ओडिशा रेल दुर्घटनामा मृतकको संख्या २८० नाघ्यो

Share to:

एजेन्सी,

भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० नाघेको छ । शुक्रबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा २८८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । त्यस्तै दुर्घटनामा करिब ९ सय जना घाइते भएका छन् । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । ओडिशा अग्नि सेवाका महानिर्देशक सुधा‌शु सार‌ंगीले उद्धार कार्य भइरहेको र धेरै जना गम्भीर घाइते भएको बताएका छन् । ओडिशा सरकारका मुख्य सचिव प्रदीप जेनाका अनुसार अहिले पनि दुर्घटनास्थलमा राहत र उद्धार कार्य जारी रहेको छ । उद्धारका लागि २०० भन्दा बढी एम्बुलेन्स खटाइएको उनले बताए । भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ। यो दुर्घटनालाई भारतीय रेल इतिहासमा यो शताब्दीकै सबैभन्दा ठूलो दुर्घटनाका रूपमा लिइएको छ । यसअघि सन् १९८१ मा बिहारमा ठूलो रेल दुर्घटना भएको थियो । त्यतिबेला यात्रुले खचाखच भरिएको रेलको ७ वटा डिब्बा बालाघाटबाट वाग्मती नदीमा खसेको थियो । जेठमा दुर्घटना भएकाले धेरै जनालाई बाढीले समेत बगाएको थियो । उद्धार हुँदाहुँदै ठूलो पानी परेकाले रोक्नसमेत परेको थियो । अहिलेसम्म पनि उक्त दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन छैन । तर ८ सयदेखि २ हजारसम्मको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

Like