तेस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता आजदेखि शुरु हुने
रासंसा/काठमाण्डौ, ज्येष्ठ २५,
मुलुकमा दक्षिण एशियाली योग खेलकुद प्रतियोगितामा आजदेखि जशुरु हुने भएको छ । नेपाल योग खेलकुद संघको आयोजनामा यही जेठ २५, २६ र २७ गते काठमाण्डौमा तेस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता र दोस्रो Mount Everest Yoga Festival Championship आयोजना हुने हिजो पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएका छन् । योगलाई आध्यात्मिक साधन र चिकित्साको साथै खेलकुदको रूपमा पनि विस्तार गर्ने र यसमार्फत नेपाललाई विश्वमाझ चिनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष प्रा.डा.सुर्य बहादुर कार्कीले बताए ।

प्रतियोगिताका अघिल्ला संस्करणहरु पनि नेपालमा नै सफलतापुर्वक सम्पन्न भएका उनले जानकारी दिए। दक्षिण एशियाली योग खेलकुद प्रतियोगितामा दक्षिण एशियाका सात देशका करिब २०० जना र Mount Everest Yoga Festival Championship मा विश्वका करिब १७ देशका ३०० जना योग खेलाडीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएका छन। प्रतियोगितामा विभिन्न उमेर समुहमा छ क्याटेगोरिमा स्पर्धा हुनेछन र प्रतियोगीले पाँच वटा योगासनमा प्रदर्शनी दिनुपर्नेछ । प्रतियोगिता महिला र पुरुष दुबै समुहमा हुनेछ । सहभागिता शुल्क रु. १५ सय र प्रत्येक खेलका उत्कृष्ट ३ (प्रथम , द्वितीय र तृतीय ) जनालाई पदक र पुरस्कार रहेको संघका सचिव डा. आनन्द गैरेले जानकारी दिए ।

यस्तै अन्तर्राष्ट्रिय योग खेलकुदका उपाध्यक्ष उमांग डाउनले नेपालमा दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने भएकोमा खुशी ब्यक्त गर्दै नेपाल योग खेलकुद संघको निमंत्रणामा स्वित्ज़ेर्ल्यांडदेखि आउने मौका मिलेको र सुन्दर देश हेर्न पाएकोमा आयोजकलाई धन्यवाद दिए । नेपाल योग खेलकुद संघ काठमाण्डौ जिल्ला शाखाका अध्यक्ष केदार मन भण्डारीले छोटो समयमा आयोजना भइरहेको दक्षिण एशियाली योग खेलकुद प्रतियोगिताको व्यवस्थापन गर्ने मौका पाएकोमा खुशी ब्यक्त गर्दै दुवै योग खेलकुदका लागि तयारि भइ सकेको बताए । प्रतियोगिताको समुद्घाटन आज जेठ २५ गते राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्नेछन । प्रतियोगिताको प्रत्यक्ष प्रसारण सेभ द नेशन अनलाइन टेलिभिजनले गर्ने दक्षिण एशियाली योग खेलकुद प्रतियोगिताका मिडिया संयोजक के. बि. सम्राटले बताए ।