लुम्बिनीमा आज २५६७औं बुद्धजयन्ती मनाइँदै, आज उँभौली पर्व मनाइँदै, सार्वजानिक बिदा

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २२,

मुलुकमा लुम्बिनीमा आज (शुक्रबार) २५६७औं बुद्धजन्यन्ती एवं लुम्बिनी दिवस मनाइँदै छ। लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मलेन तथा ध्यान केन्द्रमा आयोजना गरिने २५६७औं बुद्धजयन्ती तथा लुम्बिनी दिवश विशेष समारोहको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ। बुद्धजयन्तीको तयारीबारे लुम्बिनी विकास कोषले लुम्बिनीमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले सो जानकारी गराएका हुन्। बुद्धजयन्तीको दिन शुक्रबार बिहान ६ बजेदेखि ७ बजेसम्म बुद्धपूजा तथा पाठ र ९ बजे विभिन्न झाँकीसहित र्‍याली निकालिने उनले बताए। लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बुद्धजयन्ती मूल समारोहअघि धार्मिक पूजा, बुद्धपाठ, झाँकीसहितको र्‍याली प्रदर्शन लगायत कार्यकम गरिने जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषको आयोजनामा हुने बुद्धजयन्ती मूल समारोहमा उच्चपदस्थ अधिकारीहरूसँगै विभिन्न मुलुकका राजदूत, बौद्ध भिक्षुलगायतको पनि सहभागिता हुने भट्टराईले बताए। बुद्धजन्मस्थल लुम्बिनीको वातावरण शान्तिपूर्ण बनाउने उद्देश्यले कोषले यसपालिको बुद्ध पूर्णिमाको दिनदेखि लुम्बिनी परिसरभित्र चल्ने सवारीसाधनलाई हर्न बजाउन निषेध गरिएको पत्रकार सम्मलेनमा भट्टराईले जानकारी गराए। बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी विकास कोषले वैशाख १९ देखि २३ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ। सोही अवसरमा बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउने तयारी पनि गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरु आजदेखि उँभो लाग्छन्। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दुमी राईले जानकारी दिए। गर्मी बढ्ने भएकाले यो समुदाय बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो।
उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उनले सुनाए। यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ। किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन्। उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन्। यस समुदायले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन्। यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो।किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ। राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही व्यक्ति जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ। खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन्। उनीहरुले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ। पूर्वी नेपालमा ब्राह्मण र क्षेत्री समुदायले पनि प्रकृति पूजाको कर्म भने गर्ने गरेका छन्।

Like