको हुनाले सुन र पार्ट्स दुवै छुट्याउन समय लागेको हो।’

Like