सरकार परिवर्तनका लागि कोशी प्रदेशको कसरत

Share to:

रासंसा/मोरङ, बैशाख २४,

मुलुकमा कोशी प्रदेशमा एमाले नेतृत्वको वर्तमान सरकार संकटमा पर्ने देखिएको छ । नेपाली कांग्रेसले केन्द्रको सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्र र जसपालाई प्रदेश सरकारबाट बाहिरिन औपचारिक आह्वान गरेसँगै यहाँको सरकार संकटमा पर्ने देखिएको हो । बैठक सकिएलगत्तै कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई उक्त निर्णयबारे टेलिफोनबाट जानकारी दिएका छन् । जवाफमा आङ्बोले शीर्ष नेताहरुसँगको छलफलपछि निर्णय लिने बताए । काठमाडौंमा आइतबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले नयाँ सरकार बनाउन तीव्र पहल गर्ने निर्णय गर्नुका साथै माओवादी र जसपालाई सरकारबाट फिर्ता आउन आह्वान गरेको हो । ‘कांग्रेसले आफ्नो निर्णयको विषयमा मलाई टेलिफोनमार्फत जानकारी दिएको छ । मैले शीर्ष नेतृत्वसँगको छलफलपछि निर्णय दिन्छु भनेको छु,’ आङ्बोले भने, ‘केन्द्रको निर्देशन कस्तो आउँछ, त्यसपछि यहाँको राजनीति अगाडि बढ्छ ।’ त्यति प्रस्ताव गर्दा पनि प्रदेशको सरकार परिवर्तनको विषयमा केन्द्रबाट ठोस जवाफ आउन नसक्नु वा छलफलसम्म नहुनु शीर्ष नेताको असक्षमता भएको उनको आरोप छ । उता, माओवादी केन्द्रलाई मुख्यमन्त्री दिन कांग्रेस र नेकपा एकीकृत समाजवादीले आफूहरु सहमत भएको सन्देश केन्द्रका शीर्ष नेतालाई दिएको एक नेताले बताए । ‘हामीले शीर्ष नेताहरुलाई भागबण्डामा अप्ठ्यारो पर्छ भने हामी नै गाँठो फुकाइदिन्छौं भनेर इन्द्र आङ्बोलाई नै मुख्यमन्त्री बनाउँसम्म भनेका छौं,’ नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले भने, ‘यो प्रस्ताव कांग्रेस र हाम्रो तर्फबाटै भएको हो ।’ राईले भने, ‘यो नेताहरुको असक्षमता हो । अहिलेसम्म कोशी प्रदेशमा के गर्ने भनेर शीर्ष तहको बैठक नै बसेन । हामीले माओवादीका नेता इन्द्र आङ्बोको नेतृत्वमै सरकार गठन गरौं भनिसकेका छौं ।’ कार्की नेतृत्वको सरकारले बजेट पास गर्नै नसक्ने पनि राईले बताए । यसमा कांग्रेस पनि सहमत रहेको राईको दाबी छ । ‘राप्रपाले सहयोग गर्ने भनिसकेको छ । सबै कुरा क्लियर हुँदा पनि शीर्ष नेताहरु निकम्मा बने । एउटा छलफल गरेर लु यसो गरौं पनि भन्दैनन्,’ उनले भने । उता, कांग्रेस संसदीय दले भने बजेट अधिवेशन सुरु हुनै लागेको र तत्कालै सरकार परिवर्तन गर्नुपर्ने स्थिति आएको भन्दै उसले केन्द्र र प्रदेशमा पहल बढाउने निर्णय गरेको छ । उनले बजेट अधिवेशन आउनै लागेको र सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने समय नजिकिँदै जाँदा अनिर्णयको बन्दीजस्तो हुन नहुने पनि बताए । ‘कोशी प्रदेशको विषम परिस्थितिको बारेमा नेताहरुलाई जानकारी गराउने र छिटो निर्णय गर्न दबाब दिन्छौं । बजेट अधिवेशन सुरु हुन लागेको छ । अब अनिर्णयको बन्दी बन्नु हुँदैन,’ राईले भने, ‘कि त यही सरकारलाई निरन्तरता दिने भन्नुप¥यो, होइन भने अर्को सरकार बनाउनतिर लाग्नुप¥यो ।’ ‘माओवादी र जसपालाई एमालेसँगको वर्तमान सरकारबाट फिर्ता आउन अनुरोध गर्ने निर्णय भएको छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले भने, ‘सरकार परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ कांग्रेसको अनुरोध मानेर माओवादी र जसपाले सरकारलाई दिएको समर्थन र सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउँछ या बोलाउँदैन त्यो भने हेर्न बाँकी छ । उनले नयाँ गठबन्धन बनेपछि नयाँ सरकारले नै बजेट ल्याउन पाउनुपर्छ भन्ने कांग्रेसको मान्यता रहेको पनि सुनाए । ‘उपनिर्वाचनपछि गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिवर्तन भइसक्यो । अब कोशी प्रदेश सरकार पनि परिवर्तन गर्नुपर्छ भन्ने कुरामा केन्द्रित भएर हामीले नेताहरुसँग छलफल गर्ने निष्कर्ष निकालेका हौं,’ प्रमुख सचेतक राईले भने ।

Like